पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक : पौडेल «

पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । शनिबार क्रियाशिल सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा कामको अवलोकन गर्न पुगेका पौडेलले सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए । पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको पनि नेता पौडेलले बताए ।

समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही एक जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उनले बताए । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार रहेको खुलासा उनले गरे ।

तर आफूले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने उनको तर्क थियो ।उनले महाधिवेशनको लागि आवश्यक आधारको रुपमा रहेको क्रियाशिल सदस्यताको विवाद असार मसान्त भित्र टुंगिने विश्वास लिएको बताए ।

भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्