नेपालको पुँजी बजार केही वर्षमै अन्तर्राष्ट्रियस्तरको «

नेपालको पुँजी बजार केही वर्षमै अन्तर्राष्ट्रियस्तरको


नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपालको पुँजी बजारलाई केही वर्षमै अन्तर्राष्ट्रियस्तरको बनाउने बताएका छन् । धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा सुझाव लिन बोर्डले गरेको कार्यक्रममा बोल्दै उनले पुँजी बजारको विकासका लागि चार वर्षिय रणनीतिक योजना नै तर्जुमा गरी अगाडि बढेको र सबैको सहयोग पाएमा केही वर्षमै पुँजी बजारमा ठूलो संरचनात्मक परिवर्तन र सुधार भएर अन्तर्राष्ट्रियस्तरको बन्ने दावी गरे ।
कार्यक्रममा सरोकारवाला तथा विज्ञहरुले पुँजी बजारको विकास र विस्तारसँगै बोर्डले नियमनको दायरा र क्षमता बढाउनुपर्नेमा जोड दिए । सेयर बजारको विस्तारका लागि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन पनि बोर्डलाई सुझाव दिए ।
कार्यक्रममा बोल्दै बोर्डका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीले पुँजी बजारको विकास र विस्तारका लागि बैंकका सहायक कम्पनीलाई छिटो ब्रोकर लाइसेन्स दिन सुझाव दिए । उनले कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्जलाई अनुमति प्रदान गर्नुपर्ने, सूचीकृत कम्पनी बढाउन पहल गर्नुपर्ने, बजारको स्थायित्वमा जोड दिनुपर्ने, नेपाल स्टक एक्सचेञ्जले क्षमता बढाउनुपर्नेमा जोड दिए ।
प्रा.डा. राधेश्याम प्रधानले कम्प्लायन्सको पक्षलाई विशेष ध्यान दिँदै सूचिकृत कम्पनीको वित्तीय विवरणको व्यवस्था तथा प्रवाहको व्यवस्थामा जोड दिनुपर्ने बताए । यस्तै प्रा.डा. राजनबहादुर पौडेलले आधारभूत विश्लेषणका लागि तथ्यांकहरूको उपलब्धतामा सहजीकरण गर्नुपर्ने साथै बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको हुँदा प्रशिक्षणमा विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा डा. गोपाल भट्टले कमोडिटिज डेरिभेटिभ्स बजारको शिघ्र सञ्चालन गर्नुपर्ने, पुँजी बजारमार्फत् म्युनिसिपल बण्डको विकास तथा बजार कारोबारका लागि अध्ययन गर्नुपर्ने र हकप्रद शेयर निष्काशन तथा कारोबारका लागि छुट्टै व्यवस्था गर्नुपर्ने विषयमा उल्लेख गरे ।
बोर्डका पूर्वसदस्य बहादुर थापाले पुँजी बजारलाई राष्ट्रिय अर्थतन्त्र एवं अन्तर्राष्ट्रिय बजारसँग आवद्ध हुने गरी विकास गर्नुपर्ने, लगानीको औजारको विविधिकरण गर्नुपर्ने, ऋणपत्र बजारको विकास गर्नुपर्ने, बजारको गहिराइ बढेअनुसार दायरा बढाउनुपर्ने सुझाव दिए । अर्का वक्ता डा. केशव श्रेष्ठले बोर्डले आफ्नो नियमन संरचनालाई सुदृढ बनाउनुपर्ने, बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताहरूलाई बजारबाट विकर्षण हुन नदिनुपर्ने र प्रिआईपीओको व्यवस्था शिघ्र गर्नुपर्नेमा जोड दिए ।
स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बजारको पहुँच विस्तारका लागि आधिकारिक प्रतिनिधिको व्यवस्था शिघ्र गर्नुपर्ने बताए । उनले धितोपत्र दलाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्दा निश्चित प्रतिशत सेयर सार्वजनिक निष्काशन गर्न दिनुपर्ने तथा ऋणपत्र बजारको विकास गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्