कर्णालीका ८० प्रतिशत स्थानीय तहमा बैंकिङ पहुँच «

कर्णालीका ८० प्रतिशत स्थानीय तहमा बैंकिङ पहुँच

भौतिक पूर्वाधार र सुरक्षा प्रबन्ध अभाव, भौगोलिक विकटता तथा सञ्चारको पहुँच नभएकै कारण बाँकी २० प्रतिशत स्थानीय तहमा बैंक विस्तार हुन नसकेको हो ।

जुम्ला-कर्णालीका ८० प्रतिशत स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । नगरपालिका र गाउँपालिका गरी कर्णालीमा जम्मा ७९ वटा स्थानीय तह छन् । जसमध्ये ६२ वटा स्थानीय तहमा बैंकिङ सेवा पुगेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । १७ वटा स्थानीय तहमा भने अझै बैंक पुग्न बाँकी छ । भौतिक पूर्वाधार र सुरक्षा प्रबन्ध अभाव, भौगोलिक विकटता तथा सञ्चारको पहुँच नभएकै कारण बाँकी २० प्रतिशत स्थानीय तहमा बैंक विस्तार हुन नसकेको हो ।
“स्थानीय सरकारलाई दैनिक कामकाजमा सहज होस् भन्ने उद्देश्यले राष्ट्र बैंकले देशभरका सवै स्थानीय तहमा बैंकलाई छिटो स्थापना गर्न निर्देशन दिएको छ,” आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने, “कुनै तहमा न्यूनतम पूर्वाधारसमेत तयार नभएकै कारण बैंक खोल्न सकिएको छैन ।”
गत असारसम्म १६ वटा स्थानीय तहमा मात्रै बैंक रहेको कर्णालीमा पाँच महिनाकै अवधिमा ८० प्रतिशत पुग्नु ठूलो उपलब्धि भएको उनले बताए । अब बाँकी १७ वटा तहमा चाँडै बैंक स्थापना गर्ने गरी पूर्वाधार तयार गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशहन दिइएको उनको भनाइ छ । “१७ वटा स्थानीय तहमा ६ महिनाभित्रै सक्ने गरी काम गर्न हामीले बैंकर्सलाई निर्देशन दिइसकेका छौं,” राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख हिमप्रसाद न्यौपानले भने, “कर्णालीका दुर्गम गाउँमा पनि अब चाँडै बैंकहरू पुग्ने छन् ।”
उनले स्थानीय तह र नागरिकलाई बैंक अभावमा कुनै पनि असुविधा ननिम्तियोस् भन्ने उद्देश्यले बैंक स्थापनाको गति बढाइएको बताए । मुलुक संघीय संरचनामा गएपछि दुर्गम क्षेत्र भए पनि कर्णालीका तहमा यति छिटो बैंक स्थापना हुनुले आर्थिक गतिविधिमा नागरिकलाई राहत प्रदान गरेको उनको भनाइ छ ।
बैंक स्थापना हुन बलियो भौतिक पूर्वाधार, सदावहार प्रभावकारी इन्टरनेट, पर्याप्त बिजुली र सुरक्षा व्यवस्था राम्रो हुनुपर्छ । बाँकी १७ ठाउँमा यही आर्थिक वर्षमा नै बैंकिङ सेवा विस्तार गरिने बताइएको छ । पाँच महिनाको अवधिमा मात्रै ४६ वटा बैंकले शाखा विस्तार गरेका छन् ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बैंक धमाधम स्थापना भए पनि नगदी कारोबार मात्रै गरिरहेको बताए । “गाउँमै बैंक आउनुले नागरिकलाई आर्थिक गतिविधिमा त सहज भएको छ तर विकास बैंकले आफ्नो लक्ष्यअनुसार लगानी गर्न सकेका छैनन्,” उनले भने । सोमबार जुम्ला पुगेका मन्त्री ज्वालाले कर्णालीका नागरिकको बैंकिङ पहुँचमा वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री ज्वालाले राष्ट्र बैंकले नागरिकलाई बैंकिङ साक्षरता दिनुपर्ने, बचतको महत्वलगायतका विषयमा सुझाव दिनुपर्नेसमेत बताए । “बैंक भएर मात्रै हुँदैन, कसरी प्रभावकारी सेवा लिने भन्ने सचेतना नागरिकमा छैन,” उनले भने, “अब राष्ट्र बैंकलगायत अन्य बैंक तथा वित्तीय संस्थाले बैंकिङ साक्षारता विशेष जोड दिने अपेक्षा सरकारले गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्