विराटनगरमा प्रदेशस्तरीय सूचना प्रविधि मेला «

विराटनगरमा प्रदेशस्तरीय सूचना प्रविधि मेला

विराटनगरमा बिहीबारबाट प्रदेशस्तरीय प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक सुरु भएको छ । क्यान महासंघ मोरङको आयोजनामा मेनरोडस्थित तजैन भवनमा सुरु भएको मेलाको प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरे ।
कार्कीले प्रविधि मेलाको आयोजना सराहनीय रहेको बताउँदै मेलाबाट सर्वसाधारण र जिज्ञासु लाभान्वित हुने विश्वास व्यक्त गरे । विभिन्न ५० कम्पनीका १ सय बढी स्टलहरू रहेको क्यान इन्फोटेकमा प्रविधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स, स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी दिने स्टलहरू राखिएको आयोजक क्यान महासंघ मोरङका अध्यक्ष राजन यादवले जानकारी दिए ।
यसअघि सन् २०११ मा विराटनगरमै आयोजना गरिएको प्रविधि मेला ७ वर्षपछि क्यान महासंघ मोरङको आयोजनामा दोस्रोपटक आयोजना गरिएको हो । मेला २३ गतेसम्म चल्ने जनाइएको छ । प्रविधि महामेलाको २ लाख बढी जिज्ञासु र सर्वसाधारणले अवलोकन गर्ने आयोजक समितिले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्