दैनिकी अब सामान्यतर्फ उन्मुख हुँदै «

दैनिकी अब सामान्यतर्फ उन्मुख हुँदै

कोरोनाले विश्वकै अर्थतन्त्र डामाडोल पारिराखेको समयमा हाम्रो देशको झनै के कुरा गर्नु र ! कोरोना अनि त्यसमाथि प्राकृतिक प्रकोप (बाढी र पहिरो) दुवै मिलेर देश तहसनहस बनाइरहेछ । जनतालाई ‘घरको न घाटको’ भनेझैँ बनाइरहेछ । देशमा राजनीतिक परिवर्तन होस् या आर्थिक परिवर्तन, जताबाट पनि मारमा पर्ने भनेको सोझा जनता नै हुन् ।
वैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएकोमा हाल असार २२ गतेबाट जोरबिजोर प्रणाली पनि हटाइएको छ । यसरी निषेधाज्ञा खुकुलो बनाएपछि मानिसहरूले निकै सहज भएको महसुस गरेका छन् । विगत डेढ महिनादेखि लकडाउन हुँदा कतिपय व्यवसाय बन्द भएका छन् भने कैयौं मानिसले आफ्नो रोजगारी गुमाएका छन् । निम्न आय तथा दिनहुँजसो ज्याला–मजदुरी गरेर आफ्नो पेट पाल्ने मानिसहरूलाई आफ्नो दैनिकी टार्न कति गाह्रो भयो होला भनेर हामी अन्दाज पनि लगाउन सक्दैनौं । यसरी जनताको मनोभावना बुझेर बिहानदेखि साँझ ६ बजेसम्म आफ्नो सानोतिनो व्यापार–व्यवसाय खोल्न पाउनाले र सार्वजनिक यातायातहरूमा लगाइएको जोरबिजोर प्रणाली हटाउनाले अधिकांश मानिसको मनमा अबचाहिँ आर्थिक स्थिति उकास्न सकिन्छ कि भन्ने आशा पलाएको छ ।
सबै क्षेत्रमा मानिसहरूको चहलपहल तथा जताततै पहिलेको जस्तै गरेर भीड बढेको छ भने सडकमा पनि यातायातको चाप बढी छ । मानिसहरूले पहिलेजस्तै गरेर आफ्नो कार्यलाई निरन्तरता दिन थालेका छन् । यतिका महिनासम्म सम्पूर्ण व्यवसाय तथा यातायातहरू बन्द हुँदा ऋण लिएर ब्याज तिर्दै सञ्चालन गरेका व्यवसायी तथा सवारी चालकहरूलाई यतिबेला रुनु न हाँस्नु भनेझैं भएको छ । सटर भाडामा लिएर पसल सञ्चालन गर्नेले पनि घरधनीलाई भाडा दिनैप-यो, चाहे व्यापार होस् या नहोस् । भाडा माग्नु पनि जायज नै हो, किनकि घरधनीले पनि ऋण लिएर घर बनाएका हुन्छन् । निषेधाज्ञा खुकुलो बनाउनाले जनताले साँझसम्म व्यापार गर्न पाउने भएका छन् । ठेलामा नै भए पनि तरकारी, फलफूल, कपडालगायतका अन्य सामानहरू बेचबिखन गरेर भए पनि साँझ–बिहानको जोहो गर्न त सक्ने भए । न्युरोडका ती मजदुरहरू, जसले भारी बोकेर आफ्नो परिवार पालिरहेका थिए, निषेधाज्ञा हुँदा भोकभोकैसमेत बस्न बाध्य भएका थिए । कैयौं मानिस निषेधाज्ञाको पीरले आफ्नो जागिर तथा सानोतिनो व्यवसाय छाडेर आफ्नो घर फर्केका थिए भने कतिपय मानिसलाई अहिले आर्थिक स्तरमा आएको ह्रासको कारणले मानसिक तनाव बढेको छ । त्यसैले निषेधाज्ञा खुकुलो बनाउन जरुरी पनि छ । किनकि सधैंभरि कोरोनाको त्रास मनमा लिएर बसेर आफ्नो गुजारा हुँदैन ।
मानिसहरू रोगले भन्दा भोकले मर्ने अवस्था आउन सक्छ । यही पेट पाल्नका लागि हो काम गर्नुपर्ने ! यदि पेट नै भोको छ र गुजारा गर्नका लागि केही उपाय नभएपछि हो, समाजमा चोरी–डकैतीको खतरा बढ्ने । यसै प्रसंगसँग सम्बन्धित एक उदाहरण, टीकाथलीमा एक मुसलमान व्यक्तिले सानो जस्ताको टहरोमा पानलगायत थोरै थोरै मात्रामा चाउचाउ, बिस्कुट राखेर बेच्ने गर्थे । निषेधाज्ञाकै क्रममा उक्त पसलको छानो भत्काएर चाउचाउ, बिस्कुटजस्ता खानेकुराहरू चोरी भएछ । यसलाई देखेर हामी आफैं अन्दाज लगाउन सक्छौं, भोकले मानिसलाई जे पनि गर्न र गराउन सक्छ । त्यसैले निषेधाज्ञा खुकुलो भएपश्चात् सम्पूर्ण व्यक्तिहरू आफ्नो कार्यालय नियमित जान पाएका छन् । यातायात खुल्नाले मानिसहरूलाई आवतजावत गर्न सहज भएको छ । सबैले स्वास्थ्यको मापदण्ड लापरवाही नगरी पालना गरांै र स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर आफ्नो कार्य तथा व्यवसायलाई निरन्तरता दिने गरौं ।

प्रतिक्रिया दिनुहोस्