लमजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा «

लमजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा


लमजुङ जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । ‘स्थानीय श्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित बुधबार एक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको हो ।
स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणासभा भएको जिल्ला खोप समन्वय समिति सचिव एवं स्वास्थ्य कार्यालय लमजुङका प्रमूख अमर दवाडीले बताए । जिल्लाका सवै स्थानीय तहहरुले पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिसकेकोले सोहि प्रावधान बमोजिम जिल्लालाई पनि घोषणा गरिएको कार्यालय प्रमूख दवाडीको भनाइ छ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डेको अध्यक्षतामा औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा भएको थियो । घोषणा सँगै कार्यक्रमका सहभागीहरुले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा सुन्दरवजार नगरपालिका प्रमूख जनकराज मिश्र, मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेल, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी लगायतले मन्तव्य राख्दै पूर्णखोप सुनिश्चिततासँगै यसको दिगोपना प्रभावकारि कार्यन्वयनमा विशेष ध्यान दिनुपर्ने बताए ।
जिल्लाका स्थानीय तहबाट प्राप्त विवरण अनुसार केहि स्थानीय तहहरुले बैसाख महिनामै पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेका थिए भने केहि स्थानीय तहहरुले जेष्ठ र असार महिनामा घोषणा गरेका हुन् । जिल्लाको क्होलासोँथार गाउँपालिकाले सवैभन्दा पहिला बैसाख २५ गते पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेको थियो ।
यसैगरी जिल्लाको मस्र्याङदी गाउँपालिकाले वपन बैसाख २९ गते घोषणा गरेको थियो । मध्यनेपाल नगरपालिकाले भने जेष्ठ २७ गते घोषणा गरेको थियो भने दोर्दी गाउँपालिकाले असार २ गते, बेसीशहर नगरपालिकाले असार ७ गते, राईनास नगरपालिकाले असार ८ गते, दुधपोखरी गाउँपालिकाले असार १२ गते र सुन्दरवजार नगरपालिकाले असार २१ गते घोषणा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पूर्णखोप सुनिश्चितता र दिगोपनाको रणनीत अनुरुप खोज र खोप कार्यक्रम अन्तर्गत वर्षमा एक पटक घरधुरी सर्वेक्षण गर्ने प्रावधान अनुसार चालु आर्थिक वर्षको पूर्णखोप सुनिश्चितता प्रमाणिकरण गरिएको थियो । स्थानीय तह तथा वडाहरुमा पूर्णखोप सुनिश्चितता प्रमाणीकरण गर्न सर्वेक्षण गरी अद्यावधिक गरिएको थियो । अद्यावधिकको क्रममा छुटेका निश्चित उमेर समूहका बालबालिकाहरुलाई खोप पुरा गराईएको स्थानीय तहहरुले जनाएका छन् ।
सर्वेक्षणका क्रममा स्वास्थ्य कर्मीको संलग्नतामा प्रत्येक वडामा सबै बालबालिकाले निर्धारित समयमा खोप पाए नपाएको पहिचान गरी वडा अनुसारको पूर्ण खोप विवरण संकलन गरेका थिए । स्वास्थ्य कार्यालयको अद्याबधिक विवरण अनुसार जिल्लामा १५ महिना मुनिका दुईहजार चारसय ९३ बालबालिकाहरुले खोप लिईरहेको पाईएको छ । यसैगरी जिल्लाभर १६ देखि २३ महिना सम्मका एकहजार ६ सय १२ बालबालिकाहरुले खोप लिएको तथ्याँकमा उल्लेख छ ।
यसअघि २०७३ पुस १६ गते लमजुङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । खोप पाउने उमेर समुहका सम्पुर्ण बालबालीकाले नियमित खोप पाईरहेको सुनिश्चतता भएसँगै जिल्लालाई पुर्ण खोप युक्त जिल्ला घोषणा भएको थियो । पूर्ण खोप सुनिश्चिता र दिगोपनाका लागि प्रत्येक वर्ष सर्वेक्षण र घोषणा गर्ने प्रावधान छ ।
नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनि स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । यसैगरी नेपालको संविधान २०७२ अनुसार आधारभूत स्वास्थ्य सेवाहरुको संचालन तथा ब्यवस्थापन स्थानीय सरकारको अधिकारक्षेत्र भित्र ब्यवस्था भएको सो अनुसार स्थानीय सरकार संचालन ऐन,२०७४ को परिच्छेद ३ मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार र वडा समितिको काम कर्तव्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्तर्गतको खोप सेवा संचालनको ब्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्