स्थानीय तहको प्राथमिकतामा सडक «

स्थानीय तहको प्राथमिकतामा सडक

जिल्लाका ९ वटा स्थानीय तहले सडक निर्माण पहिलो प्राथमिकतामा राखेका छन् । सडक सञ्जालले सबै ठाउँ नजोडिएकाले पहिलो प्राथमिकतामा सडक राखेका हुन् ।
जिल्लाका ९ वटा स्थानीय तहमध्ये खाँडाचक्र, तिलागुफा, रास्कोट नगरपालिका, नरहरिनाथ, सान्नित्रिवेणी, पचालझरना, पलाता, महावै र कालिका गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
गाउँपालिका र नगरपालिकाको सेवा केन्द्र र राष्ट्रिय सडक सञ्जालसँग जोडिन स्थानीय तहहरूले पर्यटकीय सडक कृषि सडकलगायतका क्षेत्र पहिलो प्राथमिकतामा राखेका हुन् । निर्वाचनमा सडक, विद्युत्, कृषिलगायतका क्षेत्रको विकास गर्ने नारा दिएका जनप्रतिनिधिहरूले स्थानीय तह गठन भएसँगै पहिलो प्राथमिकतामा सडक लिएका छन् ।
जिल्लाको नरहरिनाथ गाउँपालिकाले २ वर्षभित्र गाउँपालिका सबै वडामा सडक पु¥याउने लक्ष्यसहित आव ०७४÷७५ मा ६ करोड रकम विनियोजन गरेर खुलालु–लालु–माल्कोट हँुदै रुप्सा र लालीघाट–कोटवाडा–कुमालगाउँ हुँदै रुप्साका सडकमा निर्माणकार्य अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । “हामीले गाउँपालिकामा सडक पु¥याउने लक्ष्य पहिलो प्राथमिकतामा राखेका छौं ।” उनले भने, “त्यसका लागि बजेट विनियोजन गरेर ठेक्क प्रक्रियामा अगाडि बढाउन लागेका हौं ।”
सडकलाई पहिलो प्राथमिकतामा राख्दै रास्कोट नगरपालिकाले १ करोड ५० लाख विनियोजन गरेकोे छ भने पचालझरना गाउँपालिकाले ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
जिल्लाका सबै ठाउँमा सडकले नछोएका कारणले ग्रामीण कृषि सडक पहिलो प्राथमिकतामा रहेकाले त्यो नभएसम्म नगरपालिकाको विकास आयस्रोत वृद्धि नहुने रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए । “हाम्रो प्राथमिकता सडक नै हो ।” उनले भने, “सडक बन्न सकेन भने आयस्रोतका आधार पनि बन्द हुन्छन् ।”
गाउँपालिका सबै ठाउँमा ५ वर्षभित्र सडक सञ्जाल पु¥याउने लक्ष्य रहेकोमा क्रमिक रूपमा बजेटको ब्यवस्थापन गर्न लागिएको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कबहादुर सेजुवालले बताए । “एकै वर्षको बजेटले सबै ठाउँमा सडक पु¥याउन सम्भव छैन ।” उनले भने, “क्रमागत योजनामा हालेर ५ वर्षभित्र सडक सबै ठाउँमा पु¥याउने लक्ष्य लिएका छौं ।”
कालिका गाउँपालिकाकाले सडक गाउँपालिकाको केन्द्रसम्म पु¥याउन सेरीघाट–भर्ता र सुकाटिया सडकखण्डमा डोजर लगाएर सडक निर्माणको कामलाई तीव्रता दिएको गाउँपालिकाले जनाएको छ ।
रास्कोट नगरपालिकाले सडक निर्माणका लागि नै डोजर ल्याउन डोजर खरिदको टेन्डर आव्हान गरिएको रास्कोट नगरपालिका प्रमुख बरालले बताए ।
सान्नी त्रिवेणी गाउँपालिकाले सेरीज्युला–मेहलमुडी–मुम्रा र सिपखाना–मुम्रा सडक खण्डका लागि बजेट विनियोजन गरेको ठेक्का प्रक्रिया अगाडि बढाउन लागिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । “हामीले गाउँपालिकामा सडक विस्तार पहिलो योजनामा राखेका छौं ।” उनले भने, “त्यसका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको छ ।”

कार्यदल बनाएर सडक निर्माण
सडक सञ्जालले नछोएको पलाँता गाउँपालिकाले कार्यदल बनाएर सडक निर्माण कार्य सुरु गरेको छ । सडक निर्माणलाई तीव्रता दिन कार्यदल बनाएर सडक निर्माण सुरु गरेको हो ।
गाउँपालिकाले बेल्केढुंगा हुदै पीपलचौतारी, जिन्दर, खिर्पी दुर्सी फागोटीसम्म मुनाल राजमार्गमा कार्यदल बनाएर निर्माण गरिएको हो । गाउँपालिकाले बेरोजगार युवाहरूलाई रोजगार दिने उद्देश्यले कार्यदलको गठन गरेर सडक निर्माणकार्य अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए । “बेरोजगार युवालाई रोजगार दिने उद्देश्यले कार्यदल गठन गरिएको हो ।” उनले भने, “गाउँमा नै रोजगारीसँगै विकास हुने भएकाले कार्यदल गठन गरिएको हो ।” गाउँपालिकाले अहिले सडक निर्माणका लागि ३ करोड बजेट विनियोजन गरिएको अध्यक्ष बमले बताए ।

 

प्रतिक्रिया दिनुहोस्