बाढीले अवरुद्ध तल्लो मोदी १ को उत्पादन सुचारु «

बाढीले अवरुद्ध तल्लो मोदी १ को उत्पादन सुचारु

बाढीले क्षति पुर्याएपछि बन्द रहेको तल्लो मोदी १ जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । असार २२ गते राती आएको बाढीका कारण ठप्प रहेको आयोजनाको उत्पादन एक सातापछि आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।


पर्वतको कुश्मा नगरपालिका–८ दोविल्लामा रहेको सुन्दरेखोलामा आएको बाढीले मुहान र झण्डै तीन सय मिटर नहरमा क्षति पुर्याएको थियो । सोही दिन मोदीखोलामा आएको बाढीले मुहान (हेडवक्र्स) मा समेत क्षति पुर्याएको थियो । लगातारको प्रयासबाट मर्मत सम्पन्न गरेर आइतबार साँझदेखि उत्पादन सुरु गरिएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार सुन्दरेखोलामा आएको बाढीले चार मिटर चौडा र चार मिटर उचाइ रहेको तीन सय मिटर नहर पूर्णरूपमा पुरिएको थियो । आयोजनाका कर्मचारी र अन्य कामदार गरी दैनिक ५० जना परिचालन गरी मर्मत गरिएको थियो । आइतबार साँझदेखि ९ दशमलव ५ मेगावाट विद्युत् उत्पादन भएको गौतमले जानकारी दिए ।


बाढीका कारण आयोजनामा झण्डै साढे ४ देखि ५ करोडसम्मको क्षति भएको अनुमान गरिएको छ । मोदीखोलाको बहाब उच्च रहेकाले मुहानमा भएको क्षतिको विवरण अझै यकिन हुन नसकेको उनको भनाइ छ । आयोजनाको उत्पादन गृहमा भने कुनै क्षति भएको थिएन ।
सुन्दरे खोलामा आएको सोही दिनको बाढीले मध्यपहाडी लोकमार्ग आयोजनाको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका साइट इन्जिनियर राजाराम आचार्य र चालक इन्द्र थारु सवार गाडीसमेत बगाएको थियो । बगाएको गाडी फेला परे पनि आचार्य र थारुको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन । बाढीले क्षति पु¥याएको मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्