उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने योजना छौँ «

उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने योजना छौँ

२०६६ साल असोज ३ गते स्थापना भएर कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट सेवा सुरु गरेको कञ्चन डेभलपमेन्ट बैंकले जनभावनाअनुसार काम गर्दै कैलाली, कञ्चनपुर र डडेल्धुरामा शाखा विस्तार गरेर आफ्नो सेवा दिँदै आएको छ । बैंकले बैंकिङ कारोबारसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ । नेपाल बैंक लिमिटेडको सहायक प्रबन्धक, एनसीसी बैंकको वरिष्ठ कार्यकारी अधिकृत, भार्गव बैंक नेपालगन्जको महाप्रबन्धक र मनास्लु विकास बैंक गोरखाको प्रमुख कार्यकारी हुदैं २०७२ सालदेखि कञ्चनपुर सदरमुकाममा केन्द्रीय कार्यालय रहेको कञ्चन विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीसँग कञ्चनपुर संवाददाता महादेव अवस्थीले गरेको कुराकानीको सार :

कञ्चन विकास बैंकको आर्थिक अवस्था कस्तो छ ?
हामीले अहिलेसम्म ४ अर्ब ५९ करोडको निक्षेप संकलन गरेका छौं र ४ अर्ब ६ करोडको कर्जा लगानी गरेका छौं । हाम्रो कार्यक्षेत्र भनेको तीनवटा जिल्ला हो— कैलाली, कञ्चनपुर र डडेल्धुरा । हामीले विशेष गरेर निक्षेपका हिसाबले कुरा गर्ने हो भने हाम्रो विभिन्न समूहलाई लक्षित गरेर संकलन गरेको निक्षेप हो । त्यो विभिन्न समूह भन्नाले हाम्रो बचतमा कर्मचारीलाई लक्षित छ, विद्यार्थीलाई लक्षित गरिएको छ, व्यापारीलाई लक्षित गरिएको छ, पेन्सनवाला रिटायर्ड कर्मचारीलाई लक्षित गरिएको छ । त्यसैगरी महिला समूहहरूलाई लक्षित गरेर दिइने खाता छ । यी विभिन्न किसिमका १७ वटा बचत खाताहरूबाट हामीले निक्षेप संकलन गरेका हौं भने कर्जातर्फ १६ किसिमका कर्जाका प्रोडक्ट छन् । हामीले विभिन्न वर्गका कर्जादेखि लिएर करोडौंका ऋण दिनलाई पनि फरक–फरक कर्जा छन् ।
घर कर्जादेखि लिएर व्यापार, व्यवसाय कर्जा, कृषि कर्जा, औद्योगिक कर्जा, हायर पर्चेज कर्जा छन् । यस्ता कर्जा आवश्यकताअनुसार विभिन्न समूहलाई लक्षित गरेर ल्याइएको हो । हामीले अहिलेसम्म समष्टिगतमा हेर्ने हो भने गत असारसम्म ७ करोडभन्दा बढी मुनाफा आर्जन गरेका थियौं । यो आर्थिक वर्षको पुस मसान्तसम्म ५ करोडको खुद मुनाफा गर्छौं होला । असोजको मात्रै गर्ने हो भने हामीले १ करोड २० लाख मुनाफा गरेका थियौं । अर्को आर्थिक वर्षमा हामीले १५ करोडदेखि १६ करोडसम्म नाफा गर्ने लक्ष्य लिएका छौं । आर्थिक अवस्था हेर्ने हो भने हामी सबैतिर सकारात्मक नै छौं । गत असारदेखि अहिलेसम्म हेर्ने हो भने निक्षेपमा ४५ प्रतिशत ग्रोथ भएको छ भने कर्जातर्फ ४३ प्रतिशतको हाराहारीमा ग्रोथ भएको छ । यो तथ्याङ्कले के देखाउँछ भने हाम्रो संस्थाप्रति जनताको विश्वास छ । त्यहीअनुसारको हाम्रो प्रगति भइरहेको छ ।

बैंकको कार्यक्षेत्र कहाँसम्म छ ? कुन जिल्लामा कस्तो अवस्थामा छ ?
हामीले कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी तीनवटा जिल्लामा शाखा विस्तार गरेका छौं । कैलालीको कुरा गर्ने हो भने धनगढी, अत्तरिया, बौनिया, सुख्खड, लम्की र टीकापुरमा गरेर ६ वटा शाखा छन् । हाम्रो एउटा शाखा डडेल्धुरामा छ । हाम्रो जम्मा १५ वटा शाखा र दुई एक्सटेन्सन काउन्टर छन् । कञ्चनपुरको महेन्द्रनगरमा मुख्य शाखा छ । झलारी, बेल्डाडी, दैजी, पुनर्वास, आईबीआरडी, गुलरिया शााख विस्तार गरेर काम गरिरहेका छौं ।

धेरैजसो बैंक सहरकेन्द्रित छन्, कञ्चन बैंकले ग्रामीण भेगमा पनि शाखा विस्तार गर्छ कि ?
हाम्रो शाखा विस्तार गरेको तपाईंले हेर्नुभयो भने बेल्डाडीमा पहिला कुनै पनि बैंक गएको थिएन । हामीले नै पहिलो शाखा विस्तार गरेका हौं । अहिले पनि अरू कुनै बैंक छैन । हामीले नै सेवा दिइराखेका छौं । कञ्चन डेभलपमेन्ट बैंकले ग्रामीण क्षेत्रलाई पनि प्राथमिकता दिएर ग्रामीण क्षेत्रमा शाखा विस्तार गरेका छौं ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कोटा सिस्टम लगाएर गाउँगाउँमा पुग्नुपर्ने बाध्यकारी बनाएपछि बल्ल गाउँतिर बैंकहरू जाने अवस्था आएको हो । त्योभन्दा अगाडि हामीले नै ग्रामीण क्षेत्रमा सेवा र बैंकिङ पहुँच पु-याएको हो । त्यही अनुसार हामीले शाखा खोल्दा पनि ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखी गाउँमा छरिएर रहेको ससानो पुँजीलाई एकत्रित गरेर उद्योगधन्दामा कसरी लगाउन सकिन्छ, देशको अर्थतन्त्रमा कसरी लगाउन सकिन्छ भन्ने पाटोमा कञ्चन बैंकले अभ्यास गरेर आगामी दिनमा शाखा सञ्जाल विस्तार गर्ने योजना बनाएको छ ।
उद्यमीहरूले कर्जा नपाएको गुनासो गर्छन् नि ?
यस्तो हो जेन्युइन, जुन उद्योग गर्ने मान्छे हो, उद्योग गर्छु भनेर जुन मान्छे बैंकमा आएको छ उसले कर्जा पाउँछ, त्यसमा कुनै शंका छैन । कुनै कर्जा सुरु गरेकै छैन, कुनै पनि महानुभावको दिमागमा म यो व्यवसाय गर्छु भन्ने योजना चाहिँ बन्यो तर त्यसको उत्तर दिन कार्ययोजना पनि छैन । बैंकमा आएर म यस्तो यस्तो व्यवसाय गर्छु, बैंकले कति कर्जा दिन्छ भन्दा बैंकले कर्जा दिँदैन । कम्प्लिट प्लान हुनुप-यो ।
पछिल्लो समयमा बैंकले राम्रो प्रोजेक्ट, काम गर्न सक्ने मान्छेबाहेक अरूलाई ऋण दिन कडाइ गरेको हुनाले जो ऋणको मिसयुज गर्न चाहन्थे, एउटामा ऋण लिएर अर्कोमा प्रयोग गर्न खोज्ने मान्छेलाई बैंकले ऋण दिन बन्द गरेको अवस्था छ । त्यसो हुनाले ती मान्छेहरूको गुनासो हुन सक्छ, तर वास्तवमा काम गर्ने मान्छेलाई बैंकले कर्जा दिइराखेको छ ।

बैंकले रोजगारी सिर्जना गर्ने कस्ता उद्यममा लगानी गरेको छ ?
कुनै पनि व्यवसाय उद्योगमा लगानी गर्ने भनेकै रोजगारीको सिर्जना गर्न हो । हामीले साना–साना उद्योगहरूमा लगानी गरेका छौं । जस्तो, खाद्य उद्योगमा लगानी गरे त्यहाँ ३०-४० जना मजदुरको आवश्यकता हुन्छ । कसैलाई ठूलो ऋण दिँदा उसले दुई–चार जना काम गर्ने खोज्छ, त्यहाँ पनि रोजगारी सिर्जना गरेको हुन्छ ।
अर्कातिर के हो भने कर्पोरेट हिसाबले काम गर्नका लागि ठूलो संस्था खोल्छु । यहाँ ठूला उद्योगहरू छैनन्, त्यसमा लगानी गर्न धनगढी नै जानुपर्ने बाध्यता छ । यस्तो अवस्थामा कञ्चन डेभलपमेन्टले गर्नुपर्ने पार्टको कुरा गर्नहुन्छ भने हामीले विशेष गरेर मझौला उद्योगमा त्यति ठूला उद्योगमा लगानी गरेका छैनौं । हाम्रो प्राथमिकता भनेको साना, मझौला उद्योग र साना लघु उद्योगहरूमा तिनलाई प्रमोट गर्नुपर्छ भन्ने हिसाबले त्यसमा कम्तीमा १०–२० जनाले रोजगारी पाउन सकून्, हामीले त्यो हिसाबले काम गरिरहेको अवस्था हो ।

विकास बैंकहरूले गर्दै आएको लगानीको प्रवृत्तिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
वाणिज्य बैंकजस्तै अहिले नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकले यो–यो काम गर्नुपर्ने भनेर छुट्याईसक्या अवस्था छैन । उनीहरूले र हामीले गर्ने काम एउटै हो, त्यसमा कुनै भिन्नता छैन । ठूला व्यापारी र साना व्यापारी भने जस्तै बुझ्दा हुन्छ । हामीले पनि हाम्रो पुँजीअनुसारको व्यवसाय गरिरहेका छौं । उनीहरूले त्यहीअनुसार काम गरिरहेका छन् । राष्ट्रबैंकले यो काम मात्रै गर्ने, यो नगर्ने, कमर्सियल बैंकले यो मात्रै गर्ने, यो नगर्ने भन्ने ठ्याक्कै नछुट्याइसकेको अवस्थामा उनीहरूजस्तै हामीहरू गरिरहेका छौं, फरक छैन तर यति मात्रै फरक के हो भने हामीले विदेशबाट कुनै व्यापारीलाई सामान झिकाउनुप-यो भने एलसी खोल्ने अनुमति विकास बैंकलाई हुँदैन, कमर्सियल बैंक र ‘क’ वर्गको बैंकलाई मात्रै हुने हुनाले अरू फरक छैन ।

सुदूरपश्चिम क्षेत्रमा उद्यम गर्न चाहनेहरूको रुची कस्तो पाउनुभएको छ ?
सुदूरपश्चिममा पहिला पाँचवटा वित्तीय संस्था थिए । हाम्रै कञ्चनपुरमा महाकाली विकास बैंक थियो, कञ्चन डेभलपमेन्ट बैंक भइहाल्यो, मालिका विकास बैंक, साझा विकास बैंक, सेती वित्तीय संस्था । हामी यति संस्थामध्ये यो क्षेत्रको विकासका निम्ति भनेरै लगानीकर्ताले संस्था खोलेका हुन् । राष्ट्र बैंकको पुँजी पु-याउनुपर्ने व्यवस्था आएपछि कञ्चन विकास बैंकले पुँजी पु-याइसकेको छ ।
यो क्षेत्रमा लगानी गर्नुको उद्देश्य भनेको यो क्षेत्रका जनतामाझ वित्तीय पहुँच पु-याउनु हो । वित्तीय पहुँच पुग्यो भने यो क्षेत्रको आर्थिक विकास हुन्छ, गतिविधि बढ्छ, गाउँगाउँमा मान्छेले बैंकका बारेमा थाहा पाउँछन् भन्ने उद्देश्य हुन्छ । यो क्षेत्रको विकास हुन्छ, रोजगारी सिर्जना हुन्छ भनेर नै लगानी गरेको हुन्छ । संस्था खोल्ने भनेको नाफा कमाउन हो । यो क्षेत्रको विकास भयो भने संस्थाको विकास आफैं हुन्छ ।

बेलाबेलामा तरलता अभावको कुरा आउँछ, अहिले बैंकहरूमा तरला अभाव छ कि ?
तपाईंले भनेजस्तो कञ्चन विकसा बैंकको केसमा हामीलाई कहिले पनि त्यस्तो समस्या परेन । देशभरिको कुरा गर्ने हो भने तरलताको कुरा सही हो । बेलाबेलामा तरलता अभावको कुरा आउँछ । तरलता अभाव भन्नाले बैंकले जति लगानी गर्नुपर्ने थियो । त्यति लगानी गरिसकेको अवस्थामा फरदर चै तरलता नभएको अवस्था हो । तरलता अभाव नभएर बैंकले कर्जा लगानी गर्ने अवस्था नभएको हो । तरलता नभए बैंक चल्दैन, तरलता सबै बैंकमा भएकै अवस्था हो । तर, लगानीयोग्य पुँजी नभएकाले तरलताको अभाव देखिएको हो । त्यो बिस्तारै सहज हुन्छ । सरकारले पनि खर्च गरेपछि बजारमा पैसा आयो भने सहज वातावरण हुन्छ । राष्ट्र बैंकले भनेअनुसार ब्याजदरमा पनि केही सहजीकरण आइसकेको अवस्थामा अब आउने दिनमा तरलता नहोला कि भन्ने हो ।

सटिर्फिकेट धितोका लागि कर्जाको माग के छ ?
यो अवधारण आएको छ, तर कञ्चन विकास बैंकले सटिर्फिकेट धितो राखेर ऋण दिन सुरु गरेको छैन । नेपाल सरकारबाट विस्तृत कार्ययोजना नआउँदासम्म हामीले त्यो गर्ने अवस्था छैन । जुन प्रमाणपत्र धितो राखेर ऋण दिने अवधारण छ, यो नेपाल सरकारको स्वरोजगार कार्यक्रमअन्तर्गत परिरहेको छ । अहिले मलाई लाग्छ, प्रदेश सरकारको स्वरोजगार कोष बन्ने भन्ने आएको छ ।

बैंकहरू सेवामुखीभन्दा नाफामुखी भए भन्ने आरोप छ नि ?
सरसर्ती हेर्दा देखिएको हो । जुनसुकै ठाउँमा पनि काम गर्दा पारदर्शिता छ । सबै कुरा ऐन–नियमअनुसार छ, व्यापार–व्यवसाय गरे पनि आर्थिक पारदर्शिता छ भने नाफा हुन्छ, बैंकिङ उद्योगमा पनि नाफा हुने नै हो । किनकि बैंकिङ उद्योग धेरै पारदर्शी हुनाले भनेजस्तो नाफा कमाउन पाएका हुन् । पछिल्लो समय राष्ट्र बैंकले पनि लिने दिने ब्याजदर पनि ५ प्रतिशतभन्दा बढी हुनु हुँदैन भनेको छ । नाफा पनि राष्ट्र बैंकले धेरै खान नदिएको हो । त्यसका बाबजुत पनि विकास बैंकले किन नाफा गरेभन्दा पारदर्शिता छ । खर्चलाई कन्ट्रोल गर्छन् र बिजनेस भोलुम ठूलो भएका कारण नाफा कमाउन सफल भएका हुन् । अहिले सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगिसकेको छ । नाफामुखी भएको भए त्यति ठाउँमा जाँदैनथे होलान् । सबै सेवामुखी नै भएका छन् । संस्था खोलेपछि लगानीकर्ताले लगानी गरेपछि केही न केही रिटर्न त खोजेकै हुन्छ । शतप्रतिशत नाफा कमाउने उद्देश्य हुँदैन । सेवामूलक संस्था हो । सेवा गरेपछि मेवा आफैं आउँछ ।

कञ्चन बैंकका भावी रणनीति, योजनाहरू के छन् ?
अब हाम्रो रणनीति भनेको कञ्चन डेभलपमेन्ट बैंकलाई प्रदेशको बैंकका हिसाबले अगाडी बढाउने हो । पहिलो चरणमा हाम्रो कार्य क्षेत्र तीनवटा जिल्लाबाट डोटी र बैतडीमा विस्तार गर्ने क्रममा छौं । केही वर्षभित्र प्रदेशभित्र हाम्रा शाखा सञ्जालहरू हुनेछन् ।
हामीले उत्पादनमूलक क्षेत्र पर्यटन, विशेष गरेर कृषि उत्पादनसँग सम्बन्धित उद्योगलाई प्राथमिकतामा राखी कार्य योजना अगाडि बढाएका छौं । सोअनुसार अगाडि बढ्ने लक्ष्य छ ।

 

प्रतिक्रिया दिनुहोस्