१३ महिनापछि चौधरीले लिए सांसदको शपथ «

१३ महिनापछि चौधरीले लिए सांसदको शपथ

कारागारबाट सिधै सिंहदरबार

 निर्वाचन जितेको १३ महिनापछि रेशमलाल चौधरीले सांसदको शपथ लिएका छन् । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीलाई सभामुख कृष्णबहादुर महराले बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
बिहीबार अपरान्ह सिंहदरबार पुगेर चौधरीले थारु भाषामा पद तथा गोपनियताको शपथ लिए । डिल्लीबजारस्थित सदर खोरमा थुनामा रहेका चौधरीले निर्वाचित भएको १३ महिनापछि सांसदको शपथ लिएका हुन् । ०७४ साल मंसिरमा सम्पन्न निर्वाचनमा मत माग्न निर्वाचन क्षेत्र नआइकनै उनले निर्वाचन जितेका थिए । टीकापुर घटनामा प्रतिवादी रहेकै अवस्थामा चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचनको बेला भारतमा भूमिगत रहेका चौधरी निर्वाचनमा विजयी भएपछि आफूविरुद्धको मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।
०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलनका क्रममा डेढ वर्षीय नाबालकसहित ८ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । आन्दोलनलाई चर्काउन चौधरीले मुख्य भूमिका खेलेको आरोप लागेको थियो । चुनाव जितिसकेपछि चौधरीले गत फागुन १४ गते अदालतसामु आत्मसमर्पण गरेका थिए । न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाउने निर्णय गरेको थियो ।
राष्ट्रिय जनता पार्टीले चौधरीलाई शपथ खुवाउन दबाब दिँदै आएको थियो । सांसदको सपथ लिएपनि चौधरीमाथिको मुद्दा भने कायमै छ ।

‘माला लगाएर जेल जानुपर्ने ?’

सांसदको सपथ लिएपछि चौधरीले सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरे । “यो लोगो सांसदको लोगो हो । एकजना सांसदलाई सपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन ?” उनले भने, “यो लोगोको सम्मान के हो ? यो लोगोले हामी सम्पूर्ण प्रतिनिधि र राष्ट्रियसभामा सहभागी हुने सदस्यको कत्तिको इज्जत राख्छ ? राज्यले बोल्ला, संसदले बोल्ला ।”

जनताले जिताएकाले शपथ : सरकार

रेशम चौधरीलाई जनताले मत दिएर जिताएकाले उनको शपथ गराइएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बास्कोटाले निर्वाचित जनप्रतिनिधिले शपथ खाने र अदालतले जेल पठाउने विषय अलग–अलग भएको बताए ।
चौधरी अदालतले करार गरेको अभियुक्त भएको र सोही अनुसार जेल चलान भएकाले यसमा सरकारले केही नगर्ने उनले प्रष्ट पारे । “रेशम चौधरीलाई अदालतले नै अभियुक्त करार गरेको हो । अदालतको आदेशअनुसार नै पुर्पक्षका लागि जेल चलान भएका हुन्, उनले तोकिएको सजाय भोग्नैपर्छ,” उनले भने ।
राष्ट्रिय जनता पार्टी नेपालसँगको सम्बन्ध सुधार्न शपथ खुवाइएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले राजपासँग कहिले सम्बन्ध बिग्रिएको छ र ? भनेर प्रतिप्रश्न गरे । “राजपाले सरकारलाई समर्थन गरेको छ । न्यायिक निरुपणको विषय राजनीतिक हिसाबले टुंग्याउन मिल्दैन । यसमा सरकारको कुनै दृष्टिकोण रहँदैन,” उनले भने ।

शपथ कानुनी राज्यको उपहास : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चौधरीको शपथ कानुनी राज्यको उपहास भएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वकप्रकाश शर्माले चौधरीको शपथले कानुनी राज्यको खिल्ली उडाएको बताएका हुन् ।
शर्माले ट्वीट गर्दै भनेका छन्, “संवैधानिक सर्वोच्चता साझा सहमति र मुलुकको अग्रगतिको मूल बाटो हो । निश्चित दल विशेषको सरकारलाई गणितीय बल थप्ने नाममा यो दायरा उल्लंघन गरिनु नैतिक र राजनीतिक दुवै कोणबाट गलत छ ,” शर्माले भनेका छन् ।
अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपिलाई ‘ताजपोशी’ गराउने तयारीले कानुनी राज्यको खिल्ली उडाएको उनको भनाइ छ । त्यस्तै, राप्रपाले पनि कानुनी राज्यको उपहास भएको भन्दै चौधरीको शपथको विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्