सुन्तला उत्पादकले उचित मूल्य पाएनन् «

सुन्तला उत्पादकले उचित मूल्य पाएनन्

धनकुटा-मुख्य सिजनमै बिचौलियाका कारण धनकुटामा उत्पादित सुन्तलाले उचित मूल्य पाउन सकेको छैन । कतिपय किसानले अझै सुन्तला बिक्रीसमेत गरेका छैनन् ।
सुन्तला बिक्री गर्ने मुख्य सिजनमा धनकुटा नगरपालिका–३ कागतेका रमेश घिमिरेले आफ्नो ६ रोपनी बारीमा फलाएको सुन्तला बिक्री गरेका छैनन् । यसको मुख्य कारण हो उनले अहिलेसम्म सुन्तलाको मूल्य ५० रूपैयाँ पनि नपाउनु । उनी त एक प्रतिनिधिपत्र मात्र हुन् । अहिले धनकुटामा किसानबाट बिचौलिया व्यापारीले ४० देखि ६० रूपैयाँसम्ममा सुन्तला खरिद गरिरहेको भए पनि बजारमा भने सुन्तालाको मूल्य १ सय ५० रूपैयाँसम्म पुगेको छ । कृषक उमेश घिमिरे भन्छन्, “बगैंचादेखि बजारसम्ममा तह–तहमा रहेका बिचौलिया व्यापारीले लागत मूल्य दिनसमेत हिच्किचाउने गरेका छन् ।”
धनकुटा नगरपालिकाका अर्का किसान जितेन्द्र राईले किसानले दुःख गरेर फलाएको सुन्तला सस्तोमा बेच्नुपरेको गुनासो गरे । बीचका व्यापारीले भने किसानको भन्दा बढी फाइदा लिएको उनी बताउँछन् । त्यसो त अहिले पनि किसानको पहुँच ठूला व्यापारी सम्म छैन । न त ठूला व्यापारी नै किसानको बगैंचासम्म पुगेका छन् त्यसले गर्दा पनि किसानले पाउने मूल्य दरभन्दा बजार मूल्यबीचमा ठूलो अन्तर देखिन्छ ।
धनकुटाको करिब ५ सय हेक्टरमा सुन्तला खेती हुने गरेको छ । धनकुटामा उत्पादित ५१ लाख ८४ हजार किलो सुन्तला बिक्रीबाट उत्पादक किसानले सरदर २५ करोड ५० लाख रूपैयाँ प्राप्त गर्छन् भने बिचौलियाले बिनाजोखिम र मेहनत त्यही सुन्तलाबाट उत्पादक किसानको भन्दा दोब्बर बढी अर्थात ५१ करोड ८४ लाख रूपैयाँ लिन्छन् । त्यसैले अन्य फलफूल र तरकारी जस्ता कृषि उपज सुन्तलामा पनि बिचौलियाको हाबी देखिन्छ । बजारलाई प्रतिस्पर्धी बनाउन र बजारको खोजी गर्न बिचौलिया व्यापारीको पनि हाम्रो जस्तो सानो बजार भएको देशमा आवश्यक देखिन्छ । तर एक किलो सुन्तलामा एक सय रूपैयाँसम्म नाफा लिने अवस्था भने किसानमारा प्रवृति जस्तै देखिन्छ ।

धनकुटामा नासिँदै सुन्तला
दक्षिण एसियाकै रसिलो र गुलियो सुन्तला उत्पादन हुने भनेर कहलिएको धनकुटामा पछिल्लो समय सुन्तला उत्पादन घटिमात्र रहेको छैन्, किसान नै सुन्तला खेतीको विकल्प खोज्न थालेका छन् ।
केही वर्ष अघिसम्म मंसिर र पुसमा लटरम्म सुन्तला फलिरहेको देखिने धनकुटाका सुन्तला बगैंचा अहिले खाली हुँदै गएका छन् । कुनै समय कात्तिक–मंसिर महिनामा व्यापारीलाई सुन्तलाका बोट देखाउन र सुन्लताको मोल मोलाई गर्न व्यस्त हुने छथर–जोरपाटी गाउँपालिकाका कृषक छगेन्द्र पराजुली अहिले भने फुर्सदिला छन् । कारण हो– उनको बारीमा लगाइएका सबै सुन्तलाका बोट मरी सके । पराजुली त प्रतिनिधि पात्र मात्र हुन् यहाँका ५० घरपरिवार किसानको आम्दानीको स्रोत बनेको सुन्तला खेती अहिले पूर्णरूपमा समाप्त भएको छ । कृषक छगेन्द्र पराजुली अहिले सुन्तला खेती मासिएपछि कागती, अनार, रुद्राक्ष खेतीमा लागेको बताउँछन् । उनी भन्छन्, “सुन्तला नमासिएको भए यहाँका कसैले पनि दुई÷चार लाख कमाउन विदेश जानुपर्ने थिएन, तर सुन्तला खेती बचाउन सकिएन त्यसैले गाउँका युवा पनि रोजगारीका लागि विदेसिए भने आफूचाहिँ अन्य बोटविरुवा लगाएर बसेको छु ।”
त्यस्तै सुन्तला खेतीबाटै विगतमा बार्षिक १० लाख रूपैयाँसम्म आम्दानी गरेका धनकुटा नगरपालिका तीन सिप्तेनका जितेन्द्र राई रोगले बगैंचामा मासिँदै गएपछि एभोकाडो खेतीमा लागेका छन् । मनग्गे उत्पादन भइरहेका सुन्तलाका बोट मरेपछि छिमेकी रेसकुमार राईको पनि आम्दानी घटेको छ । फेद र जरा कुहिने, मुना र हाँगा सुक्दै जाने, ढुसी र कत्ले किराको प्रकोपले सुन्तला बगैंचा नै रित्तो हुन लाग्दासमेत अनुसन्धान केन्द्र र कृषि वैज्ञानिकले कुनै समाधान दिन नसकेको कृषक जितेन्द्र राईले बताए । “सुन्तलामा रोग देखिएसँगै उपचारको कदम चाल्दासमेत उपचार विधि पत्ता लागेन,” उनले भने, “कसैले मौसम परिवर्तनलाई कारण बताए पनि कसैले अन्य रोग भएको भनेपछि अहिले सुन्तलाको विकल्प खोज्नुपर्ने भयो ।”
दक्षिण एसियाकै रसिलो र गुलियो सुन्तला हुने स्थानका रूपले चिनिएको सुन्तला उत्पादनको पकेट क्षेत्र घोषित शहिदभूमी गाउँपालिकाको खाल्सा क्षेत्रमा समेत सुन्तला उत्पादन घट्दै गएको शहिद भूमि गाउँपालिकाका कृषि शाखाका प्राविधिक रत्न थापामगरले जानकारी दिए । उनले भने, “खाल्सा क्षेत्रमा पनि सुन्तला उत्पादन घट्दै गएको छ ।” सुन्तला रोगको समस्या एक ठाउँमा मात्र सिमित छैन । धनकुटा नगरपालिका मौनाबुधुक बोध, तेलियालगायतका स्थानका किसानले लगाएका सबैजसो सुन्तला बगैँचामा समस्या रहेको छ । कृषि बैज्ञानिकहरूले यस्तो समस्यालाई सिट्रस ग्रिनिङ भन्ने गरेका छन् । तर निराकरणको उपाय निकाल्न सकेका छैनन् । “फेद र जरा कुहिने, मुना र हाँगा सुक्दै जाने, ढुसी र किराको प्रकोपले किसानका सुन्तला बगैंचामा छ,” सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाका कृषि वैज्ञानिक उमेश आचार्यले भने, “यस्ता रोगको निदानका लागि प्रयास गरि रहे पनि ठीक उपचार विधी भने पत्ता लागिसकेको छैन ।”

अनुसन्धान जारी
रोग किराको प्रकोप, छोटो उत्पादन अवधि र आधुनिक कृषि प्रविधिको प्रयोग नगरिँदा अमिला जातका फलफूलमा परनिर्भरता बढ्दो छ । आयात प्रतिस्थापन गर्न कृषि वैज्ञानिक बेमौसमा पनि उत्पादन लिन सकिने जुनार–सुन्तलाको अनुसन्धान र प्रविधि विकासमा जुटेका छन् ।
धनकुटाको पारीपात्लेमा रहेको सुन्तला जात अनुसन्धान कार्यक्रमका वैज्ञानिकहरू जुनार सुन्तलाका नयाँ जात अनुसन्धानमा जुटेको १० वर्ष भयो । कार्यक्रमको परीक्षणस्थलमा विशेषगरी सुन्तला र जुनारका प्रजाती अनुसन्धानमा बैज्ञानिकको ध्यान छ । उन्सु, ओकिचु, ओकिचुवासे, मियागावावासे, यूआरएस र पंगानलगायत २२ जातका सुन्तला र २४ जातका जुनारमा परीक्षण जारी छ । परीक्षण सफल भए उत्पादन अबधि बढाएर भदौदेखि फागुनसम्मै सुन्तला उत्पादन गर्न सकिने र यसको पीरक्षण विभिन्न जिल्लामा भइरहेको सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनुकटाका कृषि वैज्ञानिक उमेश आचार्यले जानकारी दिए ।
अनुसन्धानको चरणमा रहेका नयाँ जातका बोटमा सानै भएपनि लटरम्म फल लागेको र स्याहार गर्न र फल टिप्नसमेत सजिलो हुने आचार्यको भनाइ छ । विभिन्न रंग, आकार र स्वादमा पाइने नयाँ जातबाट किसान र उपभोक्ताले लाभ लिन सक्छन् । अनुसन्धान सफल भएमा सुन्तला खेती गर्ने किसानले भोग्दै आएका विभिन्न समस्याको समाधान भई उत्पादन बढाउन किसानका सहयोग मिल्ने आँखिसल्लाका कृषक नरेन्द्र राई बताउँछन् ।

विकास घिमिरे

प्रतिक्रिया दिनुहोस्