‘निषेधाज्ञा अवज्ञा गर्दै लामो दूरीका बस सञ्चालन गर्छौं’ «

‘निषेधाज्ञा अवज्ञा गर्दै लामो दूरीका बस सञ्चालन गर्छौं’


निषेधाज्ञाकै अवस्थामा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले लामो दूरीका यात्रुबाहक सवारीसाधन (बस) सञ्चालन गर्ने चेतावनी दिएको छ ।कम्पनीले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी आफ्ना मजदुरको रोजीरोटी र व्यवसायको प्रवद्र्धन गर्न बाध्य भएर सवारी साधन सञ्चालन गर्न लागेको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।

उनले भने, “यो निर्णय हाम्रो कुनै रहरले नभई दैनिक रोजीरोटीको व्यवस्था गर्न गरिएको अप्रिय निर्णय हो, यसपालि हाम्रा मजदुरले कसैबाट राहत पाउन सकेनन् ।” आफ्नो कारणले मात्र कोरोना संक्रमण नबढ्ने दाबी गरेका अध्यक्ष केसीले ७२ सिटे हवाईजहाजमा कोरोना नसर्ने, निजी सवारी साधनमा कोरोना नसर्ने तर कालो प्लेटका सवारी साधनमा मात्र कोरोना सर्ने यो कस्तो बुझाइ हो भन्दै सरकारप्रति प्रश्नसमेत गरेका छन् ।

सरकारको नियमविपरीत तपाईंहरू जादै हुनुहुन्छ सरकारले पक्राउ गरे के गर्नु हुन्छ भन्ने प्रश्नमा आफूहरूले सहज ढंगले गिरफ्तारी दिन तयार रहेको केसीले जनाए । आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी आफूहरूले प्रशासन, गण्डकी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएर सवारीसाधन सञ्चालन गर्ने उनले जनाए । असार ३० बाटै टिकट काउण्टर खुल्ला गरिने र यदि प्रशासनले आफूहरूलाई कुनै सीमित सवारी साधन सञ्चालनको अनुमति दिएमा त्यसको आधारमा आफूहरूले सवारी साधन सञ्चालन गर्ने अन्यथा अब सवारी साधन घर ग्यारेज गरेर बस्न सक्ने अवस्था नरहेको अध्यक्ष केसीले जनाए ।


कम्पनीमा हाल करिब १ हजार ४ सय वटा विभिन्न प्रकारका लामो तथा छोटो दूरीमा सञ्चालन हुने सवारी साधन रहेको उनले जनाए । कम्पनीमा हाल ७ हजार २ सयजसो मजदुर, व्यवसायी र कर्मचारी रहेको कम्पनीको दाबी छ । दोस्रो लहरको कोरोनाका कारणले गर्दा करिब १० प्रतिशत जसो व्यवसायी पलायन भएको अध्यक्ष केसीले दाबी गरे । उनले भने, “अझै व्यवसायी पलायन हुने अवस्था आउन सक्छ, अधिकांश व्यवसाय तथा मजदुर बाध्यकारी रूपमा पेसा परिवर्तन गरी निर्माण कार्यमा लाग्न थालेका छन् ।”


बैंक तथा वित्तीय संस्थाले दैनिक रूपमा व्यवसायीलाई आतंकित बनाएको केसीले जनाए । बिमा कम्पनीले लकडाउनमा छुट नदिएको उनको गुनासो थियो । राज्यले मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्दा कोरोना संक्रमण बढ्छ भन्ने तथ्यगत आधारबिना पेसा व्यवसायमा रोक लगाउनु न्यायसंगत नभएको अध्यक्ष केसीको दाबी छ । सुदूरपश्चिम र दाङमा लामो दूरीका सवारीसाधन सञ्चालन भएको बताउँदै उनले यस क्षेत्रमा सवारी साधन सञ्चालन गर्न अनुमति दिनुपर्ने माग गरे । पेटा«ेलिय पदार्थको मूल्य वृद्धि भएकाले त्यसको आधारमा राज्यले समयमै भाडा समायोजन समेन नगर्दा आफूहरू मर्कामा परेको केसीले जनाए । यातायाता मजदुरलाई राज्यले कोरोनाविरुद्धको खोप लगाउने विषयमा कुनै वास्ता नगरेको व्यवसायीले गुनासो गरे ।
दोसो चरणको कोरोना संक्रमणका कारण वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा कास्कीमा अझै जारी भएकाले बजारमा धेरै क्षेत्र खुल्ला भएको अवस्थामा अब लामो दूरीका सवारी साधनलाई समेत खुल्ला गर्नुपर्ने कम्पनीका संस्थापक अध्यक्ष ऐनकुमार शाहीले बताए ।
यसैबीच, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले यदि कसैले कास्कीमा निषेधाज्ञा अवज्ञा गर्दै सवारी साधन सञ्चालन गरेमा पक्राउ गरी कारबाही गर्ने चेतावनी दिएका छन् । कास्कीमा आउँदो साउन ५ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्