अवकाशपछिको जीवन पनि शिक्षणमै «

अवकाशपछिको जीवन पनि शिक्षणमै

रुकुम – धेरै मान्छेहरुको सोचाइ हुन्छ– सरकारी जागिर खाने र रिटायर्ड जीवन परिवारसँग आनन्दले बिताउने । तर, केही यस्ता व्यक्ति पनि हुन्छन्, जसले रिटायर्ड जीवन पनि आनन्द तरिकाले बसेर होइन कि यसअघिकै जस्तै काममा पनि लाग्ने गरेका छन् । त्यस्तै उदाहरण बनेका छन्, रुकुम पश्चिमका एक शिक्षक । रुकुम पश्चिम मुसिकोट नगरपालिका ३ माछिमीका गोपालसिंह केसी रिटायर्ड शिक्षक हुन् । तर, उनी अहिले पनि शिक्षण पेशामा विगतजस्तै क्रियाशील छन् । यति फरक हो– उनी पहिले सरकारी स्कुलमा पढाउने गरेका थिए अहिले निजीमा ।
निजी विद्यालयमा शिक्षक भएका कारण पनि उनी पहिलेको भन्दा झनै खटिएर शिक्षण गर्दछन् । उनी अहिले सदरमुकाम खलंगास्थित एभरेष्ट बोर्डिङ स्कुलमा बढाउँछन् । रिटायर्ड जीवनपछि उनलाई निजी विद्यालयमा शिक्षण नगरे पनि खानलाउन पुग्छ । मध्यम वर्गीय परिवारमा जन्मिएका केसी लामो सरकारी जागिर अनि रिटायर्डपछिको पेन्सन जीवन गुजारालाई त कुनै समस्या नै थिएन । उनी मावि प्रथम क्षेणीका शिक्षक थिए । उमेरले ६८ वर्ष पार गरेपनि हालसम्म पनि उनमा शिक्षण गर्ने र साना बालबालिकाहरूसँग खेल्ने जाँगर मरेको छैन ।
“मसँग भएको ज्ञान, सिप र जाँगरलाई नेपाल सरकारको सेवा अवधिको सीमाले हटाउन सकेको छैन,” उनी भन्छन्, “मेरो ज्ञान र सिप तथा जाँगरको सदुपयोग गरेर थोरै पारिश्रमिकमा पनि सेवा दिइरहेकोको छु । मेरो उद्देश्य पैसा कमाउने भन्दा पनि म आफूलाई सधै सक्षम बनाइराख्न र सकेसम्म बालबालिकाहरुलाई ज्ञान बाँड्नु नै हो ।” आफू सरकारी विद्यालयमा शिक्षण गर्दा विद्यालयको सञ्चालक समिति, विद्यार्थी, शिक्षक र साथीहरुसामु सबैको प्रिय भएको भन्दै कुशल शिक्षकको रुपमा सेवाबाट अवकाश पाएको उनको दाबी छ ।
सरकारी सेवाबाट अवकाश भएको एक सातामै निजी विद्यालयमा शिक्षकको रुपमा जोडिएका केसी हालसम्म पनि उक्त विद्यालयमा कुशल शिक्षकको दर्जामा छन् । “हुनत सरकारी शिक्षक हुँदा पनि मैले मेहनत नगरेको भन्ने अर्थ होइन तर ३५ वर्षिय सरकारी शिक्षकको भन्दा पनि झन् मेहनत र परिश्रम लगाएर निजी विद्यालयमा शिक्षण गरिरहेको छु,” उनले भने, “स्वास्थ्ले भ्याएसम्म म अझै केहि वर्ष आफ्नो ज्ञान र सिप बाँड्न तत्पर छु ।”
सरकारी विद्यालयहरुमा प्रशासन केहि फितलो हुने भएका कारण गुणस्तरमा कमजोरी हुने गरेको बताउने केसी त्यसको ठिक विपरित निजी बोर्डिङहरुमा शिक्षकहरुले अन्यन्त जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको पाउँछन् । नेपालको हालको शिक्षा प्रणाली पुरानो शिक्षा प्रणाली भन्दा केहि सुधारिएर फरक अनुभूति गर्ने केसी अझै पनि शिक्षा प्रणाली सैद्धान्तिक तथा रटिरटाउ भन्दा पनि पूर्ण व्यवहारिक बनाउनेमा जोड दिन्छन् ।
सरकारी विद्यालय स्तरमा नातावाद, कृपावाद र विद्यालय निरीक्षकहरु आफ्नो कार्यप्रति वफादार नभएको पनि उनको अनुभव छ । त्यसका लागि शिक्षकहरुलाई सक्रिय बनाउन हालका कार्यकारी अधिकारसहितका गाँउपालिका वा नगरपालिकाले गोप्य निरिक्षकहरुको व्यवस्था गरी राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्