भू–माफियालाई संरचना भत्काउन अल्टिमेटम «

भू–माफियालाई संरचना भत्काउन अल्टिमेटम

कञ्चनपुर-महेन्दनगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी ढंगले नगर विकास समितिको गुरुयोजनाविपरीत जग्गा लिजमा दिने नाममा अनियमित रूपमा भौतिक संरचना निर्माणकार्य भइरहेकाले उक्त कार्य रोक्न कञ्चनपुरका विभिन्न पार्टीका भातृ संगठनले जिल्ला प्रशाशन कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र बुझाई संरचना भत्काउन ५ दिनको अल्टिमेटम दिएको छ ।
सोमबार महेन्द्रनगर नगर विकास समितिको जग्गा लिजका नाममा दुरुपयोग गरेर अवैध रूपमा बनाइएका संरचनामा राजनीतिक दलका भातृ संघ संस्थाले खतराको संकेत (रातो चिन्ह) लगाएको थियो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रिजर्भ एरियासहितका क्षेत्रमा बनाइएका अवैध संरचना हटाउन एक महिनाको म्याद दिएको भए पनि सोमबार राजनीतिक दलका भातृ संघ, संस्थाले रातो चिन्ह लगाएका हुन् ।
भातृ संगठनहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरूले भू–माफियाले पाँच दिनभित्र संरचना नभत्काए आफूहरू डोजर लाउन बाध्य हुने चेतावनी समेत दिएका छन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल तत्कालीन नेकपा एमालेको युवा संगठन, अनेरास्ववियु, तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तीकारीले सोमबार सांकेतिक विरोधस्वरुप अवैध बनेका संरचनामा भू–माफिया लेखेका छन् ।
सोमबार लिजका नाममा बाँडिएका जग्गामा बनेका अवैध संरचनामा रातो चिन्ह क्रस गरी भत्काउनुपर्ने चिन्ह लगाउने काम सुरु गरिएको विद्यार्थी युवाले बताएका छन् । तत्कालीन नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले नगर विकास समितिले अवैध रूपमा प्रक्रिया नपुर्याइकन लिजमा जग्गा दिएर अव्यवस्थित रूपमा घर निर्माण भएको भन्दै यसलाई रोक्न सांकेतिक विरोध गरेको बताए । उनले भने, “विगत लामो समयदेखि नगर विकास समितिले सुकुम्वासीका नाममा, खोका छाप्राका नाममा, औद्योगिक क्षेत्रका नाममा आफन्तलाई लिजमा दिने नाममा घर घडेरी बिक्री वितरण गरेको छ, निर्माण भएका संरचना यथाशीघ्र रोक्नका लागि हामीले अभियान सुरु गरेका छौं ।”
उनले सांकेतिक रूपमा अवैध संरचनामा रातो पेन्ट क्रस गर्ने कार्यक्रम गरेको बताए । उनले सरकारले यी अवैध संरचना भत्काउनु पर्ने बताउँदै सरकारले नभत्काए सबै दलका विद्यार्थी संगठन मिलेर भत्काउने चेतावनी दिए । नेता रेग्मीले सबै राजनीतिक पार्टीसँग छलफल गरेको बताउँदै उनले भने, “हामीले नगर विकास समितिको कार्यालयमा पनि ताला लगाएका छौं, जबसम्म सरकारले यी अवैध संरचना हटाउँदैन तबसम्म हामी सशक्त रूपमा अगाडि बढ्छौं ।”

प्रतिक्रिया दिनुहोस्