अछाममा भुवो नाचको रौनक «

अछाममा भुवो नाचको रौनक

अछामसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुवो पर्व धुमधामले मनाइन्छ । नेपाल एकीकरण ताका (बाइसे चौबिसे राज्यका बेला) गरिने सैनिक अभ्यास र पौराणिक राम राज्यको गाथा समेटिएको भुवो पर्व यो क्षेत्रमा निकै महत्वका साथ मनाउने गरिन्छ ।
अछामको रामारोशन गाउँपालिकामा टोल–टोलबाट सुरु भई विभिन्न गाउँमा भुवो नाच देखाउने गरिन्छ । खेतीपातिको व्यस्तताबाट फुर्सद हुने समयमा भुवो पर्व पर्ने हुँदा रामारोशनका सबै टोलमा भुवो नाच हुने गरेको स्थानीय धर्मसिंह साउद ले बताए । नांगो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शन गरिने भुवो नाच सबै जातजाति र गाउँ समाजको एकता, भाइचारा र आपसी सद्भाव झल्काउने महत्वपूर्ण संस्कार एवं संस्कृतिका रुपमा रहेको छ ।
लोप हुने अवस्थामा रहेको यो भुवो नाच जोगाउनका लागि यहाँका युवापुस्ता भने तयार छैनन् । पुराना पुस्ताका बूढापाकाहरुले लोक लयमा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना, सन्देश र माया साटासाट गर्छन् भने ढाल, तरबार र खुकुरीको प्रयोगबाट युद्धकला प्रदर्शन गर्छन् । पछिल्लो समय भुवो नाचप्रति युवाहरुको आकर्षण हुन नसकेको स्थानीय पुष्प बिष्टले बताए । उनले भने, “रामारोशन क्षेत्रको भुवो नाच, पुतला नाच, न्याउँलेलगायतका संस्कृति ऐतिहासिक र महत्वपूर्ण छन् । यिनको संरक्षणका लागि पहल गरिनुपर्छ ।”

भुवो कसरी खेलिन्छ ?
यो वर्ष अछामको भुवो पुस ७ गते पूर्णिमाबाट सुरु भएको छ भने पुस २१ गते बिर्सजन हुनेछ । पूर्णिमाको दिन देवी देवताका मन्दिरबाट पूजापाठसहित औपचारिक रुपमा भुवो नाच सुरु हुन्छ । यो १५ दिनको अवधिमा विभिन्न ३ चरणका भुवो खेल हुने गर्दछन् । दर्के भुवो, बड्डे भुवो र चोर भुवो गरी ३ तरिकाले खेलिने भुवोमा बड्डे भुवो सबैभन्दा लामो नाच हो । यो पूर्णिमादेखि औंसीसम्म चल्ने गर्दछ । यस्तै पूर्णिमा र औंसीको बीचका ६-७ दिनमात्रै खेलिने भुवो दर्के भुवो हो भने भुवो नखेलेको गाउँमा औंसीको अघिल्लो दिन खेलेर औंसीको दिन सेलाउने भुवोलाई चोर भुवो भन्ने गरिएको छ । यो भुवो नहालेका गाउँमा औपचारिकताका लागि मात्रै खेलिने भुवो हो ।
पौराणिक कालमा राम राज्य विजयी भइसकेपछि रावणको चिता जलाउनका लागि भुवो नाच सुरु भएको किंवदन्ती छ । १५ दिनसम्म भुवो खेलिसकेपछि अन्तिममा चिल पोल्ने (चिता जलाउने) गरिन्छ । जसलाई स्थानीय स्तरमा बउजु जलाउने पनि भनिन्छ । बउजु जलाउन सुरु गर्दा सबै गाउँबासीले केहीबेर घरको ढोका बन्द गर्ने परम्परा रहेको स्थानीय जानकार लालबहादुर साउदले बताए ।
पृथ्वीनारायण शाहका पालादेखि प्रयोग भएका ढाल, तरबारको प्रदर्शनी र पौराणिक रामराज्यको बयानसँगै लडाइँका कौशल प्रदर्शन गरिने भुवो खेल ऐतिहासिक र पौराणिक लोक संस्कृति भएको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद (भाष्कर) ले बताए । अछामको षोडशा माडिगडाबाट सुरु भएको भुवो रामारोशनका सबै टोलटोलमा हरेक वर्ष धुमधामसहित मनाउने गरिएको अध्यक्ष साउदको भनाइ छ ।
मन्दिरमा पूजापाठ गरी सुरु गरिने भुवो गाउँका रजबारका घरमा सबैभन्दा पहिला खेलेर भुवो गीतबाटै शुभकामना र स्वागत गर्ने गरिन्छ । भुवो खेलमार्फत् स्थानीयले चन्दा संकलन गरेर सामाजिक कार्यमा खर्च गर्ने परम्परा रहेको स्थानीय हरि साउदले बताए ।

भुवो शैलीमा परिवर्तन
केह वर्षयता रामारोशन क्षेत्रमा पुराना भुवो खेल्ने ठाउँ वा भुवो खाडामा भुवो खेल खेलिएको थिएन । तर यस वर्षबाट गाउँपालिकाको वडा नम्बर ५ को नेटाकोट भुवोखाडा बाट भुवो सुरु भई गाउँपालिकाका विभिन्न स्थानमा भुवो खेल्ने क्रम जारी छ ।
पहिले राजा रजौटा, रजबार र ठूलाबडाका घरमा गएर भुवो खेल्ने परम्परा पछिल्लो समय परिवर्तन हँुदै गएको छ । पछिल्लो समय गाउँपालिका, वडा कार्यालय र सार्वजनिक स्थल तथा जनप्रतिनिधिहरुसहित भुवो खेल्ने संस्कारको विकास भएको छ । भुवोको संरक्षणका लागि युवा पुस्तालाई पनि आकर्षण गर्नका लागि यसरी पौराणीक संस्कृति र सभ्यताको संरक्षणका लागि स्थानीयको सक्रियतालाई मध्यनजर गर्दै गाउँपालिकाले पनि कला संस्कृति संरक्षण एवं प्रवद्र्धनका कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । अब ऐतिहासिकतासँगै समाज रुपान्तरणका सवालहरु यस्ता पर्वले उठान गर्न जरुरी रहेको गाउँपालिका अध्यक्ष झंकर साउदले बताए ।
यसपालि रामारोशन–५ नेटाकोटको भुवो खेललाई गाउँपालिकाबाट नगद ७० हजार पुरस्कारसहित सम्मान गरिएको अध्यक्ष साउदले बताए । पुराना हतियार (ढाल, तरबार लगायत) र अन्य संस्कृति जगेर्नाका लागि यो पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

होम साउद

प्रतिक्रिया दिनुहोस्