स्यार्पुताल विकास गर्न गुरुयोजना «

स्यार्पुताल विकास गर्न गुरुयोजना

रुकुम-रुकुम पश्चिमको प्रमुख पर्यकटीयस्थल स्यार्पुतालाई थप ब्यवस्थित र विकास गर्न गुरुयोजना बनाइने भएको छ । स्यार्पुताल लगायतका अन्य केही महत्वपूर्ण पर्यटकीय सम्भावनालाई थप ब्यवस्थित बनाउन गाउँपालिकाले एकीकृत गुरुयोजना बनाउन लागेको हो ।
गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले तालको प्रचारप्रसार, प्रवद्र्धन र त्यसलाई गाउँपालिकाको आम्दानीसँग जोड्न लागेको बताए । “केही समयमै हामीले गाउँपालिकाको समग्र विकास गुरुयोजना बनाउँदै छौं, त्यसमा पर्यटनको मुद्दा नसमेटिने त कुरै छैन,” अध्यक्ष केसीले भने, “स्यार्पुतालको प्रचारप्रसार र प्रवद्र्धनका लागि प्रदेश सरकारबाट पनि केही बजेट आएको र केन्द्र सरकारका तालतलैया हेर्ने विभाग र निकायबाट पनि आर्थिक सहयोग ल्याउने पहल भइरहेको छ ।” त्यसकारण गुरुयोजना पश्चात स्यार्पुतालको विकास, प्रचारप्रसार र पर्यटक भित्र्याएर गाउँपालिकाको आम्दानी र जनताको जीवनस्तर उकास्न प्रभावकारी तरिकाले काम हुने उनको भनाइ थियो ।
स्यार्पुताल रुकुमको प्रमुख पर्यटकीयस्थल हो । उक्त ताल रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–३ र ५ मा अवस्थित छ । प्राकृतिक रूपमा सुन्दर तालमा पछिल्लो समय आधुनिक डुंगासहित केही नयाँ योजना पनि थालेपछि ताल झनै आर्कषित भएको छ । पर्यटन प्रवद्र्धनका लागि भन्दै स्थानीय ब्यक्ति तथा संघसंस्थाद्वारा तालमा २ वर्षदेखि आधुनिक डुंगा सञ्चालनमा छन् । यसअघि उक्त तालमा काठका परम्परागत डुंगा थिए । ८ देखि १२ जनासम्म क्षमता रहेको उक्त आधुनिक डुंगा सञ्चालनमा ल्याइएपछि तालमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ ।
कमजोखिम र छिटो छरितो तरिकाले तालमा घुम्न सकिने डुंगा सञ्चालक दरिभान पुरीले बताए । उनका अनुसार डुंगामा चढ्दा लाइफ ज्याकेट र हेल्मेटको पनि व्यवस्था गरिएको छ । असोज महिना सबैभन्दा सुन्दर र भरिभराउ देखिने स्यार्पुताल अन्य समयमा पनि मनमोहक देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्