Logo

महाकाली राजमार्ग रिसोलिङमा ढिलाइ

डडेल्धुरा-सुदूरपश्चिमको पहाडी जिल्लाको प्रमुख राजमार्ग महाकाली राजमार्गको रिसोलिङ गर्ने काम सम्झौता भएको ६ महिनामा सम्पन्न गर्नुपर्ने भए पनि दुई वर्ष बितिसक्दा समेत ठेकेदारको लापरबाहीका कारण सम्पन्न हुन सकेको छैन । समयमै काम सम्पन्न नहुँदा एकातर्फ सडक जीर्ण बन्दै गएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाको मेरुदण्डका रूपमा रहेको महाकाली राजमार्गलाई रिसोल अर्थात् मर्मत गर्न ठेक्का भएको दुई वर्ष बित्न लाग्दासम्म काम सम्पन्न भएको छैन । ठेक्का भएको ६ महिनाभित्र रिसोल गरिसक्नु पर्ने भए पनि निर्माण व्यवसायीको लापरबाहीका कारण रिसोल हुन नसकेको हो ।
२०७३ साल माघ महिनामा सम्झौता भई ६ महिनाभित्र महाकाली राजमार्गको कैलालीको गोदावरी नजिकदेखि कैलालीकै फल्टुडेसम्मको ३९ किमि सडक रिसोल गर्नुपर्ने सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम सम्पन्न भएको छैन । सडकको आयु बढाउनका लागि रिसोल गर्ने गरिन्छ । काम गर्नका लागि निर्माण व्यवसायीलाई पाँच पटकसम्म पत्राचार गर्दा पनि अटेरी गरिरहेको डिभिजन सडक कार्यालय कञ्चनपुरका निमित्त प्रमुख इन्जिनियर खगेन्द्रबहादुर शाहीले बताए । ठेकेदारले समयमै काम नगर्नाले अन्य विकासका काममा समेत असर पुगेको शाहीको भनाइ छ । पटकपटक पत्र काटेर फोन गर्दासमेत फोन पनि नउठाउने राजनीतिक पावरका भरमा ठेक्क गर्ने परिपाटिले समस्या आएको इन्जिनियर मोहन हमालले जानकारी दिए । २ करोडभन्दा बढी रुपैयाँ मोबिलाइजेसन भनेर लिएको पैसा अर्को ठेक्कामा लगानी गर्ने समेत हमालले जानकारी दिए ।
उक्त महाकाली राजमार्ग अन्तर्गतको ठेक्का राजेन्द्र, केएस र आशीष जेभीले निर्माण गर्ने जिम्मेवारी पाएका आशीष निर्माणका प्रोप्राइटर टेकबहादुर सेटीको दबाबले हालसम्म पनि रिसोलको कामले गति नलिएको कार्यालय स्रोतले जनाएको छ ।
डिभिजन सडक कार्यालयको मूल्य अभिवृद्धि करसहितको कुल रकम ७ करोड ११ लाख रुपैयाँभन्दा बढीको लागतमा रिसोल गर्नका लागि राजेन्द्र, केएस र आशीष जेभीले निर्माण गर्ने जिम्मेवारी पाएको थियो । म्याद थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको भए पनि सडक विभागले म्याद थप गरेको छैन । निर्माण व्यवसायीले २ करोडभन्दा बढी रुपैयाँ मोबिलाइजेसनका रूपमा लगिसकेका छन् । समयमै रिसोल अर्थात् मर्मत नहुँदा सडक जीर्ण बन्दै गएको छ । महाकाली राजमार्ग अन्तर्गत सडकमा दैनिक हजारांै यातायातका सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्