बैंकलाई ब्रोकर लाइसेन्स दिन धितोपत्र बोर्डको निर्देशन «

बैंकलाई ब्रोकर लाइसेन्स दिन धितोपत्र बोर्डको निर्देशन

बोर्डले बजार प्रभावित पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सूचकांक घट्दा र बढ्दा हुने चलखेलको अन्त्यका लागि अध्ययन गर्न निर्देशन दिएको छ ।

नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरूको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । यस्तै उपत्यका बाहिर कार्यक्षेत्र रहने गरी ब्रोकर लाइसेन्सका लागि पनि प्रक्रिया अगाडि बढाउन बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।
नेप्से सूचकमा लाग्ने सर्किट ब्रेकरलाई समसामयिक बनाउन अन्तर्राष्ट्रियरूपमा भएका अभ्यासलाई अध्ययन गर्दै प्रतिवेदन तयार गरी पेश गर्न बोर्डले निर्देशन दिएको छ । बोर्डले बजार प्रभावित पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सूचकांक घट्दा र बढ्दा हुने चलखेलको अन्त्यका लागि अध्ययन गर्न निर्देशन दिएको छ ।
धितोपत्र बजारका लगानीकर्ताको हित संरक्षण गर्न आगामी चैतसम्ममा लगानीकर्ता संरक्षण कोषको कार्यान्वयनमा ल्याउन तथा चैतसम्ममा ओटिसी बजारलाई स्वचालित प्रणाली अपनाउने गरी काम गर्न पनि बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।
यसैगरी बोर्डले कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीलाई बजार निर्माता तथा स्टक डिलरको काम गर्ने अनुमतिका लागि आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ । यसबाट बजार विस्तार हुने प्रक्षेपण बोर्डको छ ।
बोर्डले सीडीएससीलाई पनि दोस्रो बजारमा हुने कारोबारको भुक्तानीलाई सुनिश्चितता प्रदान गर्न सेटलमेन्ट ग्यारेण्टी फन्ड स्थापना गर्न निर्देशन दिएको छ । नेपाल स्टक एक्सचेन्जले ल्याएको अनलाइन प्रणालीमा हाल कारोबारको राफसाफ टि–प्लस थ्रीमा हुँदै आएकोमा टि–प्लस वनमा ल्याउन अध्ययन गरी आवश्यक नियम परिवर्तनका लागि सिफारिस गर्न निर्देशन दिएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजार सुधारका लागि बनाएको कार्यदलले दिएको मुद्रा तथा पूँजी बजारसम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्न बोर्डले निर्देशन दिएको हो । बजारमा देखिएका प्रवृत्तिहरूको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्न अर्थ मन्त्रालयले दिएको सुझावअनुसार बोर्डले पहल सुरु गरेको हो । प्रतिवेदनमा उल्लेख भएका पूँजी बजारसँग सम्बन्धित सुझावमध्ये केही नयाँ नियामावली तर्जुमा गरेर, केही विद्यमान नियमावली र निर्देशिकामा संशोधन गरेर तथा केही सुझाव नेपाल स्टक एक्सचेन्ज लि. र सीडीएस एन्ड क्लियरिङ लि. बाट कार्यान्वयन गर्नुपर्ने प्रकृतिका रहेकाले बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन जारी गरेको हो ।
बोर्डले सर्वसाधारण लगानीकर्ताको वित्तीय साक्षरता तथा धितोपत्र बजारको विकासको अवस्थालाई मध्यनजर गरी क्रेडिट रेटिङ संस्थाबाट न्यूनतम ग्रेडभन्दा माथिल्लो ग्रेड वा रेटिङ प्राप्त गरेका संगठित संस्थालाई मात्र सार्वजनिक निस्काशन अनुमति प्रदान गर्न, ऋणपत्रको दोस्रो कारोबारलाई विकास गर्न संगठित संस्थाले ऋणपत्र जारी गर्दा जारी रकमको कम्तिमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई बिक्री वितरण गर्नुपर्ने व्यवस्था गर्न सुझाव प्राप्त भएको जनाएको छ । त्यस्तै धितोपत्रको थप सार्वजनिक निष्कासन गर्दा संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिसेयर नेटवर्थभन्दा बढी नहुने गरी प्रिमियम मूल्य निर्धारण गर्नुपर्ने र प्रिमियममा प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा प्रिमियम मूल्य संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिसेयर नेटवर्थको दुई गुणाभन्दा बढी नहुने गरी निष्काशन गर्न सक्ने व्यवस्था गर्न धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा गरिने संशोधनको मस्यौदा तयार गरी बोर्ड बैठकमा प्रस्तुत भइरहेको पनि बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्