मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट आज «

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट आज

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज (सोमबार) बाँडफाँट हुने भएको छ ।मनकामना स्मार्टको आईपीओ सोमबार धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाडौं नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा हुने भएको हो । मनकामना स्मार्ट लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमा ०.५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कासनको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् । धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यो आईपीओमा २० लाख ३६ हजार २४५ आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ५० कित्ताका लागि खरिद आवेदन परेको छ । जुन मागभन्दा ७३ गुणा बढीले बढी आवेदन हो । यो हिसाबले आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।

जसअनुसार ३६ हजार ३४९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् । तीमध्ये १० कित्ताभन्दा बढी आवेदनमध्येबाट गोलाप्रथाबाट २ दुई जनाले थप १÷१ कित्ता सेयर पाउनेछन् । यो आईपीओमा झन्डै २० लाख आवेदकको हात खाली हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्