सुवर्ण अवसर गुमाउँदै बिदा भयो ओली सरकार «

सुवर्ण अवसर गुमाउँदै बिदा भयो ओली सरकार

२०७४ साल फागुनमा दोस्रो पटक सरकार नेतृत्वमा आएका प्रधानमन्त्री केपी शर्मा ओली जसरी चुनावमा एकाएक शक्तिशाली भएर उदाएका थिए, त्यसैगरी बिदाइ हुन सकेनन् । नेपालको इतिहासमा नै सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रूपमा उदाएका प्रधानमन्त्री ओलीको बहिर्गमन सुखद त रहेन नै, सर्वोच्च अदालतको निर्णयबाट उनले संविधान नमानेको तथा उल्लंघन गर्न खोजेको प्रमाणित भएका कारण संविधानविरोधीको उपमाका साथ उनी बालुवाटारबाट बिदा हुँदै गर्दा उनको नेतृत्वको सरकारले विगत तीन वर्ष चार महिनामा उनका धेरै निर्णय विवादित तथा शंकाको घेरामा परे । सरकार निर्माणको समयदेखि नै असन्तुष्ट आफ्नै राजनीतिक दलको माधवकुमार नेपाल खेमा तथा पछि एकीकरण भएर आएको पुष्पकमल दाहाल नेतृत्वको अर्को खेमालाई उनले पेलेरै जाने नीति लिएका कारण आज उनको सत्ता बहिर्गमन निर्धारित नै थियो ।
उनले सरकार बनाउने क्रममा नै हालका अर्थमन्त्री विष्णु पौडेल वा सुरेन्द्र पाण्डेमध्ये एकलाई अर्थमन्त्री बनाएको भए सत्ताधारी राजनीतिक दलको घर झगडाको पासोमा नेपाल मुलुक तथा नेपाली नागरिकको भविष्य बन्धक बन्ने थिएन । उनले भलै यसलाई नमान्न सक्छन् तर सत्तारुढ राजनीतिक दल तत्कालीन नेकपा (नेकपा)को घर झगडा अर्थमन्त्रीकै कारण सुरु भएको हो, जसका कारण आज उनको बहिर्गमन सुखद त भएन नैै, मुलुकको अर्थतन्त्र पनि उनले आफू सत्तामा आएका बखतभन्दा झन् खराब स्थितिमा छोडेर जाँदै छन् । उनको कार्यकालमा लगातार चारवटा बजेट आए, तर कुनै पनि बजेट कार्यान्वयन हुन सकेनन् । उनको कार्यकालमा कुनै पनि वर्ष आर्थिक वृद्धि उनीभन्दा अगाडिको जति पुग्नै सकेन । यतिमात्रै होइन, हरेक आर्थिक वर्षमा मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाइयो, राजस्वको लक्ष्य घटाइयो र बजेट खर्चको अनुमान पनि घटाइयो । बजेटको आकार ठूलोभन्दा पनि कार्यान्वयनमूलक बजेट ल्याएर मुलुकलाई समृद्धिको मार्गमा लाने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सुवर्ण अवसर थियो । तर, उनले अनावश्यक र अनुत्पादक कार्यमा आफ्नो समय खेर फाले, जसका कारण नेपालले आफ्नो महत्वपूर्ण चार वर्षको अवधि गुमायो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल सम्हाल्दै गर्दा मुलुकको आर्थिक वृद्धिदर ८.५९ प्रतिशत थियो । तर, उनले कार्यकाल सम्हालेपछिको आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७.३७ प्रतिशतमा झ¥यो । यसैगरी आर्थिक वर्ष २०७५-०७६ मा आर्थिक वृद्धिदर ६.३९ प्रतिशतमा झ¥यो भने त्यसपछिको आर्थिक वर्षमा कोरोनाको संकट नआएको भए पनि विभिन्न विकास साझेदारका प्रतिवेदनमा ४ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने प्रक्षेपण थियो भने कोरोनाका कारण आर्थिक वृद्धिदर खुम्चिएर नकारात्मक नै भयो । आर्थिक वर्ष २०७६-०७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक भयो । चालू आवमा पनि अर्थतन्त्रले धेरै ठूलो वृद्धि गर्ने छाँट छैन । भलै कोरोनाका कारण अर्थतन्त्र शिथिल भएको बताइए पनि प्रधानमन्त्री ओलीको सरकारले कोरोनाद्वारा प्रभावित उद्योग व्यवसाय तथा रोजगारी त बचाउन सकेन नै, बेलैमा खोप ल्याएर नेपाली नागरिकको जीवन पनि बचाउन सकेन ।
कोरोनाको पहिलो लहरबाट पाठ सिकेर नागरिकको जीवन तथा जीविका बचाउने कुरामा गम्भीर नहुँदा सोमबारसम्ममा ९ हजार ४ सय नेपाली नागरिकको कोरोनाका कारण मृत्यु भएको छ । दोस्रो लहरमा सरकारले धेरै प्रकारले आफ्ना नागरिक बचाउन सक्थ्यो, तर सरकारले नाफा तथा कमिसनको मोहमा आफूले पनि खोप किन्न सकेन र निजी क्षेत्रलाई किन्न पनि प्रोत्साहन गर्न सकेन । कोरोना अन्य गरिबी तथा अल्पविकसित मुलुकमा झैं ओली सरकारलाई पनि आफ्नो सत्ता लम्ब्याउने तथा कमिसन कमाउने अवसर भयो । सरकारको आफ्नो राजनीतिक दलभित्रको घर झगडा तथा अस्तव्यस्तताका कारण धेरै नेपाली नागरिकले मृत्युवरण गर्नुपरेको तथ्य बालुवाटारमा सायदै कसैले प्रधानमन्त्रीलाई संझाए होलान् । तर, इतिहासमा प्रधानमन्त्री केपी ओलीका कारण अर्थतन्त्र उठ्न नसकेको मात्रै होइन, नागरिकको जीवन तथा जीविका पनि बचाउन नसकेको दाग लागेर उनी बिदा हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्