देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश «

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले सोमबार प्रतिनिधि सभा विघटन मुद्दामा फैसला सुनाउँदै देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश  जारी गरेको हो।
देउवाले राष्ट्रपतिले तोकेको समयभित्रै जेठ ७ गते १४९ जना सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए। तर, देउवाको दाबी समेतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेकी थिइन्। गत जेठ ७ गते राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै कात्तिक-मंसिरको लागि मध्यावधि निर्वाचन आह्वान गरेकी थिइन्।
यस संगै मुलुकमा केपी शर्मा ओलीको करिब साढे तीन वर्षे कार्यकाल समाप्त भएको छ ।
प्रधानमन्त्री ओलीले यसअघि पनि संसद् विघटन गरेका थिए । तर सर्वोच्च अदालतले पुनस्थापना गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्