‘नयाँ सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हुनुपर्छ’
प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हुनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । सामान्यतयाः रोजगारी सिर्जना, आर्थिक वृद्धि, उद्योग व्यवसाय विस्तार सरकारका प्राथमिकता हुने गरे पनि वर्तमान समयमा सबै नागरिकमा कोभिड विरुद्धको खोप पहिलो प्राथमिकता हुनुपर्ने निजी क्षेत्रको जोड छ ।
आम नागरिकले खोप प्राप्त गर्न सकेमा मात्र दैनिक जनजीवन सामान्य हुने र आर्थिक गतिविधि पनि विस्तार हुने भन्दै निजी क्षेत्रले नयाँ सरकारलाई खोप खरीदमा केन्द्रित हुन सुझाव दिएको हो । कोभिड महामारीका कारण गत वर्षको चैतदेखि देशमा सीमित क्षेत्रबाहेक आर्थिक गतिविधि विस्तार हुन सकेको छैन । बारम्बारको लकडाउनले निजी क्षेत्रको मनोबल कमजोर भएको र सर्वसाधारण ढुक्क भएर हिँडडुल गर्ने अवस्था सिर्जना नभएसम्म पुरानै लयमा फर्कन असम्भव रहेको निजी क्षेत्रको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा कोभिडविरुद्धको खोप सहज उपलब्धताका लागि नयाँ सरकारले विशेष जोड दिनुपर्ने बताउँछन् । सरकार फेरबदलले आर्थिक पुनरुत्थानको विषय पेचिलो बन्दै गएको उल्लेख गर्दै गोल्छा यसले भोलिका दिनमा निजी क्षेत्रको मुद्दा ओझेलमा पर्न दिन नहुने बताउँछन् । अध्यक्ष गोल्छाले सरकार परिवर्तन हुँदैमा पूर्व सरकारले अगाडी सारेका सकारात्मक कामहरुलाई निरन्तरता दिई कोभिडले थपिलएको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन वर्तमान सरकारले पहल गर्नुपर्नेमा जोड दिए । अगामी वर्षको बजेटमा भएका राम्रा पक्षहरुका कार्यान्वयन गर्न केन्द्रिय बैंकले पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल पनि नयाँ सरकारले खोपलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । उनी निजी क्षेत्रसहित सबै नागरिकलाई खोप लगाउने वातावरण तयार गर्न नयाँ सरकारले ढिला गर्न नहुने बताउँछन् । उद्योग तथा व्यवसाय सञ्चालनका सिलसिलामा अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने भएकाले समग्र निजी क्षेत्र जोखिमयुक्त वर्गमा पर्ने भएकाले सरकारले यसैअनुसार व्यवसायीका माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष मल्लले सरकारको नेतृत्व परिवर्तन भएपनि नीति परिवर्तन हुन नहुने भन्दै नीति र कर्मचारीतन्त्र बलियो हुनुपर्नेमा जोड दिए । बोल्ने र व्यवहार फरक देखाउने प्रवृत्ति अन्त्य गरी गर्न सकिने कामका मात्रै जनतालाई आश्वासन दिन आग्रह गरे ।
उद्योगी राजेन्द्र खेतान पनि नयाँ सरकारको पहिलो प्राथमिकतामा खोप नै हुनुपर्ने बताउँछन् । खेतानले नयाँ सरकारका मुख्य छ क्षेत्रमा प्राथमिकता हुनुपर्ने उल्लेख गरेका छन् । उनका अनुसार सबै नागरिकलाई भ्याक्सिन पहिलो प्राथमिकता हुनुपर्छ भने दोस्रोमा सुशासन, तेस्रोमा रोजगारी सिर्जना सरकारको प्राथमिकता हुनुपर्छ । यस्तै, आर्थिक नीतिमा स्थिरतालाई चौथो, कोभिडका कारण तहसनहस भएको क्षेत्रलाई सहयोग तथा भ्रष्टाचारमुक्त व्यवस्थापनलाई क्रमशः पाँचौं र छैटौं प्राथमिकतामा राखिनपर्ने खेतानको भनाइ छ । “कोभिडका कारण व्यावसायको डायनामिक्स नै परिवर्तन भएकाले त्यसलाई आत्मसात गर्दै अघि बढ्न सक्यो भने सरकार सफल हुनसक्छ,” खेतान भन्छन्, “जनताले के चाहेका छन् भने खोप, सुशासन र सहयोग नै हो, त्यसमा सरकारले ध्यान दिनुपर्छ ।”
राजनीतिक स्थिरताको पक्षमा रहेको निजी क्षेत्र केपी ओली नेतृत्वको सरकारसँग आशावादी भएपनि सन्तुष्ट भने हुन सकेन ।
कोभिडले थला परेको अर्थतन्त्रलाई माथि उकास्न ओली सरकारले पर्याप्त चासो नदेखाएको निजी क्षेत्रको भनाइ छ । कोभिडसँग लड्न लकडाउन मात्रै उचित विकल्प नभएको भन्दै स्वाथ्य सुरक्षा र मापददण्ड महत्वपूर्ण भएको यसअघि पनि पटकपटक निजी क्षेत्रले आवाज उठाउँदै आएको हो । सरकारले राजनीतिक स्तरमा गरेका प्रतिवद्धता कर्मचारीतन्त्रले कार्यान्वयनका क्रममा अलमल्याउने गरेको र त्यसबाट नतिजा प्राप्त हुन नसकेको व्यवसायीहरु बताउँछन् । आर्थिक पुनरुत्थानभन्दा राजनीतिक व्यवस्थापन, निर्वाचनमै समय खर्चिनुपर्ने अवस्था रहेकाले धेरै अपेक्षा गर्न नसकिने कतिपय व्यवसायीको भनाइ छ ।