‘कार्गो हाउस’ निर्माण सुरु «

‘कार्गो हाउस’ निर्माण सुरु

भैरहवा-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै आयात तथा निर्यात गर्दा आउने सामान तथा वस्तु राख्ने प्रयोजनका लागि कार्गो हाउस (गोदाम घर) निर्माणकार्य सुरु भएको छ ।
विमानस्थलको महत्वपूर्ण संरचना मानिने कार्गो हाउस निर्माणकार्य मंगलबारबाट सुरु भएको हो । गोदाम घरको शिलान्यास गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले तोकिएकै समयभित्र निर्माण सम्पन्न हुने बताए । “नेपालकै प्रतिष्ठित निर्माण कम्पनीले जिम्मा लिएको छ, तोकिएको समय २ वर्षभन्दा पनि ४ महिनाअघि नै सम्पन्न गरी उहाँहरूले बोनससमेत प्राप्त गर्नेमा विश्वस्त छु,” मन्त्री अधिकारीले भने । मन्त्री अधिकारीले विमानस्थलको अन्य काम पनि तीव्र गतिमा भइरहेको र तोकिएकै समय २०१९ जुन २८ भित्रै सम्पन्न भई सेप्टेम्बरबाटै उडान सञ्चालनको तयारीमा रहेकोे बताए । यो विमानस्थल सञ्चालनमा आएपछि नेपालकै मुख्य पर्यटन गन्तब्य लुम्बिनी क्षेत्र हुने भन्दै अहिलेदेखि नै थाइल्याण्ड, श्रीलंका, बर्मा, भियतनाम, कम्बोडिया लगायतका देशले भैरहवाको विमानस्थलमा उडान भर्न इच्छुक रहेको र केहीले निवेदनसमेत दिएको मन्त्री अधिकारीले बताए । मन्त्री अधिकारीले विमानस्थल सञ्चालन हुनु अगावै जग्गा अधिग्रहणमा परेका सबैले मुआब्जा पाइसक्ने बताए ।
उनले गौतमबुद्ध विमानस्थल नेपालको इतिहासमा ६० वर्षपछि अन्तर्राष्ट्रिय उडान भर्ने दोस्रो विमानस्थल हुने बताउँदै विमानस्थल सञ्चालनको महत्वपूर्ण काममध्येको एअर सर्भिस एग्रिमेन्ट भइसकेको जनाए ।
कार्गो हाउस निर्माणको जिम्मा एमएस शर्मा–लुम्बिनी गजुरमुखी जेभीले पाएको छ । २ वर्षभित्र अर्थात् २०७७ मंसिर १२ गतेसम्म निर्माणकार्य सक्नुपर्ने सम्झौता रहेको र तोकिएको समयभित्रै निर्माण सम्पन्न हुने एमएस शर्मा लुम्बिनीका प्रबन्ध निर्देशक माधव शर्माले बताए । कुल ८० हजार वर्ग फिट क्षेत्रफलमा बन्ने कार्गो हाउसमा २५ हजार वर्गफिटका २ भवनमा आयात र निर्यात गर्ने वस्तु तथा सामान राख्ने प्रयोजनका लागि निर्माण हुनेछ भने ३० हजार वर्गफिट क्षेत्रफलमा कार्गो हाउसको कार्यालय बन्ने छ ।
प्रथम चरणमा विमानस्थलको निर्माणकार्य सकिएपछि दोस्रो चरणको निर्माणका क्रममा कार्गो लिएर आउने जहाजलाई कार्गो हाउससम्मै पुग्ने गरी निर्माण हुनेसमेत बताइएको छ । कार्गो हाउस निर्माणका लागि भने नेपाल सरकारको ९० करोड ३६ लाख रुपैयाँ खर्च हुनेछ । विमानस्थल भने एडीबीको ऋण सहयोगमा निर्माण भइरहेको छ ।
कार्गो हाउस निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि पुरानो भवनबाट काम सञ्चालन हुने बताइएको छ ।
विमानस्थलको अहिलेसम्म ६० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए । अधिकारीका अनुसार अब भौतिक निर्माणको काम २० प्रतिशतभन्दा कम रहेको र बाँकी काम विद्युतीय उपकरण ल्याएर जडान गर्ने लगायतका छन । ति भनेको भवन, रनवे तयार भएपछि १ महिनाभित्रै जडान गर्न सकिने खालको रहेकोले तोकिएको निर्धारित मिति २०१९ जुन २८ भित्रै निर्माण सम्पन्न हुने बताए । अधिकारीले रनवेको पहिलो चरणको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको, बाकी २ तहको काम छिटै सुरु हुने, त्यसका लागि २ वटा अस्फाल्ट प्लान्ट जडान गरिएको बताए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको अहिलेसम्म ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । सन २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिए पनि अहिलेसम्म २ पटक म्याद थप भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्