संसदबाट बजेट पास नहुँदै मन्त्रालयलाई योजना सार्वजनिक गर्ने हतारो «

संसदबाट बजेट पास नहुँदै मन्त्रालयलाई योजना सार्वजनिक गर्ने हतारो


गत असार १ गते बागमती प्रदेशसभामा पेश भएको आगामी आर्थिक वर्ष २०७८/०६९ को बजेट प्रदेशसभाबाट हालसम्म पारित हुन सकेको छैन । बजेटका कतिपय बुँदा सच्याउनुपर्ने, विद्युतीय बस खरिद, आमसञ्चार माध्यम स्थापना, सुरुङमार्ग र मेट्रोरेल सञ्चालन गर्नेजस्ता योजना हटाउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले पटकपटक संसद अवरुद्ध गरिरहेका छन् ।


प्रदेशसभाबाट बजेट पारित भएपछि मात्रै मन्त्रालय वा सम्बन्धित निकायले बजेट कार्यान्वयनको अधिकार प्राप्त गर्नेछ । तर, प्रदेशसभामा आगामी वर्षको बजेट विचाराधीन रहेको अवस्थामा बागमती प्रदेशका मन्त्रालयहरुले भने धमाधम आगामी वर्षका योजनाहरु सार्वजनिक गर्न थालेका छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलन नै गरी चालु वर्षको योजनाको समीक्षा गर्दै आगामी वर्षको कार्यक्रमहरुसमेत सार्वजनिक गरेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले पत्रकार सम्मेलन गरेर आगामी आर्थिक वर्षको योजनाहरु सार्वजनिक गरे । उनले सार्वजनिक गरेको आगामी वर्षको योजनामा प्रदेशसभामा विचाराधीन रहेको विद्युतीय बस खरिद, सुरुङमार्ग निर्माण, मेट्रो रेल सञ्चालन जस्ता योजनाहरु पनि समेटिएका थिए । जबकी प्रदेशसभाका सदस्यहरुले यी योजनाहरु हटाउन माग गरिरहेका छन् । यी योजना नहटाइएसम्म बजेट नै पारित हुन नदिने प्रतिपक्षी दलहरुको अडान छ । भौतिक पूर्वाधार विकास मन्त्री फुयाँलले भने विद्युतीय बस खरिद गर्ने निर्णय जसरी पनि कार्यान्वयन गराउने अडान व्यक्त गरे ।


भौतिक पूर्वाधार विकास मन्त्रीकै सिको गर्दै सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले पनि पत्रकार सम्मेलनको आयोजना गर्दै चालु वर्षको योजना कार्यान्वयनको समीक्षा गर्दै प्रदेशसभाबाट पारित नै नभएको आगामी आर्थिक वर्षको योजनाहरुको फेहरिस्त प्रस्तुत गरिन् । मन्त्रालयले शिक्षा, स्वास्थ्य, खेलकुद तथा विज्ञान प्रविधि र सामाजिक क्षेत्रमा कार्यान्वयन गर्न लागेको योजनाहरु बुँदागत रुपमा उल्लेख गरी सार्वजनिक गरिएको थियो ।

प्रदेशसभाबाट बजेट नै पारित नभइसकेको अवस्थामा मन्त्रालयबाट बजेट तथा कार्यक्रम सार्वजनिक गर्नु कतिको जायज हो भनी पत्रकारहरुले सोधेको प्रश्नमा सामाजिक विकास मन्त्री बस्नेतले आफूहरुले आगामी वर्षको कार्यक्रमको मुख्यमुख्य बुँदा मात्रै सार्वजनिक गरिएको बताइन् । बजेटमा सच्चिएको खण्डमा आफूहरुले सोहीअनुसार सच्याएर कार्यान्वयन गर्ने उनको भनाइ थियो ।
प्रदेशसभाबाट बजेट पारित नभइसकेको अवस्थामा मन्त्रालयले आफूखुसी बजेट र कार्यक्रम सार्वजनिक गर्नु बदनियत देखिएको जानकारहरुको बुझाइ छ । विपक्षीहरुसँग प्रयाप्त छलफल र संवाद पनि नगर्ने र योजनाको दीर्घकालीन फाइदासमेतको मूल्यांकन नगरी सरकारले गरेका निर्णय जबरजस्त कार्यान्वयन गराउनेतर्फ लाग्नु गलत हुने राष्ट्रियसभा सदस्यसमेत रहेका बागमती प्रदेशका नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष खिमलाल देवकोटाको भनाइ छ ।


“प्रदेशसभामा बजेट तथा योजना पेश भइसकेको छ, पारित भइसकेको छैन । त्यस्तो अवस्थामा प्रदेशसभामा विवादमा नआएका योजनाहरु कार्यान्वयनतर्फ जानु त ठिकै होला तर, जुन योजनाहरुको बारेमा प्रश्न उठेको छ, त्यहि योजनाहरु कार्यान्वयनमा लैजान जबरजस्ती गर्नु चाहिँ बदनियत हो” देवकोटाले भने । भीमफेदी सुरुङमार्ग निर्माण, विद्युतीय बस खरिदलगायतमा सत्तारुढ दलभित्रै पनि विवाद रहेको भन्दै उनले विवादको समाधान नगरी जबरजस्त अघि बढ्न नहुने सुझाव दिए । विद्युतीय बस खरिद गर्ने, सञ्चार माध्यम सञ्चालन गर्ने जस्ता काम सरकार आफैंले गर्न नहुने उनको तर्क छ । त्यसको लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्दै व्यवस्थित गर्नुपर्ने देवकोटाको भनाइ छ ।¬


नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक छिरिङ दोर्जे लामाले प्रदेशसभाबाट बजेट नै पारित नहुने अवस्था देखिएपछि भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्री अत्ताल्लिएको तर्क गरे । “भौतिक पूर्वाधार विकास मन्त्रालयमा बस खरिदलगायतको खरिदमा कमिशनको खेल हुँदै थियो, सामाजिक विकास मन्त्रालयले चुनाव केन्द्रित कार्यकर्ता पोस्ने बजेट बनाएको थियो । यी योजना कार्यान्वयन नहुने भए भन्ने लागेर प्रदेशसभाबाट बजेट नै पारित नभइसकेको अवस्थामा मन्त्रीहरुले आफ्नो योजना सावर्वजनिक गर्न हतारिएका हुन्” सांसद लामाले भने ।
प्रदेशसभामा पेश भएको मन्त्रालयगत बजेटसमेत मन्त्रिपरिषद्बाट पारित भएर आउनुपर्नेमा सिधै मन्त्रीस्तरीय निर्णयबाट आएको भन्दै लामाले आफूहरुले त्यसको पनि सशक्त विरोध गरिरहेको बताए । पर्याप्त संरचना निर्माण नगरी विद्युतीय बस खरिद गर्नु, मेट्रो रेल सञ्चालन, मिडिया हाउस सञ्चालन गर्नेजस्ता योजनाहरु बजेटबाट नहटाइए विपक्षी दलले बजेट पारित हुनै नदिने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्