६७ करोड बिगो असुलीको दाबीसहित तीन जनाविरुद्ध मुद्दा दायर «

६७ करोड बिगो असुलीको दाबीसहित तीन जनाविरुद्ध मुद्दा दायर


राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा ६७ करोड रुपैयाँ बराबरको बिगो असुल गरी जरीवाना तथा कैद माग दाबी गरी तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
दुई छुट्टाछुट्टै कम्पनीमार्फत् राजस्व चुहावट गरेको आरोपमा तीन जनाविरुद्ध विभागले ६६ करोड ८६ लाख ७३ हजार रुपैयाँ बराबरको जरीवाना र कैद माग गर्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक जारी गरी राजस्व छली गरेको आरोपमा सर्लाहीको ब्रम्हपुरी–७ बस्ने मनिराज सप्लायर्सका प्रोप्राइटर राजदेवी तथा सो फर्मको मुख्य कारोबार गर्ने व्यक्ति राजाराम महतोबाबाट ४१ करोड ५१ लाख ३१ हजार आठ सय ५४ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागदावी मुद्दामा गरिएको छ । मूल्य अभिवृद्धि करतर्फ १५ करोड ८४ लाख १७ हजार ३ सय ७ र आयकरतर्फ २५ करोड ६७ लाख १४ हजार ५ सय ४७ रुपैयाँ उनीहरुले राजस्व चुहावट गरेको आरोप लगाइएको विभागले जनाएको छ ।
विभागका अनुसार, उनीहरुमाथि मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई बिक्री बिजक मात्र जारी गरी सो फर्महरूबाट बिक्री रकम भुक्तानी लिई सो बिजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झुट्टा बिजक उपलब्ध गराई जालसाजी गरी प्रपञ्च रची मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावटको कसूर गरेको आरोप लगाइएको छ ।
यसैगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने रौतहटको तेजपाकड–५ बस्ने शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्स) मुख्य कारोबार गर्ने व्यक्ति ओमप्रकाश सिंह भूमिहारविरुद्ध पनि २५ करोड ३५ लाख ४१ हजार पाँच सय ८४ रूपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागदावीसहित विभागले उच्च अदालतमा मुद्दा दायर गरेको छ ।
मूल्य अभिवृद्धि करतर्फसात करोड ३५ लाख ८६ हजार चार सय ९० र आयकरतर्फ १७ करोड ८९ लाख ५५ हजार रुपैयाँ राजस्व चुहावट गरेको उनीमाथि आरोप रहेको विभागले जनाएको छ । विभागका अनुसार, उनीमाथि मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, विभिन्न फर्महरुबाट झुट्टा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक लिई खरिद देखाई आयकरतर्फ खर्च दावी र मूल्य अभिवृद्धि करतर्फ करकट्टी दावी गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्