प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव हुने «

प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव हुने

दाङ-दाङमा पहिलो पटक प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी हुने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा आगामी माघ १० गतेदेखि २० गतेसम्म घोराहीमा महोत्सव हुने भएको हो । ‘कुखुरापालन एवं बजारीकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ हुने महोत्सवका बारेमा महोत्सव मूल आयोजक समिति एवं सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीले पत्रकार सम्मेलन गरी महोत्सवबो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा महोत्सव सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भइसकेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष निमबहादुर बुढाथोकीले जानकारी दिए । घोराहीको कृषि सामग्री कम्पनीको प्राङ्गणमा सञ्चालन हुने छ । महोत्सवमा जिल्लाको पोल्ट्रीसम्बन्धी, जिल्लाको कृषि क्षेत्रलाई प्रबद्र्धन गर्ने, यहाँको संस्कृति संरक्षण गर्ने र दाङको पर्यटकीय क्षेत्रलाई प्रचार–प्रसार गर्ने प्रकारका कार्यक्रम हुने छन् ।
महोत्सवमा कृषिसम्बन्धी ८० देखि १ सयसम्म स्टल हुने संयोजक बुढाथोकीले बताए । पोल्ट्री क्षेत्रमा अहिले दाङ नेपालको दोस्रो जिल्ला भएकामा यो महोत्सवले अब पहिलो स्थानमा पु-याउन सहयोग गर्नेसमेत आयोजकले अपेक्षा गरेको छ । महोत्सव स्टलहरूमा दाङसहित प्रदेश ५ को पहिचान झल्कने पोल्ट्री, अन्य वस्तुहरूको प्रदर्शनी र बिक्री, पोल्ट्रीजन्य उत्पादनको प्रशोधित वस्तुको प्रदर्शनी, पोल्ट्रीसम्बन्धी जनचेतना जगाउने बस्तु, रमाइलाका लागि बालउद्यान तथा संस्कृतिक कार्यक्रम पनि हुने छन् । महोत्सव अवधिभर करिव २ लाख दर्शकले अवलोकन गर्ने र २ करोड रूपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्