कृषि उत्पादन निर्यातबाट जुम्लामा ३१ करोड भित्रियो «

कृषि उत्पादन निर्यातबाट जुम्लामा ३१ करोड भित्रियो


जुम्लाबाट चालु आर्थिक वर्षमा करिब ३१ करोड बराबरको कृषि वस्तु निर्यात भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार देशका विभिन्न शहरमा करिब ३१ करोडको कृषि उत्पादन निर्यात भएको हो । विशेषगरी जुम्लाबाट काठमाडौं, सुर्खेत, नेपालगञ्जलगायतका सहरमा निर्यात हुने गरेको छ ।
जुम्लामा उत्पादित कृषि वस्तुको माग बढ्दो अवस्थामा रहेकाले उत्पादनमा पनि वृद्धि हुँदै गएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । उनका अनुसार स्याउ, ओखर, आलु, प्याज, जुम्ली मार्सी चामल, सिमी र जौ अन्य जिल्लामा निर्यात भएको हो ।
जुम्लाबाट चालु आर्थिक वर्षमा मात्र १६ करोड ५ लाख रुपैयाँको स्याउ निर्यात भएको छ । स्याउ निर्यात गत आवको भन्दा करिब १८ करोड कम हो । ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ३ हजार ३ सय मेट्रिक टन निर्यात भएको थियो । त्यसैगरी ओखर ५ सय ९० मेट्रिक टन उत्पादन भएकोमा ३ सय २१ मेट्रिक टन निर्यात भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांङकमा उल्लेख छ । ओखरबाट १ करोड रुपैयाँ भित्रिएको छ । ओखर प्रतिकेजी ४ हजारमा विक्री भएको छ ।
स्याउ खेती भन्दा स्याउ खेती सजिलो आम्दानी पनि बढी हुने भएकोले पछिल्लो समय जुम्लाका किसान ओखर खेतीमा पनि आर्कषित हुन थालेका छन् । आलु २७ हजार मेट्रिक टन उत्पादन भएको थियो । ११ हजार मेट्रिक टन आलु निर्यात गर्दा करिब ४ करोड ९५ लाख भित्रिएको छ । प्याजबाट पनि जुम्लामा १ करोड ५० हजार रुपैयाँ आम्दानी भएको छ । ३ सय ५५ मेट्रिक टन प्याज उत्पादन भएकोमा २ सय मेट्रिक टन प्याज निर्यात गरिएको हो
जुम्ली मार्सीधान ३ हजार ३ सय मेट्रिक टन उत्पादन भएकोमा २ सय मेट्रिक टन निर्यात भएको थियो । धानबाट २ करोड रुपैयाँ जुम्ला भित्रिएको कृषि कार्यालयका प्रमख देवकोटाले बताए । यस्तै ९० मेट्रिक टन मार्सी चामल निर्यातबाट १ करोड ६२ लाख रुपैयाँ भित्रिएको छ । १ करोड ८ लाख बराबको १ हजार २ सय मेट्रिकटन सिमी, ६२ लाखको जौ, गरी विभिन्न कृषि उत्पादनबाट जुम्लामा ३१ करोड भित्रिएको छ ।
जुम्लामा कृषिको प्रचुर सम्भावना भएकाले आगामी आवदेखि जुम्लाका सबै पालिलकामा उत्पादनका आधारमा पकेट क्षेत्र निर्धारण गरी कृषिको उत्पादकत्व वृद्धिमा जोड दिइने कर्णाली सरकारको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्