‘जिबिजिबिज फेस्ट’ शनिबार «

‘जिबिजिबिज फेस्ट’ शनिबार

काठमाडौं- नेपालका प्रविधि व्यवसायीहरूको समूह, गुगलबिजनेस ग्रुप काठमाडौंले शनिबार नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला जिबिजिबिज फेस्ट आयोजना गर्ने भएको छ । जिबिजिबिज फेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यवसायसम्बन्धी प्रदर्शनी हो । खल्ती डिजिटल वालेटसँगको मुख्य सहकार्यमा गर्न लागिएको यसमेलाको उद्देश्य देशभरबाट नवउद्यमीहरू र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्नेछ । यस कार्यक्रममा विशेष गरी नेपालका सबैभन्दा लोकप्रिय एन्ड्रोइड एप्सका डेभलपरहरू र प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
गुगल बिजनेस ग्रुपका ठमाडौंका प्रवन्धक अमित अग्रवालका अनुसार जिबिजिबिज फेस्ट विश्वका विभिन्न देशहरूमा वार्षिक रूपमा आयोजना हुने कार्यक्रम हो । मेलामा देशभरका सयभन्दा बढी स्टार्टअपहरू र एप डेभलपरहरूले आफ्नो उत्पादन र सेवाहरूको प्रदर्शन गर्ने अपेक्षा आयोजकको छ । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक ३ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।
कार्यक्रममा विशेषज्ञहरूले गुगलका विभिन्न नयाँ–नयाँ प्रविधिहरूसम्बन्धी कार्यशाला प्रस्तुत गर्नेछन् । साथै, प्रदर्शनीमा ‘गुगलमाई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहनेछ । प्रदर्शनीमा सहभागी स्टार्टअपहरूले उक्त स्टलमार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगलबिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् । उक्त निर्देशिकामा सूचीकृत भएपश्चात ग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यवसायहरू गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ । यस कार्यक्रमले स्टार्टअपहरूको प्रवद्र्धन र विकासमा टेवापु¥याउने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्