कांग्रेसमा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा «

कांग्रेसमा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ ।
शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापन इतर समूहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडि बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए ।


पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखी नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले सबैको साझा उम्मेदवार बनाउने प्रयत्नको प्रयास थालिएको उनले बताए । उनले भने, ‘पार्टी भित्र संस्थापन र संस्थापनइतर भनेर चिनिएका साथीहरु बीचमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर हामी जो लड्छौँ एकजना लड्छौँ र एकजनाको स्थिति निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल केन्द्रीत हो र त्यसका निम्ति के–कस्ता मोडालिटी र आधारहरु बनाउनुपर्छ र ति आधारहरुको निर्माण गर्दै समग्र रुपबाट एउटा उम्मेदवार बनाउने प्रयत्नको प्रारम्भिक प्रयास हो ।’


नेता केसीले क्रियाशिल सदस्यतामा देखिएको आन्तरिक विवाद, राष्ट्रिय परिस्थिति र समसामयिक राजनीको विषयमा सर्वोच्च अदालतबाट आउने फैसलापछिको परिदृश्यको सम्बन्धमा पनि छलफल भएको जानकारी दिए । बैठकपछि नेतृ सुजाता कोईरालाले संस्थापन इतर समूहमा सभापतिको उम्मेदवारको विषयमा कुनै विवाद नभएको बताइन् । आफूहरु एक भएर अघि बढ्ने उनले प्रतिक्रिया दिइन् । उनले भन्,ि ‘हाम्रो बिचमा कुनै विवाद छैन । विवाद हुँदैन र एकजनाले उम्मेदवार दिन्छ त्यसबारेमा हामीले छलफल गरिरहेका छौँ । निर्णय भईसकेको छैन तर अब छिटो हुन्छ । हामी सबै एक छौँ । हामी एक भई जान्छौँ । एकजनाको उम्मेदवारी दिन्छौँ ।’
कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै संस्थापन र संस्थापन इतर पक्षका नेताहरुले आ–आफ्नो भेलालाई निरन्तरता दिईरहेका छन् । कांग्रेसमा आधा दर्जन बढी नेताहरुले सभापतिको आकांक्षा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्