ग्वार्को चोकमा नेपालको पहिलो फ्लाइओभर निर्माणको प्रक्रिया सुरु «

ग्वार्को चोकमा नेपालको पहिलो फ्लाइओभर निर्माणको प्रक्रिया सुरु

ग्वार्को चोकमा नेपालको पहिलो फ्लाइओभर बन्ने भएको छ । ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि सरकारले सोमबार ठेक्का आह्वान गरेसँगै फ्लाइआभर निर्माण हुने भएको हो ।
सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने योजनाअनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो । यी तीन चोकमध्ये पहिलो चरणमा ग्वार्को चोकको फ्लाइओभरमा विकास केन्द्र जुटेको केन्द्रले जनाएको छ ।
सवारीको चाप यो क्षेत्रमा बढी देखिएकाले तत्काल यो क्षेत्रको सवारी व्यवस्थापन गर्नका लागि ग्वार्को चोकको फ्लाइओभर निर्माण विकास केन्द्रको भनाइ छ । यसै आर्थिक वर्षभित्र ठेक्का आह्वान गरी निर्माण थाल्ने गरी केन्द्रले बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयसँग माग गरेको थियो । केन्द्रले रिङरोडको सवारीको चापलाई व्यवस्थापन गर्दै (रिङरोड फ्री) बनाउने अभियान स्वरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर सुरु गर्न लागिएको विकास केन्द्रका प्रमुख विजय जैशीले बताए । उनले भने, “रिङरोडमा ट्राफिक जाम नहोस् र सवारी कतै रोकिनु नपर्ने गरी ट्राफिक फ्रि सडक बनाउन लागेका हौं ।”
यो फ्लाइओभर निर्माणसँगै एकान्तकुना, सातदोबाटोमा पनि फ्लाइओभर निर्माण गर्दै रिङरोड (कलंकी–कोटेश्वरसम्म)लाई सवारीका चापमुक्त गरी ट्राफिक फ्रि जोन बनाउने केन्द्रको तयारी रहेको छ ।
यसका लागि जियोकम-बीडीए-रेज जेभीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको हो । विकास केन्द्रले सो क्षेत्रमा ग्रेड सेपरेटेड इन्टरसेक्सनको डिजाइन गर्दा अन्डरपास र फ्लाइओभर दुवै बनाउन सक्ने गरी डिजाइन तयार गरेको थियो । अन्डर पास वा फ्लाइओभर निर्माण पूरा भएसँगै यो क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहजता आउने केन्द्रको विश्वास छ ।
तर, केन्द्रले ग्वार्कोमा ३३ करोड रुपैयाँको लागतमा फ्लाइओभर बनाउने निर्णय गरी अर्थ मन्त्रालयबाट प्राप्त बजेटको आधारमा ठेक्का आह्वान गरेको जनाएको छ । मेकानिइकल्ली स्टेवलाइज अर्थ (एमएसी) वालको प्रयोग गरी पिल्लर निर्माण गरेर ६ मिटर उचाइको फ्लाइओभर तयार गरिने छ । “फ्लाइओभरको लम्बाइ कुल करिब ४५० मिटर हुनेछ भने, केन्द्रले इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडेलमा ठेक्का आह्वान गरेको हो,” केन्द्रका प्रमुख जैशीले भने, “२ वर्षभित्र निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गर्नुपर्छ साथै डिजाइनदेखि निर्माणको सबै उत्तरदायित्व निर्माण कम्पनीकै हुन्छ ।”
हाल रिङरोडमा रहेको ८ लेनमध्ये ४ लेनलाई उठाएर रिङरोडमा फ्लाइओभर निर्माण गरी रिङरोडको ट्राफिकलाई निरन्तर बहन सक्ने बनाइने छ । जसअनुसार सो फ्लाइओभरले कलंकी–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभरपासको सडक खण्डबाट गुड्ने छन् । विकास केन्द्रले चक्रपथको कलंकी–अतिव्यस्त सवारी चाप रहेको सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने प्रकृया अगाडि बढाएको छ ।
आर्थिक वर्ष ०७८÷७९ मा नै सातदोबाटो र एकान्तकुनामा सवारी व्यवस्थापनका लागि प्रक्रृया थाल्ने उल्लेख छ । सोही व्यवस्थाअनुसार अर्को महिना कार्यान्वयनका लागि ठेक्का आह्वान गर्ने केन्द्रको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्