नगरपालिकाद्वारा लेखकसँग छलफल «

नगरपालिकाद्वारा लेखकसँग छलफल

भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री ‘ख्वपको पहिचान’ भाग २ का लेखकहरूसँग छलफल गरेको छ ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले ख्वपको पहिचानमा अमूल्य लेख लेखी सहयोग गर्ने सम्पूर्ण लेखक तथा पाठ्यक्रम निर्माण कार्यदलप्रति धन्यवाद ज्ञापन गरे ।

कला संस्कृतिको नगर भक्तपुरको इतिहास, भूगोल, कला संस्कृति, सम्पदा, स्थानीय खेलकुद तथा विभिन्न व्यक्तित्वको जीवनीबारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले नगरपालिकाले ख्वपको पहिचान पुस्तक प्रकाशनमा ल्याएको प्रमुख प्रजापतिले बताए ।
पुस्तकको अर्को भाग प्रकाशनको तयारीमा नगरपालिका जुटेको अवगत गराउँदै नगर प्रमुख प्रजापतिले जनताको साथ र सहयोगले नगरपालिकालाई काम गर्न सजिलो बनाएको र ख्वपको पहिचान भक्तपुरबासीका निम्ति अमूल्य सम्पत्तिको रूपमा रहने विश्वास व्यक्त गरे ।


भक्तपुर नपाले नगरका महत्वपूर्ण सम्पदाहरूको विषयमा पर्यटकहरूलाई संक्षिप्त जानकारी दिन सम्पदास्थलमा परिचय बोर्ड राख्ने तयारी भइरहेको बताउँदै उनले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपाल भाषाका विषयमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको बताए ।
लेखक लक्ष्मीभक्त वासुकलाले आफ्नो धारणा राख्दै विद्यार्थीमा स्थानीय विषयवस्तुको महत्व धेरै भएको बताउँदै स्थानीय लेखले बालबालिकाको मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने बताए ।
लेखिका सुुनिता गाइसीले स्थानीय पाठ्यक्रम आफैमा महत्वपूर्ण विषय भएको र भक्तपुर नपाको अगुवाइमा प्रकाशित यस पुस्तक निकै पठनीय र संग्रहणीय भएको बताइन् । लेखक विश्वमोहन जोशीले आफ्नो क्षेत्रको संस्कृति थाहा नहुनु भनेको आफ्नो आत्मगौरव गुमाउनुसरह भएको बताउँदै इतिहास, भूगोल तथा संस्कृति पढ्ने विद्यार्थी झन् झन् कम हुँदै गएको समयमा भक्तपुर नपाले ती विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु प्रशंसनीय भएको बताए । कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेले नगरपालिकाको आग्रहमा खोजमूलक लेख तयार गर्न सहयोगी भूमिका खेल्ने सबै लेखकप्रति आभार प्रकट गर्दै स्थानीय पाठ्यक्रमबारे देखिएको भ्रमलाई चिर्न पुस्तकले महत्वपूर्ण भूमिका खेलेको बताए ।

प्रतिक्रिया दिनुहोस्