Logo

अहिलेको समयमा प्रविधिको विकासको कारणले उत्पादनमा कुनै समस्या नहुनुपर्ने हो, तर हाम्रो मुख्य समस्या नै उत्पादन कम हुनुमा छ ।

नाफा र घाटाको चक्करमा फसेको नेपाल

मान्छेको जीवन भौतिक रूपले सुविधासम्पन्न हुने भनेको आवश्यक पर्ने गुणस्तरीय सामान, सुविधा र सेवाहरू बनाएर प्रयोग गर्नु नै हो । मान्छेलाई आवश्यक पर्ने भनेको शिक्षा, स्वास्थ्यको सेवा साथै राम्रो गाँस, बास, कपास अनि मनोरञ्जन हो, यी उल्लिखित कुरा प्रयोग गर्नका लागि ती चिज बनाउनुपर्ने पहिलो आवश्यकता हो । यति कुरा थाहा भइसकेपछि अब ती चिज कसले बनाउने, कति मात्रामा बनाउने, कुन ठाउँमा बनाउने, कस्ता सामान र सुविधा बनाउने साथै कसरी तिनको बिक्री–वितरण गर्ने र ती चिजहरू बनाउँदा गर्नुपर्ने कामहरूको भागबन्डा के आधारमा गर्ने अनि ती कामहरू गरेबापत कुन कामको कति–कति सुविधा दिने भन्ने कुरा यसको सुरुवाती चरणदेखि अहिलेसम्मकै समस्याको विषय बन्दै आएको छ । जुन देशले यही सामान्य काम र सुविधाको सम्बन्धका बारेमा राम्रोसँग कुरा बुझेर प्रविधिको प्रयोग गरेर कामलाई छिटोछरितो बनाई आवश्यक सामान र सुविधाको निर्माणमा एकजुट भएर अगाडि बढे, ती सबै देश सुविधासम्पन्न बने । तर, जुन देश त्यही काम र सुविधाबीचको सम्बन्ध बुझ्न नसकेर पैसाको किचलोमा खुराफाती लफडामा अल्झेर बसे, ती देश भिखमङ्गा देश बनेर चल्दै छन् ।
के नेपाल मरुभूमिको देश हो र ? के नेपालमा ठूलो आतंककारीको लफडा छ र ? के नेपाली जनता काम गर्न नखोजेर जोगी बन्न खोजेका छन् र ? के नेपालसँग आवश्यक साधन र स्रोत नभएको हो र ? के नेपालका विश्वविद्यालयले फन्टुस जनशक्ति निर्माण गरिरहेको छ र ? के नेपालीसँग सोच्न सक्ने दिमाग नै नभएको हो र ? यी माथिका उल्लिखित कुनै पनि कुरामा नेपालमा समस्या छैन, उसो भए समस्या कहाँ छ त ? प्रश्न बडो गम्भीर तरिकाले एकपटक सबैले आफैंलाई सोध्नोस्, किनकि नेपाल संसारकै भिखमङ्गा देश गराउनका निम्ति तपाईं–हामी सबैको केही न केही योगदान छ । त्यसैले अब यो भिखमङ्गा भिखमङ्गा देशबाट सधैंका लागि बाहिर निस्किन अझै पनि हाम्रो पुस्ता अलमलियो भने आगामी पुस्ताले हामीलाई सराप्नेछ, किनकि हाम्रो आगामी पुस्ता संसारभन्दा निकै पछाडि परिसकेको हुनेछ र अहिलेजस्तै अरूको गुलाम गर्न बाध्य हुनेछन् ।
अब हाम्रो गरिबी र पछौटेपनलाई सदाका निम्ति हटाउन हामीले आँखा नखोली हुँदैन । त्यसैले यसका लागि केही सामान्य कुरा बुझ्न आवश्यक छ । त्यो हो पैसा । सबैको दिमागमा के छ भने नेपाल गरिब छ, पैसा नै छैन, काम गरे पनि पैसा नै हँुदैन, व्यापार गरे पनि नाफा नै हुँदैन र उल्टो घाटा लागेर बन्द गर्नुपर्ने अवस्था हुन्छ, त्यही कारणले नै धेरैजसो नयाँ युवाहरू नेपाल बस्न खोज्दैनन् र बिदेसिन बाध्य हुन्छन् । हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भने पैसा भनेको साधन मात्रै हो, खासमा हाम्रो साध्य भनेको हामीले प्रयोग गर्ने सामान, सुविधा र सेवा हो । यसलाई उदाहरणबाट बुझौं । मानौं, जंगलमा काठ छ, जुन निःशुल्क ल्याउन पाइन्छ, अब तपाईंले त्यो काठ आफैं बोकेर ल्याएर त्यसलाई आफ्नै हाते औजार प्रयोग गरेर १ महिनामा ३० वटा कुर्ची बनाउनुभयो अनि तपार्इंको आफ्नो तलब एक महिनाको रु. १५ हजार राख्नुभयो भने अब ती कुर्चीको मूल्य कम्तीमा ५ सय प्रतिगोटा पर्ने हो । अब मानौं, तपाईंले तपाईंको तलब मासिक रु. १५ सय राख्नुभयो भने अब ती कुर्चीको न्यूनतम मूल्य प्रतिगोटा रु. ५० पर्नेछ । त्यसैले यसमा जुन देशले मासिक तलब १५ सय गराए, अब ती देशका पैसा मूल्यवान् भए । जस्तै अमेरिकामा लेबरको तलब मासिक १५ सय डलर छ, त्यसैले त्यहाँको पैसा मूल्यावान् भयो । जुन देशमा लेबरको कामको तलब धेरै छ, त्यो देशको पैसा कम मूल्यवान् हुने हो । यस्तो अवस्थामा अब अमेरिकाको १ डलरबराबर हाम्रो १० रुपैयाँ हुने हो । कुरा यत्तिमै सकिँदैन । अब त्यो अमेरिकाको लेबरले प्रविधि प्रयोग गरेर १ महिनामा ३ सयवटा कुर्ची बनायो भने अब उसको कुर्चीको न्यूनतम मूल्य डलर ५ मा झर्छ । त्यति नै बेला हाम्रोमा एउटा कुर्चीको न्यूनतम मूल्य रु. ५ सय छ भने यस्तो अवस्थामा अब १ डलरबराबर रु. १ सय नेपाली विनिमयदर तय हुने हो, किनकि त्यहाँ ५ डलरमा पाइने सामान हाम्रोमा रु. ५ सय पर्छ भने अब पैसाको विनिमयदर १ डलरबराबर रु. १ सय हुने हो । यो सानो उदाहरणबाट के बुझ्न सकिन्छ भने पैसा भनेको महŒवपूर्ण कुरा होइन रहेछ, यो त साधन मात्रै रहेछ । साथै, हाम्रो पैसा कम मूल्यवान् हुनुको कारण हाम्रो कामदारलाई दिँदै आएको तलबको अंक धेरै हुनुका साथै हाम्रो उत्पादकत्व कम भएका कारण हाम्रो पैसा अन्य धेरै देशहरूको तुलनामा कम मूल्यवान् भएको रहेछ भनेर प्रस्ट हुन जरुरी छ ।
अब कुरा उत्पादन र उत्पादकत्वको, कुनै पनि कुरा प्रयोग गर्नका लागि उत्पादन गर्नैप¥यो, त्यही उत्पादन गर्दा रोजगारी सिर्जना हुन्छ र त्यही रोजगारी पाएकाले किन्ने हो । फेरि माथिको फर्निचरकै उदाहरणलाई हेरौं, यदि उसले जंगलबाट त्यो काठ ल्याएर कुर्ची नबनाएको भए हामीले त्यो प्रयोग गर्न सक्दैनथ्यौं, तर उसले ती कुर्ची बनाउँदा एक महिना रोजगारी पायो र त्यो कुर्ची अन्य व्यक्तिलाई बिक्री गरेर अन्य व्यक्तिबाट पाएको पैसाले अन्य व्यक्तिले उत्पादन गरेका विविध आवश्यक सामानहरू उसले किनेर ल्याउन सक्ने भयो । यहाँ राम्रोसँग बुझ्नुहोला, यदि उसले कुर्ची नबनाएको भए कुर्ची त बन्ने नै थिएन, साथै अरू मान्छेले बनाएर बेच्न राखेको सामान पनि ढिलो बिक्री हुने थियो, किनकि अहिले त कुर्ची बनाएको मान्छेले कुर्ची बिक्री गरेको पैसाले आफ्ना सुविधा बढाउनका निम्ति अनेकौं सामान खरिद गर्दा अरू मान्छेहरूको पनि व्यापार वृद्धि भएको हो, त्यसैले कुनै व्यक्तिले कुनै उपयोगी चिज बनाएर बिक्री गर्नेबित्तिकै त्यसले अर्थतन्त्र वृद्धि गर्नका लागि ठूलो भूमिका खेलेको हुन्छ, यसरी व्यापारको वृद्धिले नै कुनै पनि देश आर्थिक रूपले सम्पन्न हुने हो । यही सामान्य कुराको गहिरो बुझाइबाट नै हरेक विकसित देशका सरकारहरू आफ्नो देशको व्यापार वृद्धिका लागि निकै मेहनत गरिरहेका हुन्छन् । त्यसैले उत्पादन नै मुख्य कुरा हो, जसले रोजगारी सिर्जना गर्दै आवश्यक सेवा र सुविधाको निर्माण गरेको हुन्छ । अब त्यही उत्पादन गर्नेदेखि बिक्री–वितरण गर्दासम्म पुरानो तरिकाले काम गरेर थोरै सामानमात्रै उत्पादन गरियो र बिक्री–वितरण गरियो भने सबैको भागमा कम सामान र सुविधा पर्ने हो । त्यही कुर्ची बनाउँदा हाते औजार प्रयोग गर्नुको साटो नयाँ किसिमको मेसिन प्रयोग गरेर कुर्ची बनाएको भए उसले अब एक महिनामा ३ सय वटा कुर्ची बनाउन सक्ने हुन्थ्यो । अब ती कुर्ची बेचेर आउने पैसा पहिलेभन्दा निकै बढी हुने भएकाले अब उसले आफ्नो लागि पनि पहिलेभन्दा धेरै सामान र सुविधा खरिद गर्न सक्छ । अब उसले धेरै सामान खरिद गर्दा अरू व्यापारीको पनि बिक्री बढेर उनीहरूले पनि नयाँ–नयाँ प्रविधि ल्याएर थोरै समय र श्रमको प्रयोग गरेर धेरै सामान बनाउन थाल्नेबित्तिकै सबैको आम्दानी वृद्धि हुने हो । पैसा त केवल साधन मात्रै न हो, हामीलाई चाहिएको त सामान र सुविधा हो । त्यो धेरै बनाउनेबित्तिकै सबैको भागमा धेरै पर्न आउने हो । धेरै बनाउने भनेर फेरि एउटै किसिमका सामानहरू निकै धेरै बनाउँदा फेरि बिक्री नभएर समस्या पैदा हुन सक्छ, त्यसैले बजारको आवश्यकता हेरेर त्यहीअनुसार बनाउँदै जानुपर्छ । यसबाट प्रस्ट हुन्छ कि उत्पादनले रोजगार सिर्जना गर्छ भने उत्पादकत्वको वृद्धिले मान्छेको आयमा वृद्धि हुन्छ ।

उत्पादनका लागि समस्या
अहिलेको समयमा प्रविधिको विकासको कारणले उत्पादनमा कुनै समस्या नहुनुपर्ने हो, तर हाम्रो मुख्य समस्या नै उत्पादन कम हुनुमा छ । उत्पादन कार्यका लागि समस्याहरू अनेकौं छन् तर मुख्य समस्या कुनै कुरा उत्पादन ग¥यो, त्यसको लागत बढी पर्ने कारणले बजारमा प्रतिस्पर्धा गर्न नसकेर बिक्री हुँदैन । त्यसैले नेपालमा उत्पादन गर्नुभन्दा आयात गर्नु नै उचित भनेर हामीले अहिलेसम्म आयात गरेरै धानेको अवस्था छ । आयात गर्नेबित्तिकै त हाम्रो व्यापारको वृद्धि हुने अवसर नै बन्द हुन्छ, साथै रोजगारी पनि निकै कम मात्रै सिर्जना हुन्छ । कुनै पनि वस्तुको मूल्यभित्र मान्छेको बुद्धि र श्रमको लागत हुन्छ, बुद्धि र श्रमको प्रयोगले प्रविधि बनाउँछ, फेरि त्यही बुद्धि र श्रमको प्रयोग गर्दै प्रविधिको उपयोग गरेर आवश्यक सामान र सुविधा बनाउने हो । अब जुन देशले प्रविधिको अधिक प्रयोग गरेर ठूलो परिमाणमा सामान उत्पादन गरे ती देशका सामानहरूको मूल्य सस्तो पर्ने भयो अनि जुन देशले प्रविधिको प्रयोग नगरी पुरानै तरिकाले उत्पादन गरे, ती देशका सामानहरू महँगो हुने साथै प्रतिस्पर्धा गर्न नसकी बन्द हुने अवस्थामा पुगे । यहाँ हाम्रो छिमेकी देश चीनले अधिक प्रविधिको प्रयोग गरेर सामान अति सस्तो बनाउँछ, जसले गर्दा हाम्रो बजारमा उसको सामानले सजिलै कब्जा जमाउन सफल भयो । त्यस्तै अर्को छिमेकी देश भारतले पनि हाम्रो भन्दा राम्रो प्रविधि प्रयोग गरेर ठूलो परिमाणमा उत्पादन गर्छ, जसले गर्दा उत्पादकत्व बढी भएर सामानको मूल्य कम हुन्छ, साथै सामानको मूल्य कम हुनेबित्तिकै लेबरले पनि कम तलबले आफ्नो गुजारा चलाउन सक्ने भए अनि जनसंख्या पनि अधिक भएका कारण र देश पनि हाम्रो जस्तै खासै विकास नभएका कारण श्रमको मूल्य पनि कम छ । अनि हावापानी र माटो पनि उस्तै–उस्तै भएका कारणले हाम्रोमा जे–जे उत्पादन हुन्छ, प्रायः त्यहाँ पनि त्यही–त्यही उत्पादन हुन्छ । जसले गर्दा हाम्रो बजार उसले पनि कब्जा गर्न सफल भयो । अनि पहिलेदेखि नै धेरै कुरा भारतबाट आयात गर्दा स्वतः नै हाम्रो बजार उनीहरूको भन्दा महँगो हुने नै भयो । यसैको कारणले हाम्रा उत्पादित सामानले आफ्नै बजारभित्र प्रतिस्पर्धा गर्न नसकी घाटा भएर बन्द हुनुपर्ने अवस्था सिर्जना भयो । जब देशभित्र उत्पादन निकै कम हुन्छ भने केही माथिल्लो तहमा बसेर काम गर्ने, साथै केही व्यापारी र पैत्रिक सम्पत्ति धेरै हुनेबाहेक अन्य धेरै मान्छेको जीवन अभाव र कठिनाइबाट गुज्रेको हुन्छ । त्यसैको फलस्वरूप अहिलेसम्म करिब ६० लाख युवा बिदेसिनुपर्ने अवस्था सिर्जना भएको हो । जब उत्पादन गर्दा घाटा लाग्छ भनेर आयात गरिन्छ भने हाम्रो नेपाली पैसा केन्द्रीय बैंकमा गएर जम्मा हुन्छ अनि वाणिज्य बैंकमा लगानीका लागि पैसा अपुग हुन्छ, जसले गर्दा बचत बढाउने प्रतिस्पर्धामा वाणिज्य बैंकहरूले बचतको ब्याज बढाउने गर्छन् । जब बचतमा ब्याज बढ्छ तब लगानीका लागि पनि ब्याज बढेर लगानी कम हुने, बेरोजगार वृद्धि हुने, सामानको मूल्य लागतका कारणले वृद्धि हुने अनि महँगो ब्याजका कारण धनि झन् धनी हुने र गरिबले चर्को ब्याजको मूल्य चुकाउनुपर्ने हुन्छ । यस्तै–यस्तै अनेकांै समस्याहरूबाट हामी गुज्रिरहेका छौं । ती समस्याहरूबारेमा धेरैलाई अवगत छ, तर निकास कसैले दिन नसकेका कारण नै नेपालको अवस्था सधैं नाजुक भएको हो । के साँच्चिकै हामीसँग हाम्रा आर्थिक समस्याहरूका समाधान छैनन् त ? पक्कै पनि छन् ।

समाधानका उपायहरू
समाधानका उपायहरू चर्चा गर्नुपूर्व केही सारभूत कुराको गहिराइमा डुबौं । मानौं, नेपाल र बंगलादेशका एक–एक जना युवा अमेरिका काम गर्न गएका रहेछन् । उनीहरू दुवै जनाले आफ्नो परिवारका लागि डलर एक–एक हजार पठाएका रहेछन्, दुवैको बुवालाई फर्निचरको काम गर्न आउने रहेछ अनि दुवै जना बेरोजगार पनि हुनुहुँदो रहेछ । दुवै देशमा काठचाहिँ निःशुल्क जंगलबाट ल्याउन पाइने रहेछ, साथै दुवै देशको पैसाको विनिमयदर समान छ, साथै दुवै देशमा एक दिनको ज्याला रु. १ हजार रहेछ । यस्तो अवस्थामा बंगलादेशको मान्छेले जंगलबाट काठ ल्यायो, करिब १ सय ४० दिन काम गरेर एउटा पलङ, कुर्ची, टेबल बनायो, जसको न्यूनतम मूल्य रु. १ लाख ४० हजार भयो अनि उसको छोराले पठाएको १ हजार डलरको भारतबाट मोटरसाइकल आयात ग¥यो । तर, नेपालको मान्छेले के सोच्यो भने मेरो तलब १ दिनको रु. १ हजार हो, मैले जंगलबाट काठ ल्याएर पलङ, कुर्ची र टेबल बनाउनका लागि त मलाई १ सय ४० दिन लाग्छ । त्यो गर्नुभन्दा बरु मैले ती सामान भारतबाट आयात गर्दा रु. १ लाख २० हजारमा पाइन्छ भने मैले किन घाटा खाएर नेपालमा उत्पादन गर्ने, बरु आयात गर्छु भनेर छोराले पठाएको पैसाले भारतबाट आयात गरेर ल्यायो । अब दुई देशबीचको आर्थिक अबस्था तुलना गरौं, बंगलादेशसँग फर्निचर र मोटरसाइकल छ भने नेपालसँग फर्निचर मात्रै छ । यदि नेपालको त्यो बेरोजगार मान्छे अन्य कुनै ठाउँमा काम गरेको भए आयात गर्नु ठीक थियो, तर आफू बेरोजगार बस्ने अनि घाटा लाग्छ भन्दै छोराले पठाएको रेमिट्यान्सले आयात गर्दा देशलाई ठ्याक्कै डबल घाटा लाग्यो । अब आफैं सोच्नोस्, नेपालमा अहिलेसम्म कति ठूलो परिमाणमा घाटा लागेको होला ? यहाँ त १ हजार डलरमा एउटा मोटरसाइकल मात्रै घाटा लागेको अवस्था छ भने देशमा वार्षिक ९ खर्ब रेमिट्यान्सको कुरा छ । सम्झिँदा पनि कहालीलाग्दो अवस्था हो यो । हो, सबै कुरा देशभित्र उत्पादन गर्न सम्भव हुँदैन । कतिपय कुरा आयात गर्नैपर्ने हुन्छ, तर जुन कुरा सजिलै आफ्नो साधन, स्रोत र जनशक्ति प्रयोग गरेर बनाउन सकिन्छ त्यस्ता कुरा पनि देशभित्र उत्पादन नगरेर नाफा–घाटाको चक्करमा फसेर आयात गर्दा देशलाई ठूलो नोक्सान हुने गर्छ । यदि त्यो फर्निचर नेपालमा बनाएको भए नेपालसँग फर्निचर र मोटरसाइकल हुने थियो, त्यो हुने भनेको त्यसैको अनुपातमा व्यापारीको नाफा, कामदारको आम्दानी, सरकारको राजस्व, बैंकको आम्दानी जतासुकै बढ्ने हुन्छ, त्यसैले सरकारले यस्तो अवस्थामा नेपालमै फर्निचर बनाउनका लागि के–के गर्दा त्यो व्यापारीलाई घाटा लाग्दैन, त्यो–त्यो गर्न सहयोग गर्नु हुन्छ र घाटा नै लागे तापनि सरकारले अनुदान दिएर भए पनि त्यस्ता आयात प्रतिस्थापन गर्ने उत्पादनलाई निरन्तरता दिनुपर्ने हुन्छ, किनकि त्यस्ता उद्योग चलेका कारणले रोजगारमा वृद्धि हुन । राजस्वमा निकै वृद्धि हुने हुनाले अनुदान दिएर चलाउँदा कुनै किसिमको नोक्सान हुँदैन ।
खासमा देशमा आफ्ना साधन, स्रोत र जनशक्तिको पूर्ण रूपले प्रयोग भएको अवस्था छ भने अब कुनै नयाँ वस्तु उत्पादन गर्ने निर्णय लिँदाको बखत तुलनात्मक लाभको हिसाब गरेर मात्रै निर्णय लिनुपर्ने हुन्छ । जस्तै हाम्रो हावापानी र माटोमा जडीबुटी राम्रो फल्छ अनि त्यो जडीबुटीको राम्रो मूल्य पर्छ भने हामीले प्रशस्त जडीबुटी लगाएर निर्यात गरेर त्यही पैसाले तरकारी आयात गर्दा हामीलाई नोक्सान हुने थिएन, तर अहिलेको अवस्थामा हामीसँग तुलनात्मक लाभका यथेष्ठ वस्तुहरू नभएको कारणले हामीलाई जेजे चाहिन्छ र जेजे उत्पादन गर्न सम्भव छ त्योत्यो उत्पादन गरेर आन्तरिक तथा बाहिरी बजारमा बिक्री गर्नुपर्ने हुन्छ । यसका लागि हामीले हाम्रो आन्तरिक बजारलाई रणनीतिक रूपले व्यवस्थापन नगरी हुँदैन ।
नेपाल सरकारले कृषिजन्य उत्पादनलाई बचाउनका लागि अनुदान ठूलो रकम खर्च गरेको छ, तर अनुदानको उचित तरिकाले प्रयोग गर्नुको साटो काम गरे जस्तो गर्ने तर काम नगर्नेले पहुँचका आधारमा धेरै हिनामिना पारेर खाएको हुनाले समस्या जस्ताको तस्तै छ । त्यसैले यो समस्याबाट निस्किनका लागि र आफ्नो उत्पादनको प्रयोगलाई प्रोत्साहन गरेर ठूलो आर्थिक वृद्धि गर्नका लागि अहिले चलिआएको तरिकालाई निरन्तरता दिएर सुधार हुने कुनै सम्भावना छैन । त्यसैले अहिले चलिआएको तरिका नै परिवर्तन गर्न आवश्यक छ ।
कुनै पनि देशको विकास क्रमिक रूपले हुने गर्छ, जसको सुरुवात कृषिको आधुनिकीकरण गरेर त्यसमा थोरै जनशक्तिले काम गरेपछि अनि अन्य औद्योगिक सामानहरूको उत्पादन गर्ने उद्योगहरूको स्थापनासँगै विविध प्रकारका सेवा क्षेत्रमा रोजगारी वृद्धि भएर सबैको आम्दानी बढ्ने र देशको समग्र विकास हुने हो । त्यसैले कृषि आधुनिकीकरण नै विकासको सुरुवाती र अनिवार्य आवश्यकता पनि हो । यसको उचित विकासबिना अन्य क्षेत्रको विकास सम्भव छैन । अब कृषिको उत्पादनमा हामीले कुखुरा र अन्डाको उत्पादनलाई हेरियो भने जहिलेदेखि आयातमा रोक लगाइयो, त्यस बेलादेखि आन्तरिक प्रतिस्पर्धाले यो क्षेत्र निकै फस्टाउन सफल भयो र लाखौं मानिसले यो क्षेत्रबाट आफ्नो जीवन चलाइरहेको अवस्था छ । यस्तै किसिमले धेरै क्षेत्रमा आन्तरिक प्रतिस्पर्धा गराएर राम्रो गर्न सकिन्थ्यो, तर दुई देशबीचको व्यापार सम्झौता अनि डब्लूटीओको सदस्य राष्ट्र बनिसकेपछि बिना उचित कारण हामीले आयातमा रोक लगाउन मिल्दैन, तर हाम्रा वस्तुहरूभन्दा सस्तोमा आएर हाम्रा वस्तुलाई बिक्री नभई फाल्नुपर्ने अवस्था आयो भने त्यस्तो अवस्थामा भन्सार कर बढाएर पनि त्यसलाई निरुत्साहित गर्न भने सकिन्छ, तर यो भन्सार करको वृद्धिले स्थायी किसिमको समाधान दिँदैन । त्यसैले अब हामीले कृषिजन्य उत्पादन र त्यसबाट बन्ने अरू सामानहरू जस्तै जुस, बिस्कुट, नुडल्स, मिठाईका प्रकार जति पनि खाने र पिउने कुराहरू छन्, ती सबैको उत्पादन प्रत्येक वार्डबाट सुरु गर्नुपर्छ । जस्तै— एउटा नगरपालिकाभित्र थुप्रै वार्ड हुन्छन्, तीमध्ये एउटा वार्डमा भैंसी र गाईपालनलाई प्राथमिकता दिएर त्यो वार्डमा ठूलो स्तरमा भैंसी र गाईपालन गर्ने, अर्को वार्डमा बाख्रा पालन गर्ने, अर्को वार्डमा तरकारी खेती गर्ने, अर्को वार्डमा मौंरीपालन गर्ने, अर्कोमा फलफूल, जे होस् जुन ठाउँमा जे बढी उत्पादन हुन्छ त्यो लगाउने र त्यसबाट केके बनाउन सकिन्छ त्यो बनाउने । अब यो उत्पादनदेखि भण्डार, ढुवानी र बिक्री–वितरण गर्ने कामका लागि प्रत्येक वार्डमा पब्लिक कम्पनी खोल्ने, जसमा १० प्रतिशत सेयर केन्द्र सरकारको अनि ५–५ प्रतिशत सेयर प्रदेश सरकारको अनि सम्बन्धित वार्डका जनताबाट आईपीओबाट ४० प्रतिशत सेयर उठाउने र बाँकी ४० प्रतिशत सेयर आईपीओबाट सबै इच्छुक जनताबाट उठाउने अनि सम्पूर्ण काम यस कम्पनीमार्फत गर्ने । यसको सञ्चालक समितिमा १० जनाको टिम बनाउने, जसमा स्थानीय सरकारको प्रतिनिधि १ जना, वार्डको सेयर सदस्यबाट ६ जना र बाँकी ३ जना सर्वसाधारण सेयर सदस्यबाट चयन गर्ने । अनि यसको सामान र बिक्री–वितरणका लागि पाएसम्म सरकारी जग्गा छ भने त्यस्तो जग्गाको प्रयोग गरेर गर्ने । जस्तै भैंसी, गाई र बाख्रापालनका लागि सरकारी जंगलमा घाँस लगाएर काट्न सकिन्छ, जंगलको कहाँ खाली जग्गा छ त्यो ठाउँ र रूखमुनि पनि अदुवा, बेसार लगाउन सकिन्छ । यसरी हाम्रा खाली जग्गा कोही फ्रीमा र कोही भाडामा लिएर प्रयोग गरेर हामीलाई आवश्यक सामानहरू बनाउन सकिन्छ । यो गर्नेबित्तिकै प्रत्येक वार्डमा जनसंख्याको चाप हेरेर बिक्री केन्द्र बनाउन सकिन्छ अनि देशका प्रमुख सहरहरूमा फेरि तिनै प्रत्येक वार्डका कम्पनीको सेयरबाट ५० प्रतिशत सेयर र बाँकी ५० प्रतिशत आईपीओबाट गरेर ठूलाठूला सपिङ महल बनाउन सकिन्छ, ती सपिङ महल पनि सरकारी जग्गा छ भने त्यस्तोमा गराउन सकिन्छ अनि ती सपिङ महलमा जुनजुन वार्डबाट जेजे उत्पादन भएको छ त्योत्यो बिक्री गर्नका लागि त्यहाँ राम्रो व्यवस्था गरिन्छ । यसरी काम गर्नेबित्तिकै त्यहाँ धेरै जनाको सेयर परेको हुन्छ, साथै सरकारको पनि परेको हुन्छ, जसले नजिकबाट निगरानी गर्न सक्छ अनि प्रत्येक वार्डमा छुट्टाछुट्टै कम्पनी हुने हुँदा आफ्नो व्यवसाय वृद्धि गर्न लागिपरेका हुन्छन्, साथै आमजनताले पनि आफ्नो सेयरको मूल्य बढाउनका निम्ति पनि सामान किन्ने गर्छन्, साथै उत्पादन ढुवानी र बिक्री–वितरण आफंै गर्ने साथै त्यो पनि ठूलो स्तरमा गर्ने हुँदा उत्पादकत्व वृद्धि भएर लागत कमी भई हामीले भारतीय सामानसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छौं । कतिपय ठाउँमा सहकारी मोडेल र कतिपय ठाउँमा पब्लिक कम्पनीको मोडेल गरेर काम गर्नेबित्तिकै जनतामा एक प्रकारको आर्थिक अभियान चलेको जस्तो हुन्छ र नेपाली सामान किन्दा रोजगार वृद्धि हुने, सेयरको मूल्य वृद्धि हुने साथै पछि नाफाबाट बोनस रकम पनि आउने हुँदा स्वतः नै नेपालीहरूले आफ्ना सामानको प्रयोगलाई जोड दिने गर्छन् । यस्तो तरिकाले उत्पादन र बजारीकरण गर्नेबित्तिकै हामीलाई आवश्यक पर्ने धेरै सामान नेपालमै उत्पादन हुने र त्यो पनि ठूलो स्तरमा हुनेबित्तिकै सबैको आम्दानीमा वृद्धि हुने हुन्छ । यसरी सहकारी मोडेलबाट र पब्लिक कम्पनीको मोडेलबाट उत्पादनदेखि बिक्री–वितरणसम्म सबै काम आफैंले गर्नेबित्तिकै घाटा हुने सम्भावना निकै कम हुन्छ, तर यस्ता खालका सहकारी र पब्लिक कम्पनी कहिलेकाहीं घाटामा गए भने सरकारले अनुदान दिएर भए पनि निरन्तर चलाउँदा देशलाई अन्त्यमा ठूलो फाइदा हुने हुन्छ ।
अहिलेको अवस्थामा हाम्रो कृषिमा करिब ६५ प्रतिशत जनशक्ति लागेको छ अनि करिब ६० लाख जनताले विदेशमा खान्छन्, तर पनि हामी वार्षिक करिब ३ खर्बबराबरको कृषिजन्य सामग्रीको आयात गर्छौं भने कसरी हामी हाम्रो आर्थिक अवस्था सुधार गर्न सक्छौं त ? जग्गाहरू खाली छन्, युवाशक्ति बेरोजगार छ, निजी क्षेत्रले लगानी गरेर कृषि उत्पादन गर्दा भारतीय सामानको प्रतिस्पर्धाले गर्दा ठूलो घाटा हुन्छ, त्यसैले आयात गरिरहेका छौं । अब यो घाटाको चक्करमा फसेर देशलाई कहिलेसम्म भिखमङ्गा देश बनाइरहने सबै नेपालीले एकपटक गहिरोसँग सोचेर नयाँ परिवर्तनका लागि एकजुट भएर उत्पादन र बजारीकरणमा लागौं, अबको २५ वर्षमा संसारकै उत्कृष्ट देश बनाउन संसारको कुनै तागतले हामीलाई रोक्न सक्दैन । जनता नै एकजुट नभएपछि विदेशी शक्तिले खेल्ने मौका पाउने हुन्, जब जनताले सही कुरा बुझेर देश बनाउन एकजुट भएर लाग्छन् तब त्यस्तो देश नबनेको इतिहास कतै छैन ।

प्रतिक्रिया दिनुहोस्