वर्षात्मा जहिलै विद्युत् समस्या «

वर्षात्मा जहिलै विद्युत् समस्या

रुकुम पूर्वको सदरमुकाम रुकुमकोट बजार र रुकुम पश्चिमको सबै पालिकामा विद्युतीकरण भइसकेको विद्युत् सेवा हरेकवर्षको वर्षायाममा अनियमित हुने गरेको छ । सल्यानको श्रीनगरदेखि विस्तार गरिएको केन्द्रीय प्रसारणको ११ केभीए क्षमताको भोल्टेज कम हुँदा दुईवटै जिल्लाको विद्युत् सेवा अनियमित हुने गरेको हो ।


केन्द्रीय प्रसारणको विद्युत् सेवा विस्तार भएको पाँच वर्षसम्म पनि रुकुम पश्चिम र रुकुम पूर्वमा विद्युत् अनियमित बन्दा उपभोक्ता मारमा परेका छन् । हरेक वर्ष मनसुन सुरु हुने बित्तिकै पटकपटक अनियमित भइरहने विद्युत् सेवाका कारण दुईवटै जिल्लाका उपभोक्ताले राम्रोसँंग विद्युत् प्रयोग गर्न नपाएको गुणासो गर्दै आएका छन् । अनियमित विद्युत् सेवाबाट इन्टरनेट, फोन तथा विभिन्न कार्यालय, उद्योग, कलकारखाना लगायतको काम प्रभावित भएको हुँदा जिल्लाबासीले विद्युत् सेवा नियमित गर्नुपर्ने स्थानीय हरिबहादुर खत्रीको भनाइ छ ।

जिल्लामा विस्तार गरिएको केन्द्रीय प्रसारणको विद्युत्सेवा अन्य समयमा भन्दा वर्षायाममा बढी अनियमित बन्ने गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम पश्चिमले भने श्रीनगरदेखि रुकुमसम्मको ठाउँठाउँमा पहिरो जाने र रुख भाँचिएर पोलमा आउने समस्याका कारण विद्युत्सेवा अनियमित हुनेगरेको रुकुम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताए ।


रुकुम पूर्व र पश्चिममा मात्र झण्डै १२ हजार बढी घरधुरीले केन्द्रीय प्रसारणको विद्युत् उपभोग गर्दै आएका छन् । गाउँगाउँमा समेत केन्द्रीय प्रसारणको विद्युत्सेवा विद्युतीकरण भइसकेकाले अब रुकुम पश्चिमको धैरेनीचौरमा निर्माण गरिएको ३ एमभीए क्षमताको विद्युत् सबस्टेसनबाटै विद्युत् सेवा नियमित गर्ने तयारी गरिएको छ । तर कोरोनाका कारण विद्युत् सबस्टेसन सञ्चालनमा ढिलाइ भएको वितरण केन्द्रको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्