प्रधानन्यायाधीश राणाले सम्हाले पदभार «

प्रधानन्यायाधीश राणाले सम्हाले पदभार

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार शपथ लिएपछि सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश राणाले यसअघि संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई कुनै पनि हालतमा इजलाश नतोक्ने बताए । जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिएको राणाको भनाइ थियो । “संसदीय समितिमा मैले संसद्को निर्णयको सम्मान गर्छु भनेको छु, त्यसैले आज वरिष्ठतम न्यायाधीशलाई पेसी तोकिएको छैन । आउँदा दिनमा पनि उहाँलाई पेसी तोकिने छैन,” राणाले भने, “मेरा मित्रलाई मैले अदालतबाट अलग भइदिन हार्दिक अनुरोध गर्छु ।”
प्रधानन्यायाधीश प्रस्तावित हुँदा जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्विकृत गरेको थियो । त्यसपछि घर फर्कने ठानिए पनि जोशी अदालत नै फर्किएका थिए । पदभार ग्रहणपछि उनले अदालत र न्यायाधीशमाथि गलत आक्षेप नलगाउन पनि सञ्चारमाध्यमको ध्यानाकर्षण गराए । “अदालत र न्यायाधीश संवेदनशील विषय हो, यो संस्थालाई बचाउनु तपार्इंको दायित्व र धर्म दुवै हो । धर्म भुल्नुभयो भने स्वतन्त्र र निष्पक्ष न्यायलय पाउनुहुन्न,” राणाको भनाइ थियो । उनले यसअघिका प्रधानन्यायाधीशले जस्तै न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्ने पनि बताए । मंगलबारबाट प्रधानन्यायाधीश ओमप्रकाश मिश्र कार्यकाल पूरा गरी घर फर्किएका थिए भने संसदीय सुनुवाइ समितिले बुधबार राणाको नाम अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्