औद्योगिक क्षेत्रमा देखिएको द्वन्द्व समाधान गर्न संयन्त्र बनाइने «

औद्योगिक क्षेत्रमा देखिएको द्वन्द्व समाधान गर्न संयन्त्र बनाइने


औद्योगिक क्षेत्रमा रोजगारदाता र कामदारबीच उत्पन्न हुने द्वन्द्व संवादमार्फत समाधानका लागि त्रिपक्षीय संयन्त्र निर्माण गरिने भएको छ । संयन्त्रको तदर्थ समितिका लागि प्रदेश सामाजिक विकास मन्त्रालयले संयोजकसहित ५ जना कर्मचारी रहने छन् । उद्योगी र मजदुर संगठनका तर्फबाट ५/५ जना प्रतिनिधि सदस्य रहनेछन् ।
नेपाल उद्योग वाणिज्य महसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको प्रदेश समितिले ५ जना प्रतिनिधि चयन गरेर १५ दिनभित्र नाम पठाउने निर्णय भएको छ । अन्तर्राष्ट्रिय श्रमिक संगठनले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) प्रदेश नं २ र वीरगञ्ज उद्योग वाणिज्य संघसँगको सहकार्यमा वीरगन्जमा आयोजित छलफलमा संवाद संयन्त्र गठन गर्ने निर्णय गरिएको छ ।
प्रदेश मन्त्रालयमा संयोजकसहितक सदस्यका लागि उद्योगी र मजदुर संगठन दुवै पक्षले पहल गर्ने सहमति भएको छ । संयन्त्रले सरकारी पक्षको उपस्थितिमा उद्योगी र श्रमिकबीच देखिएका समस्या समाधानका लागि संवाद गर्नेछ । कार्यक्रममा उद्योगी र मजदुर संगठनका प्रतिनिधि मात्रै उपस्थित भएकाले संयन्त्रले पूर्णता पाउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष गणेश लाठले जानकारी दिए ।
सरकारले उद्योगी र श्रमिकबीच विवाद गराउने ऐन ल्याउने र रमिता हेरेर बस्ने गरेकाले समस्या आएको बताउँदै सामाजिक सुरक्षा कोष पनि त्यसको उदाहरण रहेको लाठको तर्क छ । अहिले बैंकिङ क्षेत्र आन्दोलनमै छ । संयन्त्र बन्दा उद्योगी र श्रमिकबीच उत्पन्न समस्या कोठामा बसेर समाधान गर्न सकिने उनको दावी छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा रोजगार समितिका संयोजक हरि गौतमले उद्योगी र श्रमिकबीचको सम्बन्धमा पहिले भन्दा सुधार आएपनि बेला बेलामा समस्या आउने गरेकाले संयन्त्रले समस्या समाधानमा सहयोग पुग्ने बताए । छलफलमा सहभागी मजदुर संगठनका प्रतिनिधिहरुले संवाद संयन्त्र क्रियाशिल भएर काम गर्ने खालको हुनुपर्नेमा जोड दिएका छन् ।
मजदुर प्रतिनिधिहरुले श्रमिकको समस्या समाधानका लागि प्रतिबद्धता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति रोजगारदातामा देखिएको बताए । मजदुर समस्यालाई गम्भिर रुपमा लिएर समाधान गर्ने संयन्त्र आवश्यक देखिएकाले संवाद संयन्त्र गठन सकारात्मक रहेको बताए ।
अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका प्रतिनिधि हरि पौडेलले औद्योगिक क्षेत्रमा सहकार्यको वातावरण बनाउनका लागि रोजगारदाता, कामदार र सरकारबीच छलफल गर्न सामाजिक संवाद संयन्त्र गठन गर्न लागिएको जानकारी दिए । कोभिड महामारी पछि रोजगारदाता र श्रमिककबीच थप द्वन्द्व बढेको बताउँदै उनले सरोकारवाला पक्षका लागि विन विन सिचुएसन कायम गराउन संयन्त्रले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्