दुर्गमका स्वास्थ्य चौकीमा न डाक्टर, न पूर्वाधार «

दुर्गमका स्वास्थ्य चौकीमा न डाक्टर, न पूर्वाधार


जुम्लाको हिमा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेती डाक्टरविहीन भएको ४ वर्ष बित्यो । दरबन्दीका डाक्टर अध्ययन बिदामा गएदेखि उक्त स्वास्थ्य चौकीमा अरु डाक्टर आएका छैनन् । जसले गर्दा जटिल खालका उपचारमा समस्या भएको छ भने गाउँमै हुने उपचार पनि डाक्टर नहुँदा सदरमुकाम पठाउनु पर्ने बाध्यता छ ।
कालिकाखेती स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्द भण्डारी भन्छन्, “मेडिकल अधिकृतको दरबन्दी चार वर्षदेखि खाली छ । पटक पटक सरकारलाई माग गर्दा सुुनुवाइ भएन । बिरामीले वर्षौं जटिल खाले उपचार गराउन पाएका छैनन् । महँंगो तिरेर सदरमुकाम जान बाध्य छन् ।”
२०७५ जेठ महिनाबाट डाक्टर रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि चिकित्सक दरबन्दी रिक्त छ । दरबन्दीअनुसारको डाक्टर नहुँदा समस्या भइरहेको स्थानीय बताउँछन् । स्वास्थ्य केन्द्रमा औषधि प्राप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरेका छन् । तर सूचीकृत डाक्टर नहुँदा आधिकारिक रूपमा चुनौती देखिन्छ । डाक्टरले दिने चिकित्सकीय सेवामा समस्या भएको इन्चार्ज भण्डारीले उल्लेख गरे । साथै दुर्गमका स्वास्थ्य चौकीमा बिरामी बोकेर ल्याउन उत्तिकै कठिन छ । स्थानीय सरकार आएपछि सडक गाउँगाउँमा पुगेका छन् । तर कालिकाखेती स्वास्थ्य चौकीमा डाक्टरसँंगै एम्बुलेन्स नहुँदा ठूलो समस्या भएको छ ।
बिरामी बोक्ने एम्बुलेन्ससमेत छैन । सुत्केरी, ज्येष्ठ नागरिक बिरामीलाई आउन जान समस्या छ । हिमा गाउँपालिकामा भएको एम्बुलेन्स दुई वर्षदेखि बिग्रेर थन्किएको छ । गाउँपालिकाले एम्बुलेन्स बनाउन तदारुकता देखाएको छैन । गाउँमै हुने सामान्य उपचार पनि एम्बुलेन्स रिजर्ब गरेर सदरमुकाम जाँदा दोहोरो मारमा स्थानीय परेका छन् भने पूर्वाधार अभावले पनि स्वास्थ्य क्षेत्रको सेवा खुम्चिएका छन् । अधिकांश स्वास्थ्य चौकीका ओपीडी सेवादेखि प्रसूति सेवा अँध्यारा र साँघुरा कोठाबाट दिने गरेका छन् । स्थानीय सरकारको चार वर्ष बितिसक्दा पनि स्वास्थ्य पूर्वाधारको पर्याप्त विकास नहुँदा समस्या देखिएको छ ।
जुम्लाको तातोपानी–५ स्थित लाम्रो स्वास्थ्य चौकीमा पर्याप्त भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । साँघुरो कोठामा सुत्केरी गराउने, उपचार गराउने काम भएको छ । बिरामीको भीड लाग्दा समस्या हुने गरेको लाम्रा स्वास्थ्य चौकीका इन्चार्ज शिवराज न्यौपानेले बताए । त्यस्तै चन्दननाथ नगरपालिका–७ मा रहेको महत स्वास्थ्य चौकीमा पनि भवन नहुँदा समस्या भएको छ ।
करिब ४ कोटामात्रै रहेको उक्त भवनबाट सबैखाले ओडिपी सेवा र गर्वजाँच गराउनु पर्ने बाध्यता रहेको इन्चार्ज तन्त बहादुर महतले बताए । ठाउँ साघुरो हुँदा सबैको भीड हुन्छ महिलाले खुलेर समस्या राख्न सक्दैनन् जसका कारण रोगबाट ग्रामिण महिला ग्रसित हुदै गएका छन् । त्यस्तै जुम्लाका कार्तिकस्वामी, तलिउम, ताम्तीलगायतका ३० वटा स्वास्थ्य संस्थामध्ये २० स्वास्थ्य चौकीमा पूर्वाधार विकास नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको छ ।
साथै स्वास्थ्य चौकीमा भवन, खानेपानी, घेराबार, विद्युत्, सञ्चारलगायत अन्य पूर्वाधारको व्यवस्थापन नहुँदा अधिकांश स्वास्थ्य चौकीमा समस्या छ । यता तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार एम्बुलेन्स खरिद भइसकेको र साउन पहिलो साताभित्रै आउने छ । सबै स्वास्थ्य संस्थामा विरामी बोक्ने गरी प्रयोग गर्ने उनको भनाइ छ ।
उता हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले डाक्टर पठाउन केन्द्र सरकालाई हारगुहार गर्दा सुनुवाइ नभएको बताए । कोभिडमा पनि डाक्टर आएनन् । अझै पहल जारी राखेका छांै । सरकारले दुगमका स्वास्थ्य संस्थालाई बेवास्ता गरी डाक्टर नपठाएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्