जापानी प्राविधिक टोली छलफलका लागि माघ २ मा नेपाल आउँदै «

जापानी प्राविधिक टोली छलफलका लागि माघ २ मा नेपाल आउँदै

रोजगारीका लागि नेपाली युवा लैजाने सम्बन्धमा जापानले नेपाल सरकारलाई आधिकारिक अवधारणा बनाउन अनुरोध गरेको छ । जापान सरकारले नेपाली कामदार लैजाने सम्बन्धमा गरेको निर्णयसँगै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग अवधारणा माग गरेको हो ।
नेपालबाट के कस्ता कामदार माग गर्ने भन्ने सम्बन्धमा नेपाललाई अवधारणा बनाउन अनुरोध गरेको श्रम सचिव महेशप्रसाद दाहालले जानकारी दिए । “जापान सरकारले नेपालबाट कामदार लैजाने सम्बन्धमा आएका समाचारलाई आत्मसात गरेर नेपालबाट कामदार लिने सम्बन्धमा इच्छुक रहेको जनाउँदै अवधारणा पठाएको छ,” सचिव दाहालले कारोबारसँग भने, “जापान सरकारबाट आएका अवधारणाका बारेमा मन्त्रालयले अध्ययन गर्दैै छ ।” यस विषयमा छलफल गर्न जापानी प्रतिनिधि नेपाल सरकारसँग छलफल गर्न जनवरी १६ तारिख अर्थात माघ २ गते नेपाल आउने मिति तय भएको भएको छ । जापानी प्रतिनिधि नेपाल आएपछि अझ विस्तृत रूपमा छलफल हुने मन्त्रालयले जनाएको छ । यसरी छलफलमा आउने जापानी प्राविधिक प्रतिनिधि अन्य श्रमिक स्रोत मुलुकसहित नेपाल आउने योजना छ । जापानले नेपाली कामदार लैजाने सम्बन्धमा पठाएको अवधारणापत्रमा नीतिगत सहित के कस्ता क्षेत्रमा नेपालबाट कामदार लैजाने भन्ने बारेमा समेत नेपाललाई धारणा बनाउन अनुरोध गरिएको छ ।
जापान सरकारले आफ्नो पछिल्लो निर्णयअनुसार नेपाललाई औपचारिक रूपमै अवधारणा समटेर ड्राफ्ट पठाएको हो । नेपालले बनाउने अवधारणामा नेपाली कामदारको सुरक्षा, सेवा सुविधा र कानुनी पक्षका विषयमा छलफल गरेर मात्र निर्णय लिने भएको छ । नेपाल सरकारले सम्पूर्ण तयारी पूरा गरी वैशाखबाट नेपाली कामदार पठाउने सम्बन्धमा गृहकार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।
जापानी सरकारले कम्तीमा ३ लाख ४५ हजार विदेशी कामदारलाई रोजगारीका लागि आफ्नो देशमा लैजाने निर्णय यसअघि नै गरिसकेको छ । नेपाल सरकारले ३० हजार नेपाली युवालाई रोजगारी दिन जापानलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ । जापानले दक्ष कामदारको माग गर्ने जनाउँदै आए पनि नेपाल पक्षले नर्सिङ, केयरगिभर, रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा धेरै नेपालीलाई लैजाने देखिएको छ । यसैगरी नेपाली कामदारको उद्योग र कृषि क्षेत्रमा समेत अनुभव रहेका कारण यो क्षेत्रमा पनि ठूलो संख्यामा कामदार जानसक्ने देखिन्छ । नेपालले कामदार पठाउनुअघि कामदारको सुरक्षाका लागि जापानको भम्रण गरी प्राविधिक टोलीसँग छलफल गरी निर्णय गर्ने जनाएको छ ।
हाल थोरै संख्यामा जापानी संस्था जिट्कोले कामदारको रूपमा नेपालीको माग गरिरहेकोे प्रशिक्षार्थी कामदार प्राणालीलाई रद्द गरी २ देशबीच छुट्टै श्रम सम्झौता गरी कामदार पठाइने छ । सन २००५ देखि जिट्कोमार्पmत न्यून संख्यामा नेपालीका कामदार जापान गइरहेका छन् ।
जापान पठाइदिने भन्दै ठगी गर्ने समूह सक्रिय
नेपाली कामदार जापान पठाउने सम्बन्धमा सरकारले आधिकारिक संयन्त्र बनाइ नसकेका बेला जापानको लागि कामदार भिसा आएको हल्लाका सम्बन्धमा सचेत रहन सरकारले अनुरोध गरेको छ ।
वैदेशिक रोजगार विभागले सूचना जारी गरी केही व्याक्ति, संस्था र मेनपावर कम्पनीले जापान पठाइदिन्छु भनेर सूचना जारी गरकोमा सचेत रहन अनुरोध गरेको छ । विभागमा महानिर्देशक दीलिपकुमार चापागाईंले सरकारी हैसियतबाट जापानमा कामदार पठाउने अवस्था सिर्जना नभएको जनाउँदै अहिलै नै पूर्ण निर्णय नआइसकेको अवस्थामा जापान पठाइदिने प्रलोभनमा नपर्न सुझाव दिएका छन् । “जापान पठाउने सम्बन्धमा सरकारले पूर्ण रूपमा संयन्त्र तयार नगरी कसैले पैसा उठाउँछ भने त्यो अपराध हो,” महानिर्देशक चापागार्इंले भने, “जापान कामदार पठाउने सम्बन्धमा अहिले नै कोही कसैले कामदारबाट पैसा लिने र अन्य कुनै काम गरेको पाइएमा कारबाही गरिने छ ।” विभागले बुधबार विज्ञप्ति जारी गर्दै केही समय अघिदेखि व्यक्ति, कम्पनी तथा वैदेशिक रोजगार सञ्चालनको लागि इजाजतप्राप्त संस्थाहरू समेतले जापान देशको लागि वैदेशिक रोजगारमा कामदारहरू पठाउने तथा श्रम अनुमतिसमेत खुलेको भनी भ्रामक सूचना प्रकाशित भएमा सचेत रहन अनुरोध गरेको छ । नेपालबाट जापानमा रोजगारीमा कामदार पठाउने विषयमा हालसम्म नेपाल सरकारले कुनै आधिकारिक निर्णय गरी नसकेको अवस्थामा यस्ता गतिविधि बन्द गर्न विभागले अनुरोध गरेको छ । जापान पठाउने सम्बन्धमा गैरकानुनी क्रियाकलाप गरे वैदेशिक रोजगार ऐन तथा नियमअनुसार तत्काल कारबाही गरिने समेत जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्