गुणस्तर चिह्न नलिने ग्यास उद्योगलाई कारबाही «

गुणस्तर चिह्न नलिने ग्यास उद्योगलाई कारबाही

सरकारले गुणस्तर चिह्न नलिने ग्यास उद्योगलाई कारबाही गर्ने भएको छ । खाना पकाउने एलपी ग्यास उद्योगलाई गुणस्तर चिह्न लिन सरकारले अनिवार्य गरे पनि उद्योगीले अटेर गरेपछि कारबाही गर्न लागिएको हो ।

ग्यासबाट हुने दुर्घटना नियन्त्रण गर्न गुणस्तर चिह्न अनिवार्य गरे पनि उद्योगीले त्यसको पालना गरेका छैनन् । नेपाल गुणस्तर तथा नापतौल विभागले ग्यास उद्योगमा गुणस्तर चिह्न (एनएस ५३३) अनिवार्य गरे पनि अहिलेसम्म पाँच वटा उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् ।

विभागले सार्वजनिक सूचना निकालेर २७ माघ ०७३ सम्म सबै ग्यास उद्योगले गुणस्तर चिह्न अनिवार्य गरेको थियो । तर सरकारले दिएको समय बितेको लामो समय भइसक्दासमेत उद्योगहरुले अझै चिह्न लिएका छैनन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगीलाई गुणस्तर चिह्न अनिवार्य गरिए पनि अहिलेसम्म पाँचवटाले मात्र लिएको बताए । “ग्यासलाई सुरक्षित राख्न गुणस्तर चिह्न अनिवार्य गरिएको हो,” महानिर्देशक पुडासैनीले भने, “लामो समय हुँदा पनि सरकारी नियम पालना नगर्ने ग्यास उद्योगलाई कारबाही गर्छौं ।” गुणस्तर चिह्न नलिने उद्योग बन्द गरिने र निगमबाट ग्यास वितरणमा रोक लगाइने उनले जानकारी दिए ।

तिहारपछि अनुगमन गरेर सरकारी मापदण्ड पालना नगर्ने उद्योगलाई कानुनी दायरामा ल्याउने उनको भनाइ छ । गुणस्तर प्रमाण चिह्न ऐनअनुसार मापदण्ड पूरा नगर्ने उद्योगीलाई ३ हजार रुपैयाँ अथवा ६ महिनासम्म जेल हुने व्यवस्था छ ।विभागका अनुसार नेपाल, मनोज, साइवावा, श्रीकृष्ण र एनएल ग्यास प्रालिले  एनएस चिह्न लिएका छन् । १२ वटा एनएस चिह्न लिनका लागि निवेदन पेस परेको विभागले जानकारी दिएको छ । अहिले मुलुकभर ५३ वटा ग्यास उद्योग सञ्चालनमा छन् । 

एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले एनएस चिह्न लिँदा लागत खर्च बढ्ने हुँदा व्यवसायीलाई समस्या परेको बताए । उद्योगको पूर्वाधार निर्माण गर्दा लाग्ने लागत खर्च सरकारले समायोजन गरिदिए व्यवसायी लिन तयार रहेको उनले बताए । “एनएस भएपछि पूर्वाधार फेरि बनाउँदा ग्यास बोक्ने गाडी थप्नुपर्ने भएकाले ढुवानी खर्च पनि बढ्छ,” उनले भने, “त्यसवापतको खर्च दिए तत्काल व्यवसायी गुणस्तर चिन्ह्र लिन तयार छौं ।” गुणस्तर प्रमाणपत्रमा ग्यासलाई कसरी सुरक्षित राख्ने भन्ने कुरामा जोड दिएको हुन्छ । 

सरकारले ग्यास प्लान्टमा फायर फाइटिङ, सिलिन्डर परीक्षण गर्ने हाइड्रोलिक मेसिन, दुर्घटनाबाट बच्ने सुरक्षा सामग्री, ग्यास प्लान्टलाई चाहिने पूर्वाधारमा जोड दिएको छ । यस्तै ग्यास भर्नुअगाडि सिलिन्डर सरसफाइ गर्नुपर्ने, फुटरिङ गर्न नहुने, सिलिन्डर गुणस्तर अनुसार मात्रै प्रयोग गर्नुपर्ने सरकारी नियममा उल्लेख छ । तर हाल सञ्चालनमा रहेका उद्योगमध्ये अधिकांशले मापदण्ड पूरा नगरेको विभागले जनाएको छ । एनएस चिह्नका लागि अनिर्वाय मापदण्डभित्र बस्नुपर्छ । मापदण्डका लागि पूर्वाधार बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्