फुटबल खेलाडी पुरस्कृत «

फुटबल खेलाडी पुरस्कृत

३७ वर्षपछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगदसहित पुरस्कृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गर्नुभएको हो । २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए ।
गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । सोही नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो ।
यस्तै प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित भइ फाइनल खेल हेरेका थिए । सोही क्रममा विजेतालाई पुरस्कार दिने घोषणा गरेका थिए । थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४/४ लाख दिने निर्णय गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको थियो । फाइनलमा नेपाललाई उपाधि दिलाउन सजोक राई र विशाल राईले एक÷एक गोल गरेका थिए । ३७ वर्षपछि घरेलु भूमिमा उपाधि जितेको नेपालले सन १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्