ठुटे खोलाको पानीमा भारतीय हस्तक्षेप «

ठुटे खोलाको पानीमा भारतीय हस्तक्षेप

ठोरी-वीरगन्ज–ठोरी सडक खण्डमा पर्ने ठुटे खोलाको पुल नहर (कुलो) विवादका कारण सञ्चालनमा आउन सकेको छैन । सम्झौता भएको ७ वर्षपछि निर्माणकार्य सुरु गरिएको पुल तयार भए पनि सञ्चालन हुन नसकेको हो । पुलको पूर्वतर्फको मुखैमा रहेका तीन नहरका कारण पुल सञ्चालनमा आउन सकेको छैन । नहर पुर्न भारतले नदिएपछि पुल प्रयोगविहीन बन्न पुगेको हो ।
सीमावर्ती क्षेत्रका भारतीय नागरिक ठोरीको राइधारा क्षेत्रमा पीउनेपानी लिन आउनुपर्ने बाध्यता छ । ठुटे खोलाहुदै दिनहुँ ६ बस यात्रु बोकेर ठोरी–वीरगन्जसम्म ओहोरदोहोर गर्छन् । यस्तै रात्रीकालीन २ बससमेत चल्छन् । दैनिक दुई दर्जन मालबाहक सवारी (ट्याक्टर, ट्रक, ट्रिपर) नहर तर्नुपर्ने अवस्था छ । “एउटै नहर बनाएर लैजान नेपालले गरेको प्रस्ताव भारतले मानेन,” ठोरीका स्थानीय पीताम्बर सिलवालले भने, “दुइटै नहर चाहिने अडान लिएपछि विवाद अल्झियो, बनेको पुलसमेत प्रयोग गर्न पाइएन ।” तीन नहरमध्ये एउटा ठोरी–३ को बुद्धनगर, ओढारलगायतका बस्तीसम्म पानी जान्छ । भारततर्फ जाने दुई नहरमध्ये माथिल्लो नहर एकुवासम्म र तल्लो नहर भिखना ठोरी हुदै भवानीपुरसम्म पुग्छ । नहरकै पानीले खेत सिँचाइ गर्नुपर्ने अवस्था छ । “हुलाकी सडक भएकाले ह्युमपाइप राख्न मिल्दैन, अण्डरग्राउनड गरेर नहर लैजान सकिने देखिन्छ,” उनले भने, “दसगजा क्षेत्रसम्म नेपालले नै भूमिगत नहर लगिदिने, उताबाट भारतले नै दुई कुलोमा विभाजन गरेर लैजानुभन्दा पनि सहमति हुन सकेको छैन ।” नहरमाथि अर्को पुल नै बनाएर पार गराउनुपर्ने स्थिति सिर्जना भएको छ ।
करिब ८ महिना पहिले बनेको ५ पिल्लरको १ सय २ मिटरको पुल प्रयोगविहीन बनेको हो । ७.२ मिटर चौडाको पुलमा साइकल, मोटरसाइकल बाहेक अरु चलाउन मिल्दैन । पुलले ठोरी गाउँपालिकाको २ र ३ नम्बर वडालाई जोड्छ । जनगणना अनुसार वडा नम्बर २ मा ७ सय ७१ र ३ मा ९ सय १२ घरधुरी छन् । करिब २०२५ सालदेखि नै भारतले ठुटे खोलाको पानी नहरमार्फत लैजाने गरेको स्थानीयको अनुमान छ । पुलको करिब २५ मिटर दक्षिणतर्फ ४ सय ३५ नम्बरको सीमा स्तम्भ छ । “जसरी पानी चलिरहेको छु चल्न दिनुस्, विरोध नगर्नु भनेर ‘सीडीओ’ ले भन्नुभयो,” नेकपाका स्थानीय नेता रामशरण लामिछानेले भने, “नहरमाथि पुल थपिन्छ या कल्बर्ट बनाइन्छ, तर नहर बन्द गरेर झडपको स्थिति ल्याउन हुँदैन भनेर प्रशासनले स्थानीयलाई अनुरोध गरेको छ ।” पुलको मुखैमा रहेका नहरमा दिनहुँ सवारीले सास्ती खेप्दै आइरहेका छन् । “पुल हेर्दै नहर हुँदै खोला तर्नुपर्छ,” उनले भने, “बनेको संरचना पनि स्थानीयले उपभोग गर्न पाएनन् ।”
तत्कालीन अवस्थामा ठुटे खोलामा आफ्नो भूमि भन्दै भारतीय सीमा सुरक्षा बलले पुल बनाउन अवरोध गरेको थियो । ०६८ वैशाखमा बन्न थालेको पुल सात महिनापछि रोकिएको थियो । नेपाल भारतको संयुक्त सीमा सर्भे टोलीले २०७२ मा सर्वेक्षण गरी सीमा स्तम्भ राखेपछि पुल निर्माणको काम सुरु भएको थियो । २०७१ सालमा यही ठुटे खोलाको पानी नहरमार्फत लैजान पाउनुपर्ने भारतीय अडानका क्रममा झडप नै भएको थियो । खोलामा पानीको मुहान कम हँुदा भारतीयले नेपालले प्रयोग गर्दै आइरहेको नहरनै भत्काएर भारतर्फ पानी लैजाने प्रयास बर्सेनि गर्छन् ।
ठोरी गाउँपालिकाका अध्यक्ष पमदलाल श्रेष्ठले सामान्य विवादले पुल सञ्चालनमा आउन नसकेको बताउँछन् । “कुलो पुर्नपर्ने देखिन्छ, तर भारतले वर्षौंदेखि प्रयोग गर्दै आइरहेको पानी बन्द गर्दा ‘एक्सन’ मा आइहाल्छन्,” उनले भने, “नपुर्दा नेपालीलाई समस्या, पुर्दा भारतलाई समस्या पर्छ, कल्बर्ट बनाएरै पुल सञ्चालन गर्ने पक्षमा छौँ ।” उनका अनुसार ठुटे खोला नहरका विषयमा पछिल्लो समय तीन पटकसम्म छलफल भइसकेको छ । “पुल छिटै चलाउनुपर्छ भनेर ‘एक्सन’ मा जाने स्थिति छैन,” उनले भने, “कूटनीतिक पहल भइरहेको छ, समाधानको उपाय छिटै निस्कने छ ।” सडक विभागले २०६७ जेठ ४ गते अमर एण्ड मृत सञ्जीवनी निर्माण सेवा कम्पनीसँग ३० महिनामा निर्माण सक्ने गरी सम्झौता गरेको थियो । सो स्थानमा पुल निर्माण प्रक्रियाअघि बढाउन खोज्दा सुरुमा ‘सीमा विवाद’ ले रोकिन पुगेको थियो । करिब ६ करोड ९७ लाख खर्चेर पुल बनेको छ । यही वर्ष पुल हस्तान्तरण गर्ने लक्ष्य लिएको निर्माण कम्पनीले पुलको मुखैमा रहेका नहरलाई व्यवस्थापन गर्न चुनौती रहेको जनाउँदै आइरहेको छ । पुलको पूर्वतर्फको भाग ‘फिलिङ’ गर्नमात्रै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्