सेती नदी थुनिने जोखिम बढ्यो «

सेती नदी थुनिने जोखिम बढ्यो


पोखराको मध्यभाग हुँदै बग्ने सेती नदीको किनार क्षेत्रको धाँजा फाटेसंँगै खसेको डिस्कोले नदी थुनिन सक्ने जोखिम बढेको छ । सेती नदीस्थित रातोपहिराको अमिनताराको डिस्को खसेपछि सेती नदीमा नदी थुनिन सक्ने जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् ।


पोखरा–१७ रातोपहिराकी एक स्थानीय रेस्टुराँ व्यवसायी अस्मिता क्षेत्रीले सेती नदीमा ठूलो डिस्को खसेर नदी थुनिन सक्ने भएकाले चिन्त्ता व्यक्त गरेकी छन् । सेती नदी थुनिन सक्ने जोखिमलाई समयमै व्यवस्थापन गर्न उनले माग गरेकी छन् । जोखिम रहेको उक्त क्षेत्रमा हाल रातो रिबनमात्र लगाइएको छ भने उक्त क्षेत्रमा तत्काल तारबार लगाउनु पर्ने अमिनताराकी स्थानीय केशरानी कटिकले बताइन् । पहिरोभन्दा करिब ४० मिटरनजिक घरमा आफूहरू हाल जोखिम सहेरै बस्न बाध्य भएको उनले जनाइन् ।


केही दिनअघि परेको ठूलो वर्षात्का कारण केही समय अघिदेखि चर्किएको भागसहितको डिस्को सेती नदीमा खसेकाले अमिनताराको बस्ती नै हाल पहिरोको उच्च जोखिममा परेको पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश पौडेलले बताए । पोखरा महानगरपालिकाले ५० मिटरको सेती नदी किरानको मापदण्ड घटाएर ३० मिटरमा कायम गरेसँंगै सेतीनदी क्षेत्रको धेरै बस्ती नै उच्च जोखिमा भएको अध्यक्ष पौडेलको दाबी छ । उनका अनुसार हाल अमिनताराका दुई घर पूर्णरूपमा क्षति भएको छ भने दुई घर विस्थापित भएका छन् । गत मंसिरमा केही भाग खस्न सुरु भए पनि यस वर्षको पानीले असार २४ गते बिहीबार २० मिटरको चौडाइ र एक सय मिटर जति लम्बाइको भाग खस्न पुगेको अध्यक्ष पौडेलले बताए । अमिनताराका करिब १७५ घरधुरीले खानेपानीको बोरिङसमेत यसपालिको पहिरोले लगेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्