साउनदेखि ईआरपी प्रणाली पूर्णरूपमा लागू गर्दै निगम «

साउनदेखि ईआरपी प्रणाली पूर्णरूपमा लागू गर्दै निगम

नेपाल आयल निगमले आगामी साउनदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली पूर्णरूपमा लागू गर्ने भएको छ ।
म्यानुअल रुपमा रहेको कामलाई डिजिटलाइज गर्नका लागि निगमले वैशाख ३ गतेदेखि सो प्रणाली लागू गरेपनि पूर्णरूपमा भने साउन १ गतेदेखि लागू गर्न लागेको हो ।
निगम प्रवक्ता वीनितमणि उपाध्यले साउन १ गतेदेखि ईआरपी प्रणाली पूर्णरूपमा लागू हुन लागेको जानकारी दिए । “अहिले ईआरपी प्रणाली सबै तिर परीक्षणको काम भइरहेको छ” प्रवक्ता उपाध्यायले भने, “पूर्णरूपमा लागू भएसँगै निगमको सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउँछ ।”
साउनदेखि सबै डिपोले पूर्णरूपमा ईआरपी माध्ययमबाट कारोबार गर्नेछन् । नयाँ पनि लागू गर्दा अलि अलि समस्या आएपनि निराकरण गर्दै जाने निगमको भनाइ छ । सबै डिपोमा ईआरपी प्रणाली लागू गरेपछि सेवा छिटो, छरितो र प्रभावकारी हुने निगमको भनाइ छ । साढे दुई खर्बको व्यापार गर्ने संंस्थाको सेवालाई व्यव्यस्थित र प्रभावकारी बनाउनका लागि पनि सो प्रणाली लागू गरिएको निगमको उपाध्यायको भनाइ छ ।
यसले लेखा प्रणाली, प्रशासनको काम सबैलाई एकीकृत रुपमा लैजान सो प्रणाली सुरु गर्न लागिएको प्रवक्ता उपाध्यायको भनाइ छ ।
ईआरपी जडान भइसकेपछि लेखा प्रणालीअन्र्तगतको झन्झटिला काम, लेजर पोष्टिङ गर्ने काम, सफ्टवेयरमार्फत् गरिरहेका कामलाई विस्थापित गरेर ईआरपीमार्फत एकद्वार प्रणालीबाट काम हुने निगमको भनाइ छ । २८ करोड रुपैयाँ लागतमा न्यूटेरिक नामक संस्थाले यसको सफ्टवेयर निर्माणलगायतका प्राविधिक काम गरिरहेको छ ।यसले निगमको काम छिटो छरितो हुनुका साथै जनशक्ति पनि कम लाग्नेछ । निगमको ट्यांकरमा हुने गुणस्तर, चोरी, मिसावटलाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।
पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानीलाई न्यूनीकरण गर्न पनि निगमले ईआरपी प्रणालीबाट काम गर्ने भएको हो । जुन प्रणाली सफ्टवेयरमार्फत स्वचालित प्रणाली हो । निगमका सम्पूर्ण कार्यहरूलाई विद्युतीय (डिजिटलाइज) प्रणालीमा लगिनेछ ।
ईआरपी प्रणालीबाटै निगमका देशभरका प्रादेशिक कार्यालय, डिपोहरू र विभागहरूको दैनिक काम कारबाही एकीकृत सूचना प्रणालीमा आउनेछन् । एकै स्थानबाट निरीक्षण र अनुगमन गर्न सहज र निर्देशन हुनेछ । यसले तेल खरिद गर्नुअघि एपको माध्ययमबाट भुक्तानी गर्न पनि सहज हुने निगमको भनाइ छ । निगममा भएको कारोबारलाई थप व्यवस्थित बनाउने यस प्रणालीले थप सहज बनाउन सक्छ ।
निगमका अनुसार ईआरपी प्रणालीअन्तर्गत निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरूलाई इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमबाट जीपीएस प्रणालीमा लैजाने योजना छ । जसले गर्दा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी गर्न सकिने छ ।
ट्यांकरको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ । भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्यांकरलाई पनि यही प्रविधिमा समेटेर निगरानी गरिने छ । ढुवानीमा रहेका ट्याकंरलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुने निगमको भनाइ छ ।
निगमले परम्परागत शैलीमा विवरणहरु अभिलेखीकरण ढड्डामा गर्दै आएको थियो । बिलिङलगायतका प्राविधिक पक्षहरुमा सफ्टवेयरको प्रयोग भए पनि निगम भित्र रहेका शाखाहरु एकअर्कासँग अन्तर–आबद्धता थिएन । ईआरपी जडान भएपछि भने निगमअन्तर्गतका सबै संयन्त्र एकअर्कासँग जोडिएका छन् ।
निगमको प्रशासन, लेखा, इन्जिनियरिङ लगायतका सबै शाखा, ढुवानी ट्यांकरको भाडासँगै व्यवसायीले गर्ने डिमाण्ड र भुक्तानीलगायत सबै पक्षहरु अब एकै प्रणालीमुनि जोडिएका छन् । त्यसैगरी, ढुवानीबाट निगमले प्राप्त गर्ने इन्धनको भुक्तानी निर्धारण पनि यही प्रणालीले गर्नेछ ।
निगमले सडकमार्ग वा अन्तरदेशीय पाइपलाइनबाट भारतबाट भित्र्याउने इन्धनको विवरण पनि ईआरपीमै इन्ट्री हुने छ । ईआरपीले इन्धनको आपूर्ति व्यवस्थालाई चुस्त र सहज बनाउने विश्वास निगमको छ ।
अहिले डिलरहरुले निगमलाई फोनबाट इन्धनको डिमान्ड टिपाउने गरेका थिए । ईआरपी सञ्चालनमा आएपछि डिलरहरुलाई पनि ईआरपीमा पहुँच हुनेछ । जसको सहयोगबाट देशभर रहेका डिलरहरुले अनलाइनबाटै डिमान्ड इन्ट्री गर्न सक्र्नेछन् ।
डिलरहरुले अब आफैं आफूहरुलाई कति इन्धन चाहिएको छ, कति पैसा जम्मा गर्नुपर्ने छ वा ढुवानीकर्ताहरुले कति रकम प्राप्त गर्नुपर्ने हो वा निगमको खातामा कति पैसा छ भन्ने सबै जानकारी ईआरपीमा रहने छ । साथै, डिलरहरु आफूले वर्षभरी कति कारोबार गरेँ भन्ने विवरण पनि सोही प्रणालीबाट थाहा पाउन सक्ने निगमले जनाएको छ ।
त्यसैगरी, जीपीएस जडान नभए पनि अनौपचारिक रूपमा निगमका ट्यांकरहरुको मुभमेन्ट पनि ईआरपीबाट ट्रयाक गर्न सकिने नेपालको दाबी छ ।
निगमका अनुसार पर्चेज डेलिभरी अर्डर (पीडीओ) जारी गर्छौं, ईआरपीमा पीडीओ जारी गरेको मिति देखिन्छ । हाम्रा ट्यांकर भारत पुगेर जतिबेला इन्धन लोड गर्छन् र भारतीय आयल कर्पोरेसनले बिल काट्छ, उतिनै बेला ईआरपीमा जानकारी प्राप्त हुने जानकारी दिएको छ ।
ईआरपीमा भारतीय आयल कर्पोरेसन पनि लिंक भएकाले इन्धनको बिल काट्ने बित्तिकै आफ्नो कन्ट्रोल रुमलाई उक्त जानकारी हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्