नाम र काम छ, दाम छैन

डडेल्धुरा-निःस्वार्थ सेवा भावनाले काम गर्दै आएका डडेल्धुराका महिला स्वास्थ्य स्वयंसेविकाहरू सामाजिक सुरक्षाको माग गर्न थालेका छन् । महिला स्वयंसेविकाले बुढेसकालका लागि सामाजिक सुरक्षाको माग गरेका हुन् ।
स्वास्थ्य सुधारका लागि स्थानीय बासिन्दाहरुको घरदैलोमा पुग्ने महिला स्वयंसेविकाले सेवा भावनाले काम गर्दै आएको भएपनि बाँच्नका लागि आर्थिक अभाव खेप्नुपर्ने बाध्यता रहेको उनीहरु बताँउछन् । “बिहानै एक छाक खाना खाएर सामाजिक कार्यका लागि घरबाट निस्कन्छौं,” डडेल्धुराको अमरगढी नगरपालिकाकी महिला स्वास्थ्य स्वयंसेविका इन्द्रा रावलले भनिन्, “साँझ पर्दा रितो हात घर फर्कन्छौं । हाम्रो पनि परिवार छ । खान लगाउन चाहिन्छ । त्यसका लागि सरकारले व्यवस्था गरिदिनुपर्छ ।”
स्वास्थ्य क्षेत्रमा समाजले कोल्टे फेरे पनि अझै महिला स्वास्थ्य स्वयंसेविकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको उनको गुनासो छ । महिला स्वयंसेविकाका लागि पैसा छुट्टयाउनु हुँदैन भनेर स्थानीय तहकै जनप्रतिनिधिले भन्ने गरेको भन्दै उनले भनिन्, “प्रोत्साहनका लागि समेत रकम नपाउने भए सामाजिक क्षेत्रमा खट्न गाह्रो छ ।”
“परिवार नियोजनका अस्थायी साधन बोकेर स्थानीय बासिन्दाको घर दैलोमा पुग्दा समाजमा नराम्रो दृष्टिकोणले हेरिन्छ,” अर्की स्वयंसेविका मन्जु केसीले भनिन्, “जनसंख्या नियन्त्रण गर्ने र सुखी परिवार बनाउनका लागि गरेको कार्य हेरिँदैन । समाजमा जनचेतना फैलाउने कार्यले स्वास्थ्यप्रतिको जागरुकता बढेको हेरिँदैन । समाज परिवर्तनका लागि गरिएका कार्य ओझेलमा पारिन्छ ।”
स्वास्थ्य प्रवर्धन गर्ने, जनचेतना फैलाउने, खोप लगाउने, मातृ र नवजात शिशु मृत्युदर घटाउने, कुपोषण हटाउने, सुत्केरी हुन स्वास्थ्य संस्था जान प्रोत्साहित गर्ने, सरुवा रोग नियन्त्रण गर्ने, व्यक्तिगत सरसफाई र वातावरण सरसफाइबारे जनचेतना फैलाउने बचन दिएको स्वयंसेविका लक्ष्मी भट्टले बताइन् । “बचनवद्धता तोडेका छैनौं । दिनरात खटिएर कार्य गरेका छौं । अझै कार्य क्षेत्रमा खटिन तत्पर छौं । सामाजिक कार्यमा लागेपछि बुढेसकालमा बाँच्नका लागि सरकारले समाजिक सुरक्षा योजनामा महिला स्वयंसेविकालाई समेत समेट्नुपर्छ ।”
महिला स्वास्थ्य स्वयंसेविकाको नाम र काम रहेको तर दाम नरहेको भट्टको गुनासो छ । सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्लले भने, “महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउनका लागि अहं भूमिका खेलेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाकै कारण बिरामी पर्दा अस्पताल जान सिक्यौं । उहाँहरूको सम्मानका लागि प्रदेश सरकारले जीवन धान्ने गरी योजना ल्याउनुपर्छ ।” समृद्धि ल्याउनमा लागि स्वास्थ्य र कृषिलाई जोडेर योजना बनाउन सकेमात्रै मुलुकको समृद्धी हुने उनको तर्क छ ।
हरिश चन्द