‘अर्थमन्त्रीले देशको अर्थतन्त्र प्रत्युत्पादक बनाउन खोजे’ «

‘अर्थमन्त्रीले देशको अर्थतन्त्र प्रत्युत्पादक बनाउन खोजे’

मधेशीहरूप्रति पूर्वाग्रही धारणाबाट अभिप्रेरित भई देशको अर्थतन्त्रलाई दीर्घकालमा प्रभाव पार्ने गरी अर्थमन्त्री डा. खतिवडाले सरकारलाई सहमति दिएका छन् । यो आश्चर्य पार्ने खालको कार्य हो । देशले २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने निर्णय गरेको छ । देशमा स्थलमार्गबाट आउने पर्यटकहरूमा अधिकांश संख्या भारतीयहरूको हुने गरेको छ । यस्तोमा सयभन्दा माथिका भारु नोटमा प्रतिबन्ध लगाइएको छ । अर्थमन्त्रीले ‘गुड मनि’को अध्ययनलाई बिर्सेको जस्तो छ ।
डा. भोगेन्द्र झा
अर्थविद्

 ‘गुड मनि’को अध्ययनलाई गोठघरमा थन्क्याएर अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रलाई प्रत्युत्पादक बनाउन खोजेको आरोप अर्थशास्त्रीहरूले लगाएका छन् । कुनै स्वार्थ विशेषको पक्षपोषण गर्ने उद्देश्यले सयभन्दा माथिका भारतीय नोटलाई नेपालमा भइरहेको प्रचलनबाट हटाउने गरिएको निर्णयबारे उनीहरूले यस्तो बताएका हुन् ।
मधेशीहरूप्रति पूर्वाग्रही धारणाबाट अभिप्रेरित भई देशको अर्थतन्त्रलाई दीर्घकालमा प्रभाव पार्ने गरी अर्थमन्त्री डा. खतिवडाले सरकारलाई सहमति दिएको र यो आश्चर्य पार्ने खालको कार्य भएको डा. भोगेन्द्र झाले बताए । उनले भने, “देशले २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने निर्णय गरेको छ । देशमा स्थलमार्गबाट आउने पर्यटकहरूमा अधिकांश संख्या भारतीयहरूको हुने गरेको छ । यस्तोमा सयभन्दा माथिका भारु नोटमा प्रतिबन्ध लगाइएको छ । अर्थमन्त्रीले ‘गुड मनि’को अध्ययनलाई बिर्सेको जस्तो छ ।”
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण क्षेत्र पर्यटनको विकास र विस्तार हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरी दिलाएको चर्चालाई सरकारले गलत मूल्यांकन गरेको छ । त्यसैगरी जनकपुर र पशुपतिको चर्चाका लागि मोदीको भ्रमणले भारतीय पर्यटकहरूमा कौतूहल जगाएकोमा प्रमाणको आवश्यकता छैन ।
अर्थशास्त्री भन्छन्, ‘असल मुद्राको गुणमध्येको महत्वपूर्ण गुण वहनीयता हो । सयको नोटले गर्ने वहनीयता दुई हजारको नोटले गर्ने भन्दा त्यही अनुपातमा हुने कुरा अरूभन्दा अर्थमन्त्री डा. खतिवडाले कम नबुझेको स्पष्ट छ ।’ अर्थमन्त्रीको निर्णय आफ्नो खुट्टामा बन्चरो हान्ने काम भएको डा. झाले बताए ।
अर्का अर्थविद् तथा राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री डा. सुरेन्द्र झाले सरकारको निणर्य मधेशीहरूसँग प्रतिशोध साँध्नका लागि भएको आरोप लगाए । “मधेशीहरूले यसको उपाय त खोज्नै नै छन् । तर यसको दुष्प्रभाव अर्थतन्त्रमा पर्छ,” उनले भने ।
सहमहामन्त्री डा. झाका अनुसार कालो धन जम्मा गरी राखेका केही स्वार्थ समूहको दबाबमा यो निर्णय गरिएको छ । तर, यसबाट भारतीय पक्षलाई कुनै फरक पर्लाजस्तो देखिँदैन । यसबाट नेपालीहरूलाई नै प्रभावित पार्ने उनले जनाए । उनले भने, “दक्षिण भारतबाट मुक्तिनाथ र पशुपतिनाथ पर्यटक आउने क्रम बढ्दै गइरहेका बेला यस्तो प्रतिबन्धबाट उनीहरू नेपाल भ्रमण गर्न निरूत्साहित हुनेछन् । भारतबाट आउने पर्यटक नोटका बन्डल लिएर आउँदैनन् । बैंकिङ पहुँचका पर्यटकहरूको संख्याभन्दा नभएकाहरूको संख्या अहिले पनि ठूलो छ ।” भारतको तर्फबाट दबाबै दिइएको भए पनि यो निर्णय नेपाली अर्थतन्त्रका लागि अनुकूल निर्णय नभएको डा. झाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्