लमजुङमा नयाँ दररेट निर्धारण «

लमजुङमा नयाँ दररेट निर्धारण


सार्वजनिक खरिद नियमावली बमोजिम लमजुङमा नयाँ दररेट कायम भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि जिल्लामा कामदारको ज्याला, ढुवानी, निर्माण सामग्री र मेसिन तथा उपकरणको भाडालगायतका विषयमा नयाँ दररेट कायम गरेको हो ।


प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले नयाँ दररेट निर्धारण गरेको हो । बैठकले विषयगत कार्यालयहरुको सिफारिस, बजार मूल्य, सम्वद्ध सरोकारवाला निकायहरुसँगको छलफल र सुझावका आधारमा नयाँ दररेट निर्धारण गरिएको समिति सदस्यएवं पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख ई. सुमन गिरीले बताए ।
समितिले आगामी आर्थिक वर्षका लागि विभिन्न प्रयोजनका लागि श्रमिक एवं कामदारको ज्यालासहित सामान ढुवानी, लोड अनलोड मूल्य, निर्माण सामग्रीहरुमा नयाँ मूल्य निर्धारण गरेको छ । जिल्ला दररेटमा उल्लेख नभएका निर्माण सामग्रीहरुको हकमा छिमेकी जिल्ला तनहुँको दररेटलाई आधार मानेर पनि ढुवानी गर्न सकिने समितिले जनाएको छ ।
समितिले निर्धारण गरेको नयाँ दररेट अनुसार अधिकांश सामग्रीमा गत वर्षकै मूल्यलाई निरन्तरता दिएको छ । समितिले निर्माण सामग्रीअन्तर्गत सिमेन्टको मूल्य भने घटाएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि सिमेन्टको मूल्यमा २० देखि २५ रुपैयाँसम्म घटाएको छ ।
समितिका अनुसार चालु आर्थिक वर्षमा विभिन्न नेपाली कम्पनीबाट उत्पादित सिमेन्टमध्ये ओपीसी सिमेन्टको मुख्य ८ सय ५० रहेकोमा आगामी आर्थिक वर्षका लागि ८ सय ३० रुपैयाँ कायम भएको छ । यसैगरी पीपीसी सिमेन्टको मूल्य चालु आर्थिक वर्षमा ७ सय ५० रहेकोमा आगामी आर्थिक वर्षका लागि ७ सय २५ रुपैयाँ कायम भएको छ ।
समितिले आगामी आर्थिक वर्षका लागि विभिन्न विधामा काम गर्ने कामदारको ज्याला भने वृद्धि गरेको छ । कामदारको ज्यालामा १० रुपैयाँदेखि एकसय १० रुपैयाँसम्म वृद्धि भएको छ । चालु आर्थिक वर्षमा विद्युत् वायरिङ गर्ने कामदारको ज्याला एकसय रुपैयाँ रहेकोमा हाल १० रुपैयाँ वृद्धि गरीएको छ । चालु आर्थिक वर्षमा हेभी इक्युपमेन्ट अपरेटरको ज्याला एक हजार एक सय रहेकोमा आगामी आर्थिक वर्षका लागि एक हजार दुईसय १० रुपैयाँ कायम भएको छ ।
कामदारमध्ये सिकर्मी, डकर्मी, बज्रकर्मी, नकर्मी, चित्रकार, प्लम्बर, इलेक्ट्रिसियन, वेल्डर व्लाष्टरलगायतका सिपालु कामदारको ज्यालामा एकसय रुपैयाँ वृद्धि गरी एक हजार ९० कायम गरेको छ । यसैगरी सुरुङ भित्र काम गर्ने कामदारमध्ये दक्ष कामदारका लागि एक हजार एकसय ५०, अर्धदक्ष कामदारका लागि ९ सय १०, ज्यामी कामदारका लागि ८ सय ५० रुपैयाँ कायम गरेको छ । त्यस्तै चौकीदार कामदारका लागि ६ सय ४०, हेल्परका लागि ६ सय पाँच, रनरका लागि पाँच सय ४५ रुपैयाँ र ४० केजी बोकेर चार कोष हिड्ने भरियाका लागि ७ सय २६ रुपैयाँ कायम भएको छ । फार्म, नर्सरी आदि ठाउँमा काम गर्ने कृषि मजदुरहरुका लागि भने ६ सय ६५ रुपैयाँ ज्याला कायम गरिएको दररेट निर्धारण समितिले जनाएको छ ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ को उपनियम १ अनुसार प्रत्येक जिल्लामा पूरै जिल्ला भरी वा जिल्लाको कुनै भागमा छुट्टै लागु हुनेगरी निर्माण सामग्री, ढुवानी दररेट, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्याला निश्चित गर्ने जिल्ला दररेट निर्धारण समिति रहने प्रावधान रहेको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा स्थानीय विकास अधिकारी, प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला विकास समितिले तोकेको जिल्ला विकास समितिको एक सदस्य, नेपाल निर्माण व्यवसायी संघको प्रतिनिधि, उद्योग वाणिज्य संघको प्रतिनिधि सदस्य र जिल्ला प्राविधिक कार्यालयका प्रमुख सदस्य सचिव रहेको जिल्ला दररेट निर्धारण समिति रहने प्रावधान छ । उक्त समितिले साउन महिनाभित्र दररेट निर्धारण गर्ने व्यवस्थाअनुरुप जिल्ला दररेट कायम गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्