मलका लागि गड्यौला खेती «

मलका लागि गड्यौला खेती

दाङ- मलका लागि दाङमा गड्यौला खेती सुरु गरिएको छ । गढवा गाउँपालिका–५ धर्मापुरका महिला कृषकले गड्यौला खेती सुरु गरेका हुन् ।
स्थानीय सिर्जना चौधरी र देशनी चौधरीले विगत केही सयमदेखि मल उत्पादनका लागि भनेर गाउँमै गड्यौला खेती गर्दै आएका छन् । चितवनबाट गड्यौला लिएर खेती नै गरेको उनीहरूले बताए । प्राङ्गारिक मल उत्पादनका लागि गड्यौला खेती गरेको कृषक सिर्जना चौधरीले बताइन । “मंसिरमा चितवनबाट गड्यौला ल्याएर राखेका हौं गड्यौला ठूलो हुँदै गएको छ,” उनले भनिन् । अब केही समयपछि यसले मल दिनेछ । उनले २ हजार ५ सय किलो गड्यौला किनेर
ल्याएको समेत बताइन् । “गड््ययौला महँगो छ । त्यही पनि हामीले सुरुवात गरेका छौं,” उनले भनिन् । बारीमै उनले घरले छाएको टहरो बनाएर गड्यौला पालेका छन् । कुहिएर खेर जाने वस्तु गड्यौलालाई खुवाएर मल बनाउने उनले बताइन् ।
जहाँतहीँ फालिएका कुहिएर खेर जाने वस्तु संकलन गरेर उनले गड्यौलालाई खुवाउने गर्छिन् । त्यही फोहोरबाट उनले मोहोर बनाउने योजना सुनाइन् । त्यसैगरी देशनी चौधरीको पनि सपना उनको जस्तै छ । “यो हाम्रो लागि नयाँ अभ्यास हो । काम थालेका छौ,” उनले भनिन्, “पछि राम्रो नै होला ।” उनीहरूले त्यो ठाउँमा तरकारी खेतीसमेत गर्दै आएका छन् । उनीहरूले त्यहाँ टमाटर,खुर्सानी, भान्टा, आलु र अन्य तकारीरु गर्दै आएका छन् । खेती गर्नका लागि स्वानसंस्थाले सहयोग गर्दै आएको छ ।
पछाडि पारिएका महिलाको आर्थिक,सामाजिक तथा सास्कृतिक अधिकार प्रवद्र्धनका लागि संस्थाले विगतदेखि नै काम गर्दै आएको छ । उनीहरूका लागि संस्थाले आर्थिकसँगै, बीउबिजन र प्राविधिकसहयोग गर्दै आएको संस्थाका कार्यक्रम संयोजक रेमन्त चौधरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्