फनपार्कमा मिनी रेल सञ्चालन «

फनपार्कमा मिनी रेल सञ्चालन

विराटनगर-मोरङको कटहरी गाउँपालिका २ स्थित गोपाल फनपार्कले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी मिनी रेल सञ्चालनमा ल्याएको छ । विराटनगरसँगै जोडिएको कटहरीस्थित फनपार्कमा पर्यटकको चाप बढेसँगै थप सेवा विस्तार गरेको सञ्चालक शम्भु कामतले बताए । गत वर्ष पुसदेखि सञ्चालनमा आएको फनपार्कमा आन्तरिकसहित भारतीय पर्यटकसमेत आउने गरेका छन् । २५ लाख रुपैयाँको लगानीमा फनपार्कले मिनी रेल सञ्चालनमा आएको उनले बताए । ४ डिब्बा छ रेलमा जसमा २० जना अट्छन् ।
आगामी दिनमा थप डिब्बा थप्ने योजना सञ्चालकको छ । हाल करिब १ किलोमिटर दूरीमा सञ्चालनमा रहेको रेललाई फनपार्क वरिपरि कुदाउने लक्ष्य रहेको कामतले बताए । फनपार्कले १३ बिघा क्षेत्रफल ओगटेको छ । गत वर्ष पुसदेखि सञ्चालनमा आएको पार्कमा २ करोड लगानी भएको उनले बताए ।
पछिल्लो समय आमनेपालीमा घुम्ने बानीको विकास हुँदै गएको छ । जसका कारण आन्तरिक पर्यटनको विकासमा ठूलो टेवा पुग्न थालेको छ । आन्तरिक पर्यटकको वृद्धिसँगै व्यवसायीहरूले पर्यटन क्षेत्रको लगानीलाई थप विस्तार गर्न थालेका छन् ।
विराटनगर–रंगेली रोडसँगै जोडिएको फनपार्कमा एक वर्षमा २५ हजारले अवलोकन गरेको उनले बताए । जसमा २० हजार आन्तरिक र ५ हजार भारतीय पर्यटक आएका थिए । प्रदेश–१ का धेरैजसो मानिसले अझै पनि रेल देखेका छैनन् । “रेल नदेखेकाहरूका लागि झनै फनपार्कको रेलले आकर्षित गर्नेछ,” कामतले थपे, “सबै उमेर समूहका मानिस चढ्न मिल्ने भएकाले पनि रेल चढ्न आउने पर्यटक बढ्ने विश्वास लिएका छौं ।” मिनी रेल सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको आकर्षण बढ्ने सञ्चालक कामतको भनाइ छ । सबै रेलको संरचना एउटै हुने बताउँदै उनले विराटनगरसहित आसपासका पर्यटकका लागि फनपार्क आकर्षणको केन्द्र बन्ने दाबी गरे ।
डिजलबाट चल्ने मिनी रेलमा ५ वर्षभन्दा मुनिका बालबालिकालाई शुल्क नलाग्ने सञ्चालक कामतले जानकारी दिए । ५ देखि १२ वर्ष उमेरका पर्यटकलाई ५० रुपैयाँ र त्यसभन्दा बढी उमेर भएका पर्यटकका लागि १ सय रुपैयाँ शुल्क तोकिएको छ । हाल इञ्जिनसहित चार डिब्बाबाट सुरु भएको मिनी रेलको क्षमता विस्तार गर्दै लगिने सञ्चालकको भनाइ छ । फनपार्कमा बोटिङ, एड्भेन्चर, कमाण्डो नेट, मिक्कीमाउस, जम्पिङ, चिप्लेटी, पिङ, चक्ली, पार्टी प्यालेस, सेमिनार हललगायतका सुविधाहरू उपलब्ध छन् । एडभेन्चरलाई साहसिक खेलका रुपमा लिइन्छ । २ मिनेटभित्र डोरीमा समाएर तोकिएको दूरी पूरा गर्ने पर्यटकलाई फनपार्कले नै ५ हजार नगद पुरस्कार प्रदान गर्नेछ ।
फनपार्कले रेलसहित थप सेवा विस्तार गर्दै लगेको छ । हाल अन्य भौतिक संरचनाको निर्माण पनि धमाधम भइरहेको छ । वनभोजका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको छ फनपार्क । वनभोजका लागि एकैपटकमा १ हजार २ सय व्यक्ति अट्ने क्षमता रहेको सञ्चालक कामतले बताए । सीमावर्ती भारतीय पर्यटकलाई समेत लक्षित गरी निर्माण गरिएको फनपार्कमा हरेक दिन पर्यटकको चाप बढ्दै गएको उनको भनाइ छ । “सरकारले आर्थिक विकासको प्रमुख क्षेत्रका रुपमा पर्यटनलाई लिँदै आएको छ,” कामतले भने, “तर, पर्यटन क्षेत्रका लागि राज्यस्तरबाट कुनै सुविधा प्राप्त भएको छैन ।” पछिल्लो समय विराटनगरसहित आसपासका क्षेत्रमा पर्यटन क्षेत्रमा निजी लगानी थपिँदै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्