कैलाली उद्योग वाणिज्य संघको चुनावमा त्रिपक्षीय भिडन्त «

कैलाली उद्योग वाणिज्य संघको चुनावमा त्रिपक्षीय भिडन्त

कैलाली उद्योग वाणिज्य संघ, धनगढीको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको यही पुस २८ गते हुने निर्वाचनमा अध्यक्षका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । संघका पूर्वमहासचिव रहेका रूपेश स्वाँर, पूर्वकोषाध्यक्ष पुष्पराज कुँवर र पूर्वसदस्य डिल्लीराज अवस्थी स्वतन्त्र प्यानलबाट अध्यक्षका दावेदार रहेका हुन् । तीनै जना उम्मेदवार चुनावी प्रचार–प्रसारमा आ–आफ्ना मतदातासँग मत माग्न व्यस्त छन् । तर, अध्यक्ष को बन्ला भन्ने कुरामा अझै अलमल नै छ । तीनै जना अध्यक्षका उम्मेदवार आ–आफ्ना स्थानबाट नेतृत्वमा अब्बल नै मानिन्छन् । स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार डिल्लीराज अवस्थी चुनावका विषयमा सञ्चारमाध्यममा बोल्न चाहेनन् । कैलाली उद्योग वाणिज्य संघका सदस्यहरूको टुङ्गो लागेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति तोकिएको छ । सदस्यता छानबिनको काम सकिएपछि निर्वाचनको प्रक्रिया अगाडि बढाउन कार्यतालिका बनाइएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकीय अधिकृत यादव भण्डारीको संयोजकत्वमा रहेको निर्वाचन समितिले सरोकारवालासँगको छलफलपछि निर्वाचनको मिति र कार्यतालिका तय गरिएको हो । पुस १३ मा नामावली प्रकाशन, १३ र १४ मा दाबी विरोध र १५ गते बिहान ११ बजे अन्तिम नामावली प्रकाशनको समय तोकिएको थियो । पुस १८ गते मनोनयन दर्ता सोही दिन साँझ साढे ५ बजे मनोनयनको सूची प्रकाशन, १९ गते उजुरी छानबिन १९ र २० गते बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, पुस २० गते साँझ साढे ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको कार्य तालिका बनाइएको छ । पुस २८ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्नका लागि निर्वाचन कार्य तालिका बनाइएको निर्वाचन समितिका संयोजक यादव भण्डारीले जानकारी दिए । संघको निर्वाचनमा २ हजार ७ सय २५ जनाले मतदान गर्न पाउनेछन् । गत वैशाख २२ गतेको साधारणसभा स्थगित हुनुअघि संघका ५ हजार ९ सय ९० जना सदस्य रहेका थिए । अधिकांश नक्कली सदस्यको हालीमुहाली बढेको भन्दै उच्च अदालत दिपायलमा उजुरी परेपछि सदस्यता छानबिन गरिएको छ । अदालतकै आदेशअनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले अहिले निर्वाचनको काम अगाडि बढाएको छ । विगतका दिनदेखि उद्योग वाणिज्य संघ, कैलालीमा फर्जी मतका बारेमा विवाद हुँदै आएको छ । फर्जी मतको आवाज उठाउँदै आइरहेको वास्तविक व्यवसाय समिति पनि पछिल्लो समय चुनावका विषयमा आवाज उठाउँदै आइरहेको हो । अन्ततः चुनाव हुने नै भयो । पछिल्लो समय संस्थाभित्र वास्तविकभन्दा पनि नक्कली सदस्यको हालीमुहाली र निर्णयात्मक भएकाले त्यसका विरुद्ध केही व्यापारीले कैलाली उद्योग वाणिज्य संघका विरुद्ध उच्च अदालत दिपायलमा रिट दायरा गरेको थियो । उच्च अदालत दिपायलले व्यवसायीको सदस्यताका बारेमा स्पष्ट छानबिन गर्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्देशनसमेत दिएको वास्तविक व्यवसाय समितिका संयोजक जयराज न्यौपानेले बताए । तर, अहिले उच्च अदालत दिपायलले दिएको निर्देशनलाई पालना गरी पुस २८ गते निर्वाचन गर्न लागिएको उनले बताए । केही महिनाअघि मात्रै वास्तविक व्यवसाय समितिले उच्च अदालत दिपायलले दिएको निर्देशन जिल्ला प्रशासन कार्यालय कैलालीले उल्लङ्घन गरेकोप्रति जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ र जिल्ला प्रशासन कार्यालयको नाममा जाहेरी दिएको थियो । उच्च अदालत दिपायलले दिएको मितिमा निर्वाचन नतोकेपछि संघभित्र आन्तरिक विवाद चर्किंदै आएको हो । यही पुस २८ गते हुने निर्वाचनका विषयमा उम्मेदवार तथा व्यवसायीहरुसँग कारोबारले गरेको कुराकानीको सार :

व्यवसायीका हरेक समस्या समाधान गर्ने क्षमता छ
रुपेश स्वाँर
अध्यक्षका उम्मेदवार
कैलाली उद्योग वाणिज्य संघ
यो चुनावमा मेरो जित निश्चित छ, किनभने विगतका १० वर्षदेखि मैले यस संस्थामा कार्यरत हुँदै आएको छ । मलाई व्यापारीको मर्म, समस्याहरू बुझ्दै आएको छु । व्यापारीको पीडाहरूलाई कम गर्न लागि पनि मेरो उम्मेदवारी महŒवपूर्ण रहेको छ । सुदूरपश्चिम प्रदेशका हरेक मुद्दाहरूलाई आत्मसात् गर्दै अगाडि बढ्नेछु । व्यापारीका यातायात खर्च, कच्चा पदार्थका समस्या, फर्जी मतका विषयलाई मध्यनजर गर्दै अघि सर्नेछु । त्यसैले भए पनि मेरो जित महŒवपूर्ण छ । मैले चुनाव जितेमा असुन्तष्ट भएका पक्षलाई समेटेर लान सक्ने क्षमता छ । गौरीफन्टा नाकाको समस्याका बारेमा पनि केही दिनअघि मात्र मेरै नेतृत्वमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग भेटघाट गरेका थियौं ।
यस विषयमा गहन छलफल गरेका पनि थियौं । यसप्रति मुख्यमन्त्री सकारात्मक हुनुभएको छ । मेरो जित नभएमा यस्ता विकासशील मुद्दाहरू तुहिन सक्छन् । कैलाली उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाभन्दा फरक भएका कारण यहाँको चुनावमा महत्वपूर्ण र त्यति नै चुनौती रहेको छ । मलाई अध्यक्ष पदका उम्मेदवारप्रति कुनै पूर्वाग्रही छैन्, तर व्यापारीहरूले चुनाव कसैले विजय हुँदा फाइदा हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । कैलाली उद्योग वाणिज्य संघलाई व्यवसायमा मात्र खुम्च्याउने होइन । मैले सुदूरपश्चिम प्रदेशमा रहेका नौवटै जिल्लालाई लक्षित गरी विकास गर्नुपर्छ भन्नेमा लागेको छ । यहाँको आर्थिक समृद्धि, सुशासनलगायतका पक्षमा अग्रसर छ । हारजित भए पनि यही विषयलाई उजागर गर्ने मेरो लक्ष्य छ । मेरो जित भएमा सवै पक्षलाई मिलाएर लग्ने क्षमता छ ।

मलाई जिताउन सबै व्यापारी एकढिक्का छन्
पुष्पराज कुँवर
अध्यक्षका उम्मेदवार
कैलाली उद्योग वाणिज्य संघ
मेरो जितको अवस्था सुनिश्चित छ । मलाई जिताउनका लागि सबै व्यापारी एकढिक्का भएर लागेका छन् । त्यस कारण पनि म जित्छु भन्ने भान भएको छ । मेरो पक्षमा विगतका दिनदेखि महासंघलाई बुझेका निकै लामो समयदेखि जिम्मेवारीमा बसेका व्यक्तिहरू रहेका छन् । उनीहरूको पृष्ठभूमिले पनि मलाई जितमा सहज हुने पक्का देखिएको छ । मैले पनि विगतका दिनदेखि सुदूरपश्चिममा माने लाग्ने कैलाली उद्योग वाणिज्य संघको पदाधिकारी पद अर्थात् कोषाध्यक्ष सम्हाल्दै आएको थिएँ र मलाई आर्थिक समृद्धिका बारेमा निकै अनुभव पनि छ । मेरो जित भएमा सुदूरपश्चिमको समृद्धिमा कायापलट नै गर्ने मेरो लक्ष्य पनि रहेको छ । यहाँको सुक्खा बन्दरगाहा, गौरीफन्टा नाकाको स्तरोन्नति, व्यापारीको ट्रान्सफर्मरको समस्यालगायतको पक्षमा वकालत गर्ने मेरो लक्ष्य छ ।
म बाहेक दुई जनाको उम्मेदवारी भए पनि मलाई केही पनि फरक पर्दैन, विगतका दिनमा मैले महासंघ र व्यापारीलाई गरेको प्रतिफल पनि पक्का पाउने विश्वास लिएको छु । उहाँहरूलाई के भन्न चाहन्छु भने सक्नुहुन्छ भने आउनुहोस्, मलाई समर्थन गर्नुहोस्, काँधमा काँध मिलाएर जाऊँ र यस क्षेत्रको विकासमा अग्रसर हौं । यहाँको पर्यटन विकास, आर्थिक समृद्धिलगायतका विषयमा विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्दै आएको छ । मेरो हार भए पनि म विकासको पक्षमा अग्रसर नै हुनेछु । अभैm मनोनयन हुन दुई दिन बाँकी छ । फिर्ता लिनका लागि अनुरोध गर्छु । मैले पनि अरू सदस्यले जसरी दुःख गरेको छु । मलाई हुन लागेको निर्वाचनमा विजय गराउन अनुरोध पनि गर्छु । बेला–बेलामा उठिरहेको फर्जी मतको विषयलाई अँगालेर पनि वास्तविक सदस्यहरूलाई महासंघमा प्रवेश गराउनेछु । कैलाली उद्योग वाणिज्य संघलाई विवाद मुक्त बनाउनेछु ।

उद्योगी व्यापारीको पक्षमा वकालत गर्नुपर्छ  
दिनेशराज भण्डारी
पूर्वअध्यक्ष, कैलाली उद्योग वाणिज्य संघ
अहिलेको माहोल पुष्पराज कुँवरको पक्षमा देखिएको छ । म पनि उनैको प्यानलले जित्नुपर्छ भन्ने पक्षमा छु । त्यो प्यानलले जित्नु पनि पर्छ । त्यो प्यानलले जित्दा व्यवसायको प्रवद्र्धन र व्यवसायीको हित हुन्छ भन्ने लाग्छ । कुँवरको प्यानलले सबै व्यापारीको हकहितका कुरा राम्रोसँग बुझेको छ । उनी आफैं पनि संघर्षशील मान्छे भएकाले उनमा सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि र उन्नतिका बारेमा सहजै बुझ्न सक्ने क्षमता छ । हिजोका दिनमा पनि उद्योग वाणिज्य संघ कैलालीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका व्यक्ति हुन् उनी ।
वाणिज्य संघको आर्थिक उन्नतिका लागि संघर्ष गर्दै आएका व्यक्ति उनी हुन् । गौरीफण्टा नाकाका बारेमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । त्यो टिममा बौद्धिक व्यक्ति भएकाले जिताउनुपर्ने देखिन्छ । विगतका दिनमा अवार्ड पाएका व्यक्तिसमेत त्यो टिममा समावेश भएका छन् । पुष्प कुवँरले जितेमा सुख्खा बन्दरगाह, दिल्लीको व्यापार व्यवसाय र अन्तर्राष्ट्रिय क्षेत्रसँग वार्ता गर्ने सक्ने क्षमता हुन्छ । कुँवर एक सफल व्यापारी पनि हुन् । व्यापार व्यवसायमा निकै नै लामो अनुभव छ । उनको पुख्र्यौली पेशा नै व्यापार व्यवसाय नै हो । उनमा सानोदेखि ठूलो पुँजी भएका व्यक्तिलाई मिलाएर लान सक्ने क्षमता छ । त्यही टिममा नेपालमै नाम कमाएका व्यक्तिको समेत उम्मेदवारी छ । उनी नेपालमा कर तिर्ने टप पाँचमध्येका व्यक्ति पर्दछन् ।
उद्योग वाणिज्य संघमा फर्जी मतका कुरामा समेत विवाद आएको थियो । यस विषयमा पनि त्यो टिम निकै नै सकारात्मक छ । यसै विषयमा पनि सकेसम्म पुष्प कुँवरको मात्र प्यानल नभएर अन्य उम्मेदवार पनि त्यति नै भूमिका निर्वाह गर्न जरुरी छ । अन्य प्यानलका उम्मेदवार पनि पहिलो प्राथमिकता उद्योग वाणिज्यलाई नै राख्नुपर्छ । आफ्नो दुनो सोझ्याउने काममा लाग्नु हुँदैन ।
उद्योग वाणिज्य संघले उद्योगी व्यापारीको पक्षमा वकालत गर्नुपर्छ । अनिमात्र जितको महसुस हुनेछ । त्यसपछि महासंघलाई न्याय हुनेछ । पुष्प कुँवरलाई जिताएमा फर्जी मतको समस्या समाधान हुनेछ । स्वच्छ महासंघ बनाएर अघि बढाउन हामी पूर्वकेन्द्रीय सदस्यले समेत भूमिका खेल्नेछौं । यो प्यानलमा पूर्वकेन्दीय सदस्य तथा सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपी हमालको समेत समर्थन रहेको छ । यसमा विज्ञ टिमको समर्थन भएकाले जित सुनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस्