फालिएको प्लास्टिक जम्मा गरी पिरा बुन्दै इन्द्रमाया «

फालिएको प्लास्टिक जम्मा गरी पिरा बुन्दै इन्द्रमाया

तेह्रथुम- बजार तथा गाउँघरमा फालिएको प्लास्टिक देख्ने बित्तिक्कै जम्मा गर्छिन् ईन्द्रमाया रोक्का । छथर गाउँपालिका–२ हमरजुङ सार्कीगाउँकी रोक्का उमेरले ५० वर्ष नाघिसकेकी छन् । फुर्सदको समय यस्तै प्लास्टिक भेला पार्नु उनका लागि नौलो कुरा भने होइन ।
घरको कामसँगै बचेको समयमा भेला पारेको फालिएका प्लास्टिकलाई पिरा बुन्दै आएका छन । आर्थिक रूपमा विपन्न परिवारकी उनी हातमुख जोड्न अर्मपर्मसँगै रमाउँदै आएका छन् । अरुले कुल्चेर हिँडेको वस्तु जम्मा पारेर उनले मनग्ये आम्दानी लिँदै आएका छिन् । चाउचाउ, बिस्कुटलगायतका विभिन्न खाद्य सामग्री प्रयोग गरी फालिएका प्लास्टिकबाट आकर्षक राम्रा तथा बलियो पिरा रोक्काले बुन्ने गरेकी छन । उनले न्यूनतम् १ सय ५० देखि २ सय रुपैयाँसम्म एउटा बिक्री गर्ने गरेको बताउँछिन् ।
उनले बुनेको पिरा बिक्रीबाट घरखर्च चलाउने गरेकी छन् । मेहेनत गर्न सके र हातमा सीप भए आफ्नै आँखा अगाडि आम्दानी हुने स्रोत प्रशस्त रहेको रोक्का बताउँछिन् । उनीसँगै उनकी माइली छोरी सावित्रा पनि पिरा बुन्न जान्ने भइसकेकी छन । शैक्षिक, सामाजिक, नैतिक तथा आर्थिक रूपमा विपन्न बस्तीकी रोक्काले फालिएको प्लास्टिकबाटै आम्दानी लिँदा उनका छिमेकी दंग छन् । बजारको अभाव छैन । ग्राहकले चाहेजति उत्पादन गर्न सकेकै छैन उनी भन्छिन् । उत्पादन गर्न सके राम्रो आम्दानी लिन सकिने भए पनि घरको कामसँगै ब्यवहारले गर्दा चाहेजस्तो उत्पादन गर्न नसेको उनी बताउँछिन् । आफूले बुनेको पिरा बेचेरै नुनतेल चामल जुटाउने गरेकी छन् । उनले उत्पादन गरेको पिरा बलियो र धेरै समयसम्म खप्ने ग्राहकले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्