कालीगण्डकी डाइभर्सन : विरोध कि समर्थन ? «

कालीगण्डकी डाइभर्सन : विरोध कि समर्थन ?

नदी डाइभर्सन गर्ने कार्य विश्वभर नै विवादित विषय हो । अन्य प्राकृतिक स्रोत पनि स्थानान्तरण गर्ने कार्यको विरोध हुने गर्छ ।

परियोजना के हो ?
कालीगण्डकी नदीमा डाइभर्सन बनाई तिनाउ नदीमा पानी पठाउने हो । यसबाट १ सय २६ मेगावाट विद्युत् निकालिनेछ । कपिलवस्तु र रूपन्देहीमा १ लाख ७ हजार हेक्टर जमिन सिँचाइ हुनेछ । यसको पूर्व सम्भाव्यता अध्ययन भएको छ । अब एक वर्षमा डीपीआर तयार गर्ने लक्ष्य छ । यसको लागत १ खर्ब ३८ अर्ब अनुमान गरिएको छ ।
आयोजनाको बाँध पाल्पाको रम्भा पीपलडाँडामा बन्नेछ । त्यहाँबाट २७ किलोमिटर सुरुङ बनाएर पानी पाल्पाकै तिनाउ दोभानमा पु¥याइनेछ । दोभानमा ५४ मेगावाट विद्युत् उत्पादन हुनेछ । दोभानदेखि ७ किलोमिटर सुरुङमार्फत बुटवल बेलबास पानी पु¥याइनेछ । त्यहाँ दोस्रो पावर हाउस बन्नेछ । त्यहाँ ७२ मेगावाट विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादन क्षेत्रमा ६४ अर्ब रुपैयाँ लगानी हुनेछ ।
३८ किलोमिटर लामो नहरबाट कपिलवस्तुका ५४ हजार र रूपन्देहीका ५३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुनेछ । सिँचाइ संरचना एवं सिञ्चित क्षेत्र विकासका लागि ७४ अर्ब लागत अनुमान छ ।
डाइभर्सनबाट कालीगण्डकीको प्रतिसेकेन्ड ८२ घनमिटर पानी तिनाउमा पठाइनेछ । कालीगण्डकीमा २० घनमिटर पानी छोडिनेछ । तिनाउमा अघिल्लो वर्ष बाढी आउँदा प्रतिसेकेन्ड ८० घनमिटर पानी बगेको थियो । सुक्खा याममा १ देखि २ घनमिटर मात्र पानी बहने गर्छ ।

विरोध किन ?
प्रस्तावित बाँधभन्दा तल १० स्थानीय पालिका क्षेत्र छन् । तिनीहरूले आफ्नो क्षेत्र मरुभूमि हुने भन्दै विरोध गरेका छन् । देवघाट धार्मिक पर्यटकीय स्थल यसै नदी तटमा रहेको छ । धार्मिक महŒवको नदीको बहावलाई निरन्तर बग्न दिनुपर्ने उनीहरूको भनाइ छ ।
तटीय क्षेत्रका बासिन्दाले सिँचाइका लागि अहिलेसम्म त्यति धेरै पानी उपयोग गरेका छैनन् । उनीहरूले भविष्यमा हामीले सबै पानी प्रयोग गर्न सक्छौं, अहिले पानी प्रयोग भएको छैन भन्दैमा डाइभर्सन गर्न पाइँदैन भनेर विरोध गरेका छन् ।

सैद्धान्तिक सन्दर्भ
नदी डाइभर्सन गर्ने कार्य विश्वभर नै विवादित विषय हो । अन्य प्राकृतिक स्रोत पनि स्थानान्तरण गर्ने कार्यको विरोध हुने गर्छ । स्थानीय प्राकृतिक स्रोतमा स्थानीयवासीकै अग्राधिकार हुन्छ । उनीहरूले उपयोग गरेर बाँकी रहेको स्रोत मात्र अन्यत्र लैजाने हो । यो मान्यताअनुरूप काम गर्दा पनि धेरै ठाउँमा विवाद हुने गरेको छ ।
प्राकृतिक स्रोतलाई चलाउन हुँदैन, यसले सदियौंदेखिको सन्तुलनलाई बिगार्छ भन्ने एकथरीको मान्यता छ । बढ्दो जनसंख्या र विकासको आवश्यकतालाई पूर्ति गर्न प्राकृतिक स्रोतलाई चलाउनुपर्छ । तर, संवेदनशील भने हुनुपर्छ भन्ने दोस्रो थरी मान्यता छ ।
एकदमै संवेदनशील प्राकृतिक स्रोतलाई जस्ताको तस्तै संरक्षण गर्ने र अन्य स्रोतलाई व्यवस्थापन गर्ने दोस्रो थरीको मान्यता हो । व्यवस्थापन भनेको वनस्पति र जीवजन्तु हो भने तिनको नयाँ जन्मने, हुर्कने वातावरण कायमै राखेर उत्पादनलाई थोरै–थोरै प्रयोग पनि गर्ने हो । खनिज पत्थरको हकमा भने यसो गर्न सकिंदैन ।
खनिज पत्थर अहिले प्रयोग नगरे पनि भण्डारण भइरहेको हुन्छ । पछि प्रयोग गर्न सकिन्छ । पानी अहिले प्रयोग भएको छैन भने बगेर जान्छ । त्यसैले यसलाई जलविद्युत् र सिँचाइमा अधिकतम प्रयोग गर्नुपर्छ भन्ने मान्यता छ ।
मानिसले कतिपय प्राकृतिक स्रोतलाई उपयोगहीन वा खेर गइरहेको ठान्छ । तर, पृथ्वीको पारिस्थितिक प्रणाली (इकोसिस्टम) चल्न सबै स्रोत उपयोग भइरहेका हुन सक्छन् । उदाहरणका लागि झाडी रहेको ठाउँलाई सुन्दर बगैंचा बनाइन्छ । त्यो झाडीमा जुन इकोसिस्टम चलेको थियो, त्यो बिथोलिन्छ । त्यहाँ रहने ब्याक्टेरिया, भाइरस, फंसग, ग्यासहरू त्यहाँका जीवजन्तुका अनुकूल थिए । बगैंचा बनेपछि मानिसका लागि रोगहरू सिर्जना हुन सक्छन् ।
मानिसहरूले पहाडका चट्टान फुटाएर सडक निर्माण गरेका छन् । ती चट्टान फुटाउँदा प्राकृतिक रूपले वर्षाको पानी फिल्टर भएर भण्डारण हुने संरचना खलबलिन्छ । बालुवा, ढुंगा, रोडा उत्खनन गरिन्छ । त्यसबाट पनि पानीको प्राकृतिक भण्डारण खलबलिन्छ । पहिले प्राकृतिक भण्डारण र स्रोतलाई बिगार्ने, पछि फलानो ठाउँतिर पानीको अभाव भयो भन्दै डाइभर्सन गर्ने गरिन्छ ।

दिगो विकास
आर्थिक विकास भनेको प्रकृतिले प्रदान गरेका चिजमा श्रम जोडेर मानव उपयोगिता सिर्जना गर्नु हो । मानिसहरूले जेजति विकास गरेको भने पनि प्रकृतिले दिएका चिजलाई तोडमोड गर्ने मात्र हो । एक ठाउँको स्रोत अर्को ठाउँ पु¥याउने, स्रोतहरूको रूपरंग, आकार बदल्ने र त्यसबाट मानिसहरूको आवश्यकता पूरा गर्ने हो । मानिसहरूले नयाँ–नयाँ आवश्यकता र उपयोगिता सिर्जना गर्छन् । जति धेरै आवश्यकता सिर्जना गरिन्छ, प्रकृति उति बिगार्नुपर्ने हुन्छ ।
मानिसको आवश्यकतालाई मात्र ध्यान दिँदा प्रकृति छिटो बिग्रने भयो भनेर दिगो विकासको अवधारणा आयो । दिगो विकास भनेको सकेसम्म प्रकृतिलाई कम मात्र बिगारेर हाम्रो आवश्यकता पूरा गर्ने हो । यसको मतलब प्रयोग नगरे पनि हुने चिजलाई प्रयोग नगर्ने, जहाँ जे उपलब्ध छ, सकेसम्म त्यसको प्रयोग गर्ने, खेर जाने चिजलाई पुनः प्रयोग गर्ने हो ।

प्राविधिक र वित्तीय पक्ष
प्राविधिक रूपले असम्भव आयोजना त बन्ने कुरै भएन । लगानीको तुलनामा प्रतिफल बढी आउने हुनुपर्छ । मानौं १ सय रुपैयाँ लगानी गरिएको छ भने त्यहाँबाट निस्कने बिजुली बेच्दा र सिँचाइ गरेर अन्न बेच्दा १ सय रुपैयाँभन्दा बढी आम्दानी हुनुप¥यो ।
कालीगण्डकीको हकमा वित्तीय सम्भाव्य छ भनिहाल्न सकिने स्थिति छैन । बिजुली उत्पादन हुनु राम्रो हो । तर, अन्यन्त्र २० करोड रुपैयाँ प्रतिमेगावाट उत्पादन हुन्छ भने त्यहाँ ५० करोड रुपैयाँ लागत पर्छ भन्ने त्यो राम्रो भएन । त्यस्तै १ हेक्टर सिँचाइ गर्न ७ लाख खर्च हुन्छ । त्यहाँ गरिएको खेतीबाट त्यो खर्च कति वर्षमा उठ्छ ? देशकै अन्य ठाउँमा यति लगानी गर्दा योभन्दा बढी उत्पादन बढ्ने अवस्था छ कि ?
कपिलवस्तु र रूपन्देहीमा अहिले अन्य विकल्पबाट सिँचाइ भइरहेकै होला । अहिलेसम्म शून्य सिँचाइ मानेर कालीगण्डकीको पानीलाई शतप्रतिशत मान्न मिल्दैन । अहिलेसम्म हुँदै आएको अन्नबाली उत्पादनमा कालीगण्डकी थपिएपछि जति थप उत्पादन हुन्छ, त्यो मात्र यसको उपलब्धि मानिन्छ ।

वातावरणीय र धार्मिक पक्ष
बाँधमाथि साबिकको सुक्खा जमिन जलमय हुन पुग्छ । यहाँको बसोबास र पारिस्थितिक प्रणाली नष्ट हुन्छ । बाँधतल पानी घट्छ । यसले तलका जीवजन्तु र वनस्पतिलाई के–कति नोक्सान गर्छ ? हावापानीमा के असर गर्छ ? यसलाई वैकल्पिक ढंगले कति हदसम्म परिपूर्ति गर्न सकिन्छ ? यो सहन सकिने हदसम्मको मात्र क्षति हो ? यसको मूल्यांकन गर्नुपर्छ ।
कालीगण्डकी हिन्दू धार्मिक आस्थासँग जोडिएको नदी हो । हिमालबाट सुरु भएको यो नदीलाई मुहानदेखि समुद्रमा नपुग्दासम्म पवित्र मानिन्छ । यो शालिग्राम पाइने नदी हो । यस नदीमा स्नान, पितृ श्राद्ध, देहत्याग, दाहसंस्कार, तप, ध्यान गर्ने चलन छ । वेद मन्त्रहरू ऋषिमुनिले यसै नदीतटमा रचेका विश्वास गरिन्छ ।
धार्मिक दृष्टिकोणबाट नदीको पानी रोक्नु, छोड्नु, घटाउनु, चलाउनुलाई नै अपवित्र मानिन्छ भने यसको विकल्प नै हुँदैन । नदीमा चाहिँदो मात्रामा जल कायम रहे धार्मिक महत्वमा क्षति नपुग्ने हो भने डाइभर्सन गर्न सकिन्छ ।
२० प्रतिशत मात्र पानी छोड्दा कालीगण्डकीमा कम हुन्छ भने त्यसको विकल्प छ । चार महिना मनसुनमा वर्षातको पानीले ठूलो बाढी आउने गर्छ । बाँध ठूलो बनाएर वर्षातको पानी जम्मा गरेर राख्न सकिन्छ । नियन्त्रित पानी छोड्ने हो भने कालीगण्डकीमा हाल बहेको पानीमा एक लिटर पनि नघटाई तिनाउमा चाहेजति पानी बगाउन सकिन्छ ।
यदि यो नदीमा यस्ता जलचर छन्, जुन समुद्रदेखि मुहानसम्म घुमफिर गर्न पाए मात्र उनीहरूको जीवन रहन्छ । तिनलाई बचाइराख्नुपर्ने हो भने नदीमा कहीं पनि बाँध बाँध्नै मिल्दैन ।

निष्कर्ष
प्रकृतिवादी दृष्टिकोण राख्नेले कालीगण्डकी डाइभर्सन मात्र होइन, सबै विकास आयोजनाको विरोध गर्नुपर्छ । प्राकृतिक संरक्षण र उपयोगको दृष्टिकोण राख्नेले निरपेक्ष रूपमा कुनै पनि आयोजनाको विरोध गर्न मिल्दैन ।
राजनीति गर्नेहरूले विरोध र समर्थन जे गरे पनि उनीहरूलाई केही भन्ने कुरै भएन । किनकि उनीहरूलाई तथ्य र सत्यको मतलब हुँदैन । बहुसंख्यक मानिसलाई जे भनेर पक्षमा पार्न सकिन्छ भन्ने लाग्छ, उनीहरू त्यही गर्छन् । धार्मिक कट्टरपन्थी र ढोंगीहरू पनि राजनीतिक वर्ग नै हुन् ।
स्वतन्त्र र तटस्थ न्यायप्रेमी मानिसहरूका लागि आयोजनाको समर्थन वा विरोध गर्नका लागि आवश्यक तथ्यहरू बाहिर आउन बाँकी छन् । अझै बहुपक्षीय अध्ययन गरेर मात्र यो आयोजना उपयुक्त हो वा होइन भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्